arrow

गाइजात्रा विशेषः

हामी सबै एकै हो कमरेड जय नेपाल

logo
बाबु नेपाली,
प्रकाशित २०७८ भदौ ७ सोमबार
deuba-prachanda-oli-nepal.jpg

धन्य हाम्रो नेपाली राजनीति । ‘फुटाउ र राज गर’ भन्ने सिद्धान्त हाम्रो राजनीतिमा कायम छ । त्यसैले त भनिन्छ कहिले फुपूको पालो कहिले बुहारीको पालो । मौका पर्यो कि सत्तामा नत्र सांसदको भत्तामा । यही हो पार्टीका नेताहरुको काम । कोही चोखा छैनन् । 

सत्ताको लुछाचुँडीका क्रममा यतिबेला साढे तीन वर्ष सत्ता सम्हालेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि निजी निवास बुढानीलकण्ठबाट बालुवाटार सरेका छन् ।

सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निजी निवास खुमलटारमा रहे पनि दैनिकी बालुवाटार धाउँदैमा ठीक्क छ । त्यही गतिमा दौडिरहेका छन् निजी निवास कोटेश्वरमा रहेका अर्का सत्ता सहयात्री तर दल निर्वाचन आयोगबाट पाइनसकेका माधवकुमार नेपाल । 

ओली बाँकी रहेका तीन जना नेतासँग आगो छन् । तर सामना गर्न तयार छन् । उनीहरुबीच भएको जम्काभेटमा यसरी भयो छेँडछाँड ।

गाईजात्रा विशेष यो सम्वाद–
ओलीः खुवै नारिएर हिँडेको देखियो । मैले भनेको छु यो धेरै दिन टिक्दैन । 
देउवाः के भनेर भन्देखी । डाहा भयो कि के हो कम्रेड ? 
प्रचण्डः पीडा बोल्या हो देउवाजी पीडा । 
नेपालः भाँड्ने चाल हुन सक्छ । बोली नै टिमुर्केको छ । 
ओलीः अध्यादेशबाट हटाएका हौ तिमीहरु सबै मिलेर पनि फेरि मलाई बालुवाटार बस्न आउन रोक्न सक्दैनौ । 
देउवाः सत्तामा बसेका बेलामा प्रतिपक्षी भएर सघाउनुसम्म सघाएकै हो । अति भएपछिमात्र हटाएको हो । 
प्रचण्डः हो नि हेप्नुसम्म हेपेपछि तह लाउनु पर्या हो । 
नेपालः घरभित्र आउनै नदिने । कम्ती पेलेको हो त । 
ओलीः अहिलेसम्म त के गरेँ र अब देख्दै जाओ । म के के गर्छु । 
देउवाः गरिहाल्यौ नि भ्रष्टाचार, अनियमितता, आश्वासनका पोका । कम गरेका छौ र ? मलाई बढार्न कम्ती गाह्रो भएको छ । बालुवाटार नै सखाप पारेछौ त । 
प्रचण्डः त्यसै छोडेको हो र मैले साथ । हामीलाई चियाउनसम्म नदिने आफू भने ओहो । जहाँ जति पाए पनि नछाड्ने । 
नेपालः म घरकैलाई त धोवीको कुत्ता जस्तो बनाए । तपाई त अलि परको हुनुहुन्थ्यो । कुरो गरिसाध्य छैन महाराजको । 
ओलीः निम्छराहरुसँग कुरा गर्नु छैन । म त जनताबाट चुनिएर आएको पो त । 
देउवाः त..तपाईले के भन्न खोजेको ? हामी जनताबाट हारेर आएको ? तपाई त जनता झुक्याएर आएको । 
प्रचण्डः निश्चित रुपमा उहाँ त ठगै हो । हाम्लाई पनि ठग्नु भो जनतालाई पनि ठग्नु भो । 
नेपालः उहाँ त ‘ठग्स अफ हिन्दूस्तान’ को रिमेक भर्सन हो ‘ठग्स अफ नेपाल’ ।
ओलीः जान्या छु मैले । त्यो अध्यादेश किन ल्याएको ? 
देउवाः आफूले ल्याउन हुने अनि मैले ल्याउन नहुने ? आफूले चाहिँ किन ल्याएको त ? बोल्नुस् न कम्रेडहरु अति हेप्न थाल्यो । 
प्रचण्डः म नबोलुम् होला । त्यतिबेला हामी एउटै दलमा थ्यौं । 
नेपालः म पनि नबोलुम् । त्यतिबेला हामी एउटै दलमा थ्यौं । 
ओलीः अर्कालाई टुक्रयाउन पाइन्छ ? 
देउवाः सम्हाल्न सके सम्हाले भयो नि । पाँच वर्ष सत्ता चलाउन दिएकै हो नि अरे बाबा । खानै नसकेपछि मैले के गर्ने त । 
प्रचण्डः आफूले गरे ठीक र अर्काले गरे बेठिक त भन्न मिलेन नि । त्यही भएर पहिले पनि अध्यादेश ल्याउन दिइयो । अहिले पनि दिइयो । 
नेपालः आफैले भन्या त हो नि बस्न मन नलाग्ने जान्छन् भनेर । महाराजको आदेश पालना गर्न गाह्रो भयो जान खोजियो । के बिराइयो ? 
ओलीः यसको हिसाब किताब चुनावमा सारा जनताले गर्नेछन् । जनमत मैसँग छ । हेरौंला हुटिट्याउँले बाँस नुघ्याउन सक्दो रहेछ कि रहेनछ ।
देउवाः ए बाबा हाम्रा पनि १० लाख क्रियाशील कार्यकर्ता भइसके । चुनाव मात्र होस् न हामीले पनि देखाइदिन्छौं । 
प्रचण्डः हामी पनि सत्तामा छौं कसो साथ नदेलान् । 
नेपालः हामीलाई त सहानुभूति हुन्छ नि । महाराजको पञ्जाबाट फुत्केकालाई त नेपाली जनताले जहिले पनि हेरेकै छन् नि । 
ओलीः तिमेरु एकातिर हामी अर्कातिर भएर पनि जित्छौं बुझ्यौ । 
देउवाः अहंकार किन बोल्या होला । जनता मूर्ख छन् र । 
प्रचण्डः देउवाजी यसपालिको तालमेलले हामीले मज्जैले जित्छौं । 
नेपालः यो तालमेललाई चुनावसम्मै नपुर्याएर कहाँ हुन्छ र कमरेड । हामी सबै एकै हो कमरेड । जयनेपाल ।।

देउवा, प्रचण्ड, नेपालः चित्त नदुखाउ कमरेड आलोपालो त हो । आखिर नेपाली राजनीति हामीभन्दा बाहिर जान्न क्यार । 
ओलीः त्यो पर्दैन । म मेरै बाटो लाग्छु । तर छाड्दिन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ