काठमाडौँ । काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५६६ संक्रमित थपिएका छन् । काठमाडौँमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा हाल सक्रिय संक्रमितको सङ्ख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० तथा ललितपुरमा दुई हजार २१८ रहेको पनि सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप नौ हजार ४४३ जनाको पीसीआर परीक्षण तथा तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमा पीसीआर विधिबाट एक हजार ७०२ तथा एन्टिजेनबाट २१८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार २४८ संक्रमित निको भएका छन् । हालसम्म छ लाख ९८ हजार १७३ जना कोरोनाबाट मुक्त भएका छन् । निको हुने दर ९३ दशमलव चार प्रतिशत रहेको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार ७५१ रहेको छ ।
बितेका २४ घण्टमा देशभर १८ हजार ३२२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ६८१ संक्रमितको सघन उपचारकक्षमा तथा १६९ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो समय देशमा कोरोना भाइरसको संक्रमणबाट थप २४ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ५०९ पुगेको मन्त्रालयले जनाएको छ ।