arrow

लोकलाजका लागि दश बुँदे पक्षधरको एकताको रटान, न ओलीले सुने न नेपालले माने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
madhav-kumar-nepal-kp-sharma-oli.jpg

काठमाडौं । अन्तिम समयमा माधव नेपाल समूह छोडेका नेताहरुले पार्टी विभाजन भन्दा एकतामै जोड दिएका छन् । शुक्रबार दिनभर बसुन्धरास्थित एक पार्टी प्यालेशमा बैठक गर्दै उनीहरुले पार्टी विभाजन रोक्न र असार २७ गते भएको १० बुँदे सहमति अक्षरस पालना गर्न पार्टी अध्यक्षलाई आग्रह गरेका छन् ।

नेकपा एमालेका नेता गोकर्ण विष्टले कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र नेकपा एमालेलाई एकजुट गर्न आफूहरु लागि पर्ने बताए । उनले सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी विधेयकको विरोध गर्ने आफूहरुको एजेण्डा रहेको जानकारी दिए ।

उनका अनुसार पार्टी एकताका लागि माधव नेपाललाई दल दर्ता गर्ने कुरा फिर्ता लिन लगाउने र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि लचकता अपनाउन आग्रह गर्ने विषयमा छलफल भएको थियो । ‘हामी लामो समयदेखि पार्टीभित्र देखा परेको असामान्य परिस्थिति समाधान गर्दै सबल र एकीकृत नेकपा एमालेका लागि प्रयत्नशील थियौं । यसै सन्दर्भमा नेकपा एमालेभित्र देखापरेको समस्यालाई समाधान गर्न एउटा कार्यदल निर्माण गरियो । त्यो कार्यदलले पार्टीभित्रका समस्याका समाधानको सन्दर्भमा १० बुँदे सहमतिलाई अगाडि बढायौं,’ सचिव विष्टले भने ।

एमाले एकताको कार्यलाई जारी राख्ने, दल सम्बन्धी अध्यादेशको बिरोध गर्ने, १० बुँदे सहमतिलाई अक्षरशः पालना गरेर नेकपा एमालेलाई एकताबद्ध गर्ने सन्दर्भमा माधव नेपालसहित १४ जनालाई गरिएको कारबाही फिर्ता लिन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्ने निर्णय गरेका छन् । तर उनीहरुको निर्णय ओली र नेपालले सुन्ने संभावना निकै कम रहेको छ ।

नेपालले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेकाले उनी पार्टीमा फिर्ता हुने संभावना निकै कमजोर रहेको छ । शुक्रबार मात्रै नेपालले एकताका सबै ढोका बन्द गर्दै ओलीले पार्टी कब्जा गरी बद्नाम गरेकाले एमाले पुर्नगठनको दिशामा लागेको बताएका छन् । ‘हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं ।

नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलन मार्फत चाहेको सँस्कृति एवम समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ’, नेपालले भनेका छन् । त्यसैगरी उनले पार्टी पुर्नगठन गर्दै जाने क्रममा नयाँ केन्द्रीय सदस्यहरुलाई पनि स्थान दिने उल्लेख गरेका छन् ।

‘हाललाई हामीले साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहनुभएका र विद्रोहको पक्षमा हस्ताक्षर गर्नुभएका कमरेडहरु, २०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला हाम्रो तर्फबाट थपिनुभएका कमरेडहरु, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका कमरेडहरु, संघीय संसदका सांसद कमरेडहरु एवम् वैधानिक प्रावधान अनुसार पुर्याउनु पर्ने महिला कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका छौँ । हाम्रो दर्ता प्रक्रिया बैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेलारसम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवम् योग्य कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौँ’, नेपालले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ