नियुक्तिमा माधव नेपाललाई धमाधम भागबण्डा, प्रदेश प्रमुखपछि रेल्वे महाप्रवन्धक पनि भागमा
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
1.5k
Shares
तस्वीर– यादवचन्द्र शर्मा (बायाँ), निरञ्जन झा (दायाँ) ।
काठमाडौं । नेकपा एमालेबाट फुटेर नयाँ पार्टी गठन गरेसँगै माधवकुमार नेपालले सरकारले गर्ने नियुक्तिमा धमाधम भागबण्डा पाउन थालेका छन् । सत्ता संचालनका लागि गठित पाँच दलीय गठबन्धनमा माधव नेपालले लगातार भाग पाउन थालेका हुन् ।
उनको भागमा महत्वपूर्ण दुई पद गइसकेको छ । नेपाल पक्षीय यादवचन्द्र शर्मालाई सरकारले बागमती प्रदेश प्रमुख बनाएको छ । त्यस्तै नेपाल पक्षकै निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा नियुक्त गरिएको छ ।
शर्मा माधव नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए भने नेपाल नेतृत्वको एमाले विभागका सचिव थिए ।
त्यस्तै झा नेपाल पक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष हुन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका गुरु भट्टराईलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले स्पष्टीकरण सोधेपछि उनले स्पष्टीकरण नदिई राजीनामा दिएपछि देउवा सरकारलाई नयाँ नियुक्ति गर्न सजिलो भएको हो ।
सरकारले दल सम्बन्धी अध्यादेश ल्याएपछि माधवकुमार नेपाललाई नयाँ दल गठन गर्न सजिलो भएको हो । दल दर्ताका लागि निर्वाचन आयोगमा प्रक्रिया अगाडि बढाएपछि नेपाल पक्षले धमाधम सरकारले गर्ने नियुक्तिमा भाग पाउन थालेको छ ।
केपी ओलीको सरकार ढलेसँगै नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, माधव नेपालको एमाले समाजवादी (दल दर्ताको प्रक्रियामा रहेको र यो नाममा विवाद आएपछि नयाँ नामका लागि आह्वान भइसकेको तथा नेकपा एकीकृत (समाजवादी) राख्नेसमेत बताइएको), जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चा नेपालबीच गठबन्धन भएको छ ।