काठमाडौं। भुतपुर्व गोर्खाहरू बेलायतीसरह समान पेन्सनलगायत माग राख्दै आमरण अनसन बसेको १२औँ दिन पुग्दासमेत बेलायत सरकारले आफ्ना समस्या समाधानमा चासो नदिएको भन्दै भुतपुर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके-नेपालले भोलिदेखि अनसन बस्ने चेतावनी दिएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संयुक्त संघर्ष समितिले नेपाल सरकारले बेलायतसँग कुटनीतिक पहल नगरेको आरोप लगाउदै भोलिदेखि विरोध र्यालीसहित अनसन बस्ने चेतावनी दिएको हो ।
संघर्ष समितिले आज अनशनरतहरूको अवस्था, भावी रणनीतिलगायत आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै भुतपुर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका अध्यक्ष लालबहादुर घिसिङ (एलवी) ले १८ अगस्ट (आज) सम्म नेपाल र बेलायत सरकारबाट सकरात्मक पहल नगरे नेपालका नागरिक समाज, मानव अधिकारवादी, कानुनविद, बौद्धिक व्यक्तित्वहरुको साथ र सहयोग लिएर काठमाडौंमा भोलिबाटै विरोध र्यालीलगायत अनसन र अन्य कार्यक्रमहरु सुरु गर्ने चेतावनी दिए ।
उनले भोलि माइतीघर बाट ११ बजेदेखि भद्रकाली हुँदै रिले अनसन सुरु हुने जानकारी दिए । उनले १८ वर्ष नाघेका सन्तानलाई आवासीय सुविधा, निःशुल्क औषोधोपचार, समान पेन्सन र क्षतिपुर्तिलगायतका विभिन्न पाँच सुत्रीय माग राखी आमरण अनसनमा बसेको बताए ।
उनले साथीहरुको ज्यान जोखिममा परेको अवस्थामा सरकारले कुटनैतिक पहल गर्नुपर्ने बताए । उनले पानीमात्र खाएर अनसन बसेका ज्ञान बहादुर राईको अवस्था अत्यन्तै गम्भिर रहँदासमेत सरकारले समस्या समाधान गर्न कुनै पहल नगरेको देख्दा उदेक लागेको बताए । उनले आफुहरुको माग पुरा गर्न बेलायत सरकारसमक्ष वार्ता गर्न उच्चस्तरीय समिति गठन गरी वार्ताको मिति तोक्न सरकारसँग जोडदार माग गरे ।
यसको साथै उनले यो मुद्दा राष्ट्रिय मुद्दा भइसकेको भन्दै सम्पुर्ण नेपालीहरुले यसलाई समाधान गर्न आ-आफ्नो स्थानबाट पहल गर्न कार्यक्रमहरुमा सहभागी भईदिन पनि आग्रह गरे । अगस्ट २१ जुलाई २०२१ बाट लण्डनमा प्रधानमन्त्रीको कार्यालयमा अगाडी २४ घन्टे अनसन सकेर ७ अगस्टबाट समितिका ३ जना सदस्यहरु ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राणा अनिश्चित्कालिन आमरण अनसन बसेको पनि १० दिन पुगेको उनले बताए ।
भुतपुर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव शेरबहादुर घिसिङले भोलिबाट ठुलो दोस्रो अनसन हुने बताए । अनसनरत एक जना धनराज गुरुङको अवस्था गम्भीर रहेको भन्दै नेपाल सरकारले समकक्षी लण्डन सरकारलाई लिखित आग्रह गरेको भए यस्तो स्थिति नआउने जिकिर गरे । ‘सरकारले वास्ता नगरेको कारण आज हामी अनसन बस्न बाध्य भयौ ।’-उनले भने । उनले रोजगारीभन्दा राष्ट्रियता ठुलो नभएको पनि धारणा राखे ।