बडालको सुझाव - 'तपाईँलाई अध्यक्ष चाहिएको हो भने चुनाव लड्नुहोस् न माधवजी'
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २८ बिहिबार
863
Shares
काठमाडौँ । नेकपा (एमाले) नेता केशव बडालले महाधिवेशनबाट चुनाव जितेर अध्यक्ष पद खान वरिष्ठ नेता माधव कुमार नेपाललाई सुझाव दिएका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बडालले भने ,‘महाधिवेशनभन्दा अघि विधान अधिवेशन गर्नपर्छ । त्यसको लागि भदौ २७ र २८ गते विधान अधिवेशन तय भएको छ । वैशाख १० गतेसम्म महाधिवेशन गर्ने अन्तिम मिति हो । महाधिवेशन गर्न अलमल गर्ने कुरा हुँदैन । अहिले अध्यक्ष केपी शर्मा ओली हट्ने भन्ने कुरा छैन । तपाईँलाई अध्यक्ष चाहिएको हो भने चुनाव लड्नुहोस न माधवजी । तर, अहिले दायाँबायाँ गर्ने काम नगर्नुहोस् ।’
बडालले नेपाललाई पार्टी छोडेर नजान आग्रह गरे । नेता बडालले भने,‘यसअघि एकताको लागि बनेको कार्यदलको दश बुँदे प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको छ। यो नै एकताको आधार हो । तपाईँले एमाले छोड्दै हुनुहुन्छ भन्ने हल्ला व्यापक छ, त्यो सत्य नहोस् । ३८ वर्षसम्म तमाम दुःख गरेर तपाईँसँगै एउटै कमिटीमा बसेर काम गरेको एक जना सदस्यको रूपमा भन्न चाहन्छु-त्यस्तो गलत काम नगर्नुहोस् ।’
उनले माधव नेपालले आफ्नै पार्टीलाई कमजोर पार्ने काम गरेको र त्यो ठुलो अपराध भएको पनि टिप्पणी गरे । नेपाललगायत नेताहरूले पार्टीको विधान र नीतिविपरित गतिविधि गरेकोले उनीहरूलाई कारबाही गर्ने पर्याप्त आधार हुँदाहुँदै पनि आफूहरूले एकताको लागि कारबाही नगरेको उनको भनाई थियो ।
नेता बडालले अब पार्टीलाई एकताको नाममा अल्झाएर राखिरहन नहुने भएकोले आवश्यक गतिविधि अघि बढाउनुपर्ने भएकोले सोहीअनुसार कामकारबाही अघि बढाइएको स्पष्ट पारेका छन् ।
लत्काउलिन् प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेकसहितको चुच्चे नक्सा पारित हुने बित्तिकै उनलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउनुपर्छ भनेर प्रचण्ड, माधव नेपाललगायत नेताहरू लागिपरेको उनको भनाई थियो । उनले भने,‘सचिवालयका ९ मध्ये ५ जनाले विरोध गर्नुभयो । आफ्नो पार्टीलाई कमजोर बनाउने काम उहाँहरूले गर्नुभयो । माधव नेपाल त काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भनेर लाग्नुभयो । आफ्नै पार्टीका अध्यक्ष ओलीलाई कुनै हालतमा हराउनुपर्ने भन्दै गलत काम गर्नुभयो । तपाईँलाई नेपाली जनताले इमानदार कहिल्यै पनि भन्दैनन् ।’
माधव नेपाल त फस्ट म्यान भएर काम गरिसकेको मान्छे भएकाले फेरि अध्यक्ष बन्न मन लागेको भए अर्को महाधिवेशनसम्म कुर्दा हुन्थ्यो भन्ने पनि उनको भनाई छ । उनले भने,‘अध्यक्ष ओलीले त एक कार्यकाल मात्रै अध्यक्ष हुन्छु भन्नुभएको थियो । तर, उहाँलाई बिचमै हटाउन खोजियो । एमालेलाई कमजोर बनाउने काम माधवजीले गर्नुभयो । तपाईँको सन्तान, दर सन्तानलाई कहिल्यै पनि माफी दिने छैन । त्यो गल्ती नगर्न र फेरि पनि एकताको लागि गम्भीर बन्नुहोस् ।’
उनले ‘एमालेको नीति, निर्णय विधिसम्मत रूपले पालना गर्नुपर्छ । पालना नभए त्यो व्यक्ति पार्टीको सदस्यको रूपमा रहन सक्दैन । २०७७ वैशाख २७ गते आफ्नो पार्टीको अध्यक्षलाई विश्वासको मत नदिएर माधव नेपाल बाहिर बस्नुभयो, त्यति वेला नै कारबाहीको लागि पर्याप्त आधार देखियो । गए जाउन भन्ने कुरा हामीले सोच्नुहुँदैन भनेर सोच्यौँ । पछि हुँदाहुँदै आफ्नो पार्टीको अध्यक्षलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउनुभयो । कतिसम्म भने एमालेका कतिपय सांसदको सार्वजनिक लेखा समितिमा माधव नेपालले आफूलाई प्रधानमन्त्री बनाउने भनेर हस्ताक्षर गर्न लगाउनुभयो भनेस् सोमप्रसाद पाण्डेले भन्नुभयो ।’
देउवालाई प्रधानमन्त्री बनाउनको लागि माधव नेपालसहित सांसदहरू सर्वोच्च अदालतमा लाइन लाएर गएको पनि उनले स्मरण गराए । उनले भने,‘पार्टीको कारबाहीको लागि यो प्रमाण नै यथेष्ट छ । अहिले पनि म भनिरहेको छु कि मान्छेबाट भूल हुन्छ । गल्ती करेक्सन गर्नुहोस् । दश बुँदे दस्ताबेजमा आउनुभयो भने एकता हुन्छ । यसरी नै अघि बढौँ ।’
केपी ओलीले अध्यक्ष छोड्नुपर्ने र संसद् विघटन गरेकोमा माफी माग्नुपर्ने भनेर माधव नेपाल समूहले अघि सारेको सर्तलाई उनले निरीह र बेइमानी कुराको संज्ञा दिएका छन् । उनले भने,‘बुटवल महाधिवेशनमा म झलनाथको पक्षमा थिएँ । माधव नेपालेले केपी ओलीबिना पार्टी चल्दैन भन्नुभयो । नवौँ महाधिवेशनमा केपी ओलीकै विरुद्धमा चुनाव लड्नुभयो । अब हाम्रो पार्टीमा अध्यक्ष प्रत्यक्ष निर्वाचन हुन्छ । महासचिव पनि प्रत्यक्ष निर्वाचित हुन्छ । अहिले ओलीले अध्यक्ष छोड्ने कुरा आउँदैन । हामी ३ करोड नेपाली जनताको बिचमा एमालेलाई सशक्त र प्रभावकारी बनाउँछौँ ।’
त्यस्तै, नेता बडालले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग विघटन गरेकोमा आपत्ति जनाए । उनले आयोगमा रहेका अध्यक्ष देवीप्रसाद ज्ञवाली नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डभन्दा लामो राजनीतिक इतिहास भएको व्यक्ति भएको पनि स्मरण गराए । उनले भने,‘प्रचण्ड हाई स्कुलको हेडमास्टर हुँदा देवी ज्ञवाली त पार्टीमा पूर्ण कालिन सदस्य हुनुहुन्थ्यो ।’