arrow

भ्रष्टाचार सेकेन्ड कोरोना हो, यसलाई निर्मूल पार्नुपर्छ : चन्द्र भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
chandra-bhandari-congress.jpg

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले भ्रष्टाचार सेकेन्ड कोरोना भएको भन्दै यसलाई निर्मूल पार्नुपर्ने बताएका छन् ।  सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भण्डारीले यस्तो बताएका हुन् । उनले भने,‘देशमा व्याप्त भएको भ्रष्टाचारको कारण जिउँदै मान्छे मरेको छ । वास्तवमा यो सरकारले भ्रष्टाचारमा लिप्त भएकाहरूलाई कारबाही गर्नुपर्छ । बरु, यसको लागि छुट्टै उच्चस्तरीय आयोग बनाउने हो कि, अथवा अख्तियारलाई पनि अझै प्रभावकारी बनाउने हो कि ।’

पछिल्लो ३० वर्षमा अरू देश कहाँबाट कहाँ पुगेको भए पनि विकासको दृष्टिकोणले नेपाल धेरै पछि परेको उनको भनाई छ । उनले भने,‘यो ३० वर्षमा नेपालमा ३० जना मानिस खर्ब पति भए होलान्, अरू एक सय जना अर्ब पती भए, अरू जनताको के हालत छ ? भ्रष्टाचार भनेको सेकेन्ड कोरोना हो । यसलाई निर्मूल पार्नुपर्छ ।’

उनले  आज-भोलिभित्रै मन्त्रिपरिषद् विस्तार हुने बताए । उनले अहिले मन्त्री बन्ने आकाङ्क्षीहरू धेरै भएको सुनाउँदै उनले काम गर्नको लागि धेरै मन्त्री नभए पनि हुने तर्क गरे ।  उनले जनताले दुई तिहाइ जनमत दिएर सरकारमा पठाउँदा पनि कम्युनिस्ट पार्टी सरकारबाट बाहिरिनुपरेको र काँग्रेस सरकारमा जानुपरेको सुनाए । उनले भने,‘जनताले त कम्युनिस्ट पार्टीलाई चरेशको थालामा ८४ व्यञ्जन त्यो पनि मिथिला परिकार दिएर सरकारमा पठाएका थिए । तर, अहिले काँग्रेसले सरकार चलाउनुपर्ने आयो । विज्ञ, प्रोफेसर, पत्रकार, बुद्धिजीवी कसैले पनि यति छोटो समयमा केपी शर्मा ओलीको सरकार जाला भनेर सोचेका थिएनन् । तर, गयो ।’

उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई पनि यति चाँडै प्रधानमन्त्री हुन्छु भनेर नलागेको पनि टिप्पणी गरे । उनले भने,‘उहाँलाई पनि यति चाँडो प्रधानमन्त्री हुन्छु भन्ने थिएन, अहिले सानो थालेको भागमा सरकार परेको छ ।’

उनले ओली सरकार हटाएर देउवाको नेतृत्वमा सरकार बनाउनको लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाल र जनमोर्चाको गठबन्धन बनेको पनि स्मरण गराए । उनले मन्त्री सानो सङ्ख्यामा बनाएर भए पनि देश चलाउन सकिने र जनताको पक्षमा काम गर्न सकिने विश्वास दिलाए । 

उनले भने,‘मुख्य कुरा सरकारले के गर्ने र कस्तो काम गर्ने भन्ने कुरा हो, अहिले प्रधानमन्त्रीज्यूले सरकारको प्राथमिकता भनेर कोभिडविरुद्ध लड्ने भनेर भनिसक्नुभएको छ । उहाँले संसद्मा सम्बोधन गर्दा पनि पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप भन्नुभएको छ । यो हिसाबले पनि उहाँको प्राथमिकतालाई लिएर म स्वागत गर्न चाहन्छु ।’

उनले अहिले धेरै कुरा गर्नुभन्दापनि जनताको पक्षमा काम गर्नुपर्ने बेला भएको सुनाए । 

त्यस्तै, विकास निर्माणको पाटोमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । नेपालमा अहिलेसम्म कुनै पनि परियोजना समय सीमाभित्रै सम्पन्न हुन नसक्नु विकासको अर्को बाधक भएको भण्डारीको भनाई थियो । उनले भने,‘नेपालमा त कागजी विकास भयो । विकास निर्माण पनि भ्रष्टाचार गर्ने र खाने बाटो भयो । यसको अन्त्य गर्नुपर्छ । यदि हामीले यो परिपाटी अन्त्य गर्न सकेनौँ भने नेपाल ध्वस्त हुन्छ ।’ नेपालको दक्ष जनशक्ति बिदेसिन बाध्य भएको पनि उनको टिप्पणी छ । अहिले ठुला ठुला काम गर्ने भनेर घोषणा गर्नुभन्दापनि यो १७ महिनाको समयलाई सही सदुपयोग गर्नुपर्ने उनको भनाई छ । 

उनले पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुन सक्ने सम्भावना नरहेको टिप्पणी गरे । उनले भने,‘भदौमा महाधिवेशन होलाजस्तो मलाई लाग्दैन । अहिले कोरोनाको महामारी छ । गाउँ गाउँमा बिरामी छन् । यस्तो अवस्थामा कसरी अधिवेशन होला ? सबै जनतालाई भ्याक्सिन लगाउने वातावरण बनाउनुपर्छ । मेरो विचारमा महाधिवेशन केही पर सर्छ होला । तर, महाधिवेशन सर्ने प्रस्ताव पार्टी सभापतिले ल्याउनुहोला । म आधिकारिक व्यक्ति होइन, यस्तो भन्नको लागि ।’

डा. भण्डारीले तोसिकएकै समयमा महाधिवेशन हुन नसके यसको दोष नेतृत्वले लिनुपर्ने पनि बताए । उनले भने,‘४ जना पदाधिकारी बैठक बसेका छन्, न अधिवेशन गर्न सक्छन्, मेरो विचारमा नेपालमा होल पार्टीको कुरा गर्दा नेतृत्व नै असफल भएको छ ।’ उनले अहिलेको असामान्य परिस्थितिलाई हेरेर सर्वोच्च अदालतले केही व्याख्या गर्छ कि भन्ने पनि विश्वास दिलाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ