माओवादी केन्द्रबाट औपचारिक रूपमा नै आयो सरकार सञ्चालन संयुक्त संयन्त्रको माग
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
757
Shares
काठमाडौं। नेकपा माओवादी केन्द्रबाट औपचारिक रूपमा नै सरकार सञ्चालनका लागि संयुक्त संयन्त्रको माग भएको छ । शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले सरकार सञ्चालनका लागि यस्तो प्रस्ताव गरेका हुन् ।
उनले प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सत्ता गठबन्धनका तर्फबाट साझा कार्यक्रम र आचारसंहिता तथा संयुक्त संयन्त्र बनाएर अघि बढ्नु धारणा राखे ।
‘न्यूनतम साझा कार्यक्रम, न्यूनतम साझा आचारसंहिता र सरकार सञ्चालनका लागि संयुक्त संयन्त्र निर्माण गरेर अगाडि बढौं,’ प्रतिनिधि सभा बैठकमा धारणा राख्दै उनले भने ।
केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेसमेत अनौपचारिक रूपमा प्रधानमन्त्री शेरबहादुर देउवासँग यस्तो प्रस्ताव गरेका थिए । सो दिन प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए भने त्यही दिन देउवा प्रचण्ड निवास पुगेर प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझेका थिए ।
शुक्रवारको संसद्को बैठकमा भने पोखरेलले मुलुकमा वाम प्रजातान्त्रिक एकताको माहौल बनेको उल्लेख गर्दै त्यस्तो संयन्त्र बनाएर अघि बढ्नु पर्नेमा जोड दिएका हुन् ।
यसअघि केपी ओली नेतृत्वको सरकारमासमेत माओवादी केन्द्रका अध्यक्ष दाहालले यस्तो प्रस्ताव गरेका थिए । तर तत्कालीन प्रधानमन्त्री ओली सो संयन्त्र बनाउन तयार नभएपछि उनीहरुबीचको सम्बन्ध बिग्रिएको थियो ।