एमालेको नेपाल पक्षलाई सरकारमा ल्याउन प्रचण्डको दौडधुप
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
2.2k
Shares
काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयलाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्तालाई बाक्लो बनाएका छन् ।
विहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेका प्रचण्डले एमाले नेता माधवकुमार नेपाललाई पनि भेटवार्ता गरेका छन् ।
वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले एक/दुई दिनमै मन्त्रिपरिषद् विस्तारको गृहकार्य गर्नुभएकाले पावर शेयरिङ र मन्त्रिपरिषद्का मापदण्डका बारेमा देउवा र प्रचण्डबीच छलफल भएको हो ।
देउवालाई भेटेर प्रचण्ड लगत्तै नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । आफू निकट २२ सांसदहरुको छलफलका क्रममा नेता नेपालले बुधवार सरकारमा जानेबारे एक साता कुर्न भनेको समाचार बाहिरिएपछि प्रचण्ड नेपाल निवास पुगेका हुन् ।
बुधबार नेपाल निकट सांसदहरुले देउवा नेतृत्वको सरकारलाई आफूहरुले विश्वासको मत दिएकाले देउवा सरकारलाई सफल बनाउन सरकारमा जानुपर्ने धारणा राखेका थिए ।
यद्यपी, बुधवार बालुवाटारमा भएको सत्तारुढ गठबन्धनको बैठकमा नेपाल पक्षका नेता डा.विजय पौडेलले एमालेको नेपाल पक्ष सरकारमा सहभागी नहुने बताएका थिए ।
तर प्रचण्डले भने नेपाल पक्षलाई पनि सरकारमा ल्याउने प्रयास गरिरहेका छन् । मंगलवार माओवादी स्थायी कमिटी बैठकमा प्रचण्डले नेपाल पक्ष पनि सरकारमा सहभागी हुने ब्रिफिङ गरेका थिए ।