arrow

सरकार विस्तारमा सकस

बुहारी विनालाई मन्त्री बनाउने तनावमा प्रचण्ड, महरा पनि लाइनमा थपिदा टाउको दुखाई

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन १२ मंगलबार
prachanda-tension.jpg
फाइल तस्बिर

काठमाडौँ। दुई दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकै तनावमा रहेको बताएका थिए। हाम्रा सबै माननीयहरूलाई मन्त्री बनाउनु पर्ने बाध्यता आइपरेको छ नत्र नेतृत्वलाई गाली गर्ने परिपाटी छ भन्दै आफू तनावमा रहेको बताएका थिए। दुई दिनपछि पनि यो तनाव कायमै रहेको छ। पार्टीभित्र मन्त्रीहरूको आकाङ्क्षीको लाइन बढ्दै गएको छ। त्यति मात्र होइन आफ्नै बुहारी विना मगरलाई पनि मन्त्री बनाउनु पर्ने अर्को तनाव थपिएको छ।

यसअघि खानेपानी मन्त्री रहँदा तत्कालीन प्रधानमन्त्री ओलीले हटाउने कोसिस गर्दा पनि जोगिएकी मगरलाई प्रचण्डले आफू निकट रहेका नेताहरूबाट मन्त्रीका लागि चर्चामा ल्याएका छन्। सुदूरपश्चिमका माओवादीका मियो मानिएका लेखराज भट्ट एमालेतिर लागेपछि भूगोलमा राजनीतिक पकड बचाउन पनि विनालाई मन्त्री बनाउनुपर्ने प्रचण्ड निकटका नेताहरूले चर्चामा ल्याएका हुन्। माओवादी केन्द्रको भागमा महिला बालबालिका मन्त्रीमा आएपछि उनको नाम चर्चामा ल्याइएको स्रोतको दाबी छ।

माओवादी केन्द्रले पाउने सात मन्त्रालय मध्ये जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा मन्त्री भइसकेका छन्। माओवादीले बढीमा पाँच मन्त्रालय पाउनेछ। उपप्रधानमन्त्रीसहित प्रभावशाली मन्त्रालय पाए सरकारमा जान खुट्टा उचालेर बसेका नेता नारायणकाजी श्रेष्ठले तीव्र चाहना देखाए पनि प्रचण्डले खासै वास्ता गरेका छैनन्। उपप्रधानमन्त्रीसहित परराष्ट्रका लागि उनले लबिङ गरिरहेका छन्। श्रेष्ठ मन्त्री बन्ने अवस्था नआए सो समूहबाट शशि श्रेष्ठ र अञ्जना विशंखेको नाम अघि सारेर श्रेष्ठले आफ्ना नाममा बार्गेनिङ गरिरहेको स्रोतको दाबी छ।

त्यस्तै, बलात्कार मुद्दामा उच्च अदालतबाट पनि सफाइ पाएका कृष्णबहादुर महरा पनि उपप्रधानमन्त्रीका अर्का दाबेदार हुन्। उनले फेरि सञ्चार मन्त्रालयमै जान चाहेको स्रोतको दाबी छ। माओवादीबाट देवेन्द्र पौडेल, देव गुरुङ, हरिबोल गजुरेलले पनि मन्त्रीका लागि लबिङ गरिरहेका छन्। प्रभावशाली नेता भए पनि वर्षमान पुन यस पटक मन्त्रीका लागि चर्चामा छैनन्।

गृह मन्त्रालय पाउने भए उनले त्यहाँ रहर गरेका थिए। भागबन्डामा गृह काँग्रेसले लगेपछि उनी कार्यदलतिर थन्किएका छन्। पौडेल, गजुरेललाई मन्त्री बनाउन अध्यक्ष प्रचण्ड यस पटक तयार देखिएका भए पनि कुन मन्त्रालय दिने भन्ने बारेमा केही जानकारी गराइएको छैन। ‘मन्त्री कसलाई बनाउने भन्ने बारेमा पार्टीले निर्णय गर्ने हो अहिलेसम्म आकाङ्क्षी धेरै छन् भनेर अध्यक्ष कमरेडले नै भन्नुभएको छ’, माओवादी स्थायी कमिटी सदस्य समेत रहेका देवेन्द्र पौडेलले भने। 

मातृका यादव, जयपुरी घर्ती, शिवकुमार मण्डल, अमनलाल मोदी, सुदन किराँती, महेश्वर गहतराजको नाम पनि मन्त्री बन्ने चर्चामा छ। महिलाबाट मन्त्री हुँदा जयपुरीको सम्भावना बढी रहेको बताइन्छ। केही दिनभित्रै काँग्रेस, माओवादी र जसपाबाट मन्त्री थप्ने तयारी भइरहँदा माओवादीमा भने मन्त्री छान्न निकै सकस परेको छ।

प्रतिनिधिसभा ४९ र राष्ट्रिय सभामा १४ गरी सङ्घीय संसद्मा माओवादीका ६३ जना सांसद छन्। उनीहरूले प्रचण्डलाई भेटेर नै मन्त्रीको लागि लबिङ गरिरहेको स्रोतको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ