arrow

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले बुझायो प्रतिवेदनः देशभर ८ लाख ५० हजारलाई सदस्यता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १२ मंगलबार
nepali-congress-flag-tree.jpg

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले सभापति शेरबहादुर देउवालाई क्रियाशील सदस्यताको प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक रमेश लेखकले मंगलबार सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकमा सदस्यताको प्रतिवेदन बुझाएका हुन् ।

सभापतिलाई बुझाइएको क्रियाशील सदस्यतासम्वन्धि प्रतिवेदन अनुसार कांग्रेसको नयाँ तथा पुराना सदस्य गरी देशभर ८ लाख ५० हजार ७ सय ११ जना क्रियाशील सदस्य पुगेका छन् । त्यसमध्ये नयाँ ४ लाख ४३  हजार ६ सय ७८ छन् भने पुराना ४ लाख ९ हजार ३३ जनाले सदस्यता नवीकरण गरेका छन् ।

विवरण अनुसार कांग्रेसमा सबैभन्दा धेरै क्रियाशील सदस्य वागमती प्रदेशमा १ लाख ८६ हजार र सबैभन्दा कम कर्णालीमा ५४ हजार ५६६ पुगेका छन ।

क्रियाशील सदस्यता छानविन समितिले १४ औं महाधिवेशनको प्रयोजनका लागि सदस्यताको अन्तिम सूची तयार गरी सभापतिलाई बुझाएको हो । अब सदस्यताको बाँकी विषयमा भने केन्द्रीय समितिले निर्णय गर्नेछ ।

समितिले धनुषा क्षेत्र नम्बर ४, सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुंगो नलगाइ सभापतिसमक्ष बुझाएको हो । यस्तै नयाँ केही स्थानको सदस्यता पनि स्थगित गरिएको छ । बाँकी विवादलाई भने शीर्ष तहबाट मिलाउने कांग्रेस तयारी छ ।

यसैगरी १३औं महाधिवेशनको सदस्यताको विषयमा पनि पहिले विवादित रहेका सोलुखुम्बुको ५१५ जनाको सदस्यता तथा बाराको १६६ फाराम पनि हालको समितिले सहमति जुटाउन नसकेपछि शीर्ष तहलाई नै जिम्मा लगाएको समितिका संयोजक लेखकले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ