arrow

कांग्रेसको आन्तरिक तयारीः  वडा अधिवेशन भदौबाट, महाधिवेशन कार्तिकमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
nepali-congress-flag-tree.jpg

काठमाडौं। क्रियाशील सदस्यताको विवादका कारण नेपाली कांग्रेसको १४औं महाधिवेशनको लागि पूर्व निर्धारित कार्यतालिका स्थगित भएको छ । केन्द्रको महाधिवेशनको मितिलाई नचलाइ अन्य तहका अधिवेशन स्थगित गरिएको बताइए पनि अब केन्द्रीय महाधिवेशन पनि प्रभावित हुने निश्चित देखिएको छ ।

शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले क्रियाशील सदस्यताको विवाद बढ्दै जाँदा १२ साउनबाट शुरु गर्ने भनेको वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशन तलका सबै अधिवेशन अर्को निणर्य नहुँदासम्मका लागि स्थगित गरिसकेको छ ।

कांग्रेस उच्च स्रोतका अनुसार अब भदौको पहिलो वा दोस्रो हप्ताबाट वडा तहको अधिवेशन शुरु गर्ने र भदौ र असोज भित्र सबै तहका अधिवेशन सकेर कार्तिकमा केन्द्रीय तहको महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउने विषयमा छलफल भइरहेको छ ।

भदौ भित्र जसरी पनि अधिवेशनको प्रक्रिया शुरु गर्नै पर्छ, यो दबाब हामीमाथि छ, यो नैतिकताको पनि कुरा हो, भदौबाट अधिवेशन शुरु गर्ने र असोजमा सबै तहका अधिवेशन सकेर कार्तिकमा केन्द्रको महाधिवेशन गर्ने गरी छलफल भइरहेको छ,’ कांग्रेस उच्च स्रोतले भन्यो ।  सो प्रस्तावमाथि संस्थापन पक्ष भित्र छलफल भइसकेको छ ।

कांग्रेस सहमहामन्त्री डा प्रकाशसरण महतले क्रियाशिल सदस्यताको विवादबारे टुंगो लगाएपछि केही दिन भित्रमा नै सबै तहका अधिवेशनका लागि अर्को मिति तोकिने बताए । ‘पहिले सदस्यताको विवाद टुंगाउँछौं, त्यसपछि अधिवेशनको मिति सार्वजनिक हुन्छ,‘ महतले हाम्राकुरासँग भने ।

कांग्रेसले यसअघी घोषणा गरेको कार्यतालिका अनुसार १२ साउनबाट वडा अधिवेशन शुरु भइसक्नु पर्ने थियो । यसैगरी गाउँ र नगरको अधिवेशन १६ साउन, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउनका लागि तय गरिएको थियो । यस्तै एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन र प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा गर्ने भनिएको थियो ।

क्रियाशील सदस्यताका विषयमा विवाद बढ्दै जाँदा बारा, सर्लाही र धनुषाका जिल्ला तहका नेता कार्यकर्ता कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसन तथा धर्नामा छन् । उनीहरुले जिल्ला तहका पुराना नेता कार्यकर्तालाई नै छुटाएर क्रियाशिल सदस्यताको विवरण केन्द्रमा मनोमानी ढंगबाट पठाइएको भन्दै आपत्ति जनाउँदै आइरहेका छन् ।

सदस्यताका विषयमा विवाद हुँदा नेता रमेश लेखकको नेतृत्वमा कांग्रेसले बनाएको क्रियाशिल सदस्यता छानविन समितिले सदस्यताको विवरणलाई अन्तिम रुप दिन सकेको छैन । सो समितिले आगामी मंगलबार सदस्यताको सूचीलाई अन्तिम रुप दिएर सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी गरिरहेको छ । समितिले सभापतिलाई सदस्यताको सूची नबुझाउँदासम्म वडातहका अधिवेशन शुरु हुने अवस्था छैन । त्यसै कारण कांग्रेसले तल्ला तहका अधिवेशन स्थगित गरेको हो ।

सदस्यताको विवादका कारण जारी धर्ना र अनसनरत पक्षसँग वार्ता र सहमतीको प्रयास गर्न कांग्रेसले सहमहामन्त्री डा। प्रकासरण महत र पूर्व सहमहामन्त्री डा।रामशरण महतलाई जिम्मेवारी दिएको थियो । तर विवाद समाधनतर्फ ठोस प्रगति भएको छैन ।

हालसम्म देशभरका १६५ निर्वाचन क्षेत्र मध्ये कांग्रेसले १४३ निर्वाचन क्षेत्रको सदस्यता मात्रै टुंगाएको छ । २२ क्षेत्रमा भने विवाद देखिएको छ । विवाद देखिएकामा धेरै प्रदेश २ का जिल्ला छन् । यसैगरी ७० वटा भन्दा बढी वडाको विवादका कारण सदस्यता नै स्थगित गरिएको छ । सप्तरी र बारामा भने बढी विवाद देखिएको छ ।

प्रदेश १ मा सोलुखुम्बु र सुनसरी निर्वाचन क्षेत्र नं.४ मा विवाद कायमै छ । लुम्बिनीमा कपिलवस्तु-३ र प्यूठानमा विवाद कायमै छ भने सुदूरपश्चिमको डडेल्धुरा र कैलालीमा विवाद देखिएको छ । बागमतीको काभ्रे र सिन्धुपाल्चोकमा पनि विवाद देखिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार नयाँ र पुराना गरी विदेशबाट बाहेक आठ लाख ५० हजार २ सय ३२ जनाले क्रियाशील सदस्यता सम्वन्धि फाराम भरेका छन् । त्यसमध्ये चार लाख ४४ हजार १ सय ४१ नयाँ छन् । बाँकी पुराना सदस्यतामा भने विवाद छैन ।

विवादित स्थानका सदस्यता नटुंगिए १३ औं महाधिवेशनकै सदस्यतालाई आधार मानेर महाधिवेशन गर्न सिफारिस गर्ने छानविन समितिको तयारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ