arrow

कांग्रेसले सुन्यो कुरा, बैठक बालुवाटारबाट बुढानीलकण्ठ सर्‍यो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
congress-leaders.jpeg
तस्वीर–फाइल ।

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार बिहान बस्दैछ । बैठक प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्न लागेको हो । देउवा सरकारी निवास बालुवाटारमा बैठक नडाकी निजी निवासमा डाक्न राजी भएका हुन् । 

देउवा प्रधानमन्त्री भएपछि कांग्रेसको बैठक बालुवाटारमा राखेका थिए । त्यसलगत्तै उनको कदमको पार्टीतहदेखि नागरिक समाजसम्मले विरोध गरेको थियो । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको गल्ती देउवाले दोहोर्याएको भन्दै चर्को आलोचना भएपछि देउवाले पुराना गल्ती नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्दै बैठक बालुवाटारमा नराख्ने निर्णय गरेका हुन् । 

उनले पार्टीका सबै बैठक पार्टी मुख्यालय वीपीनगर बल्खुमै राख्ने जनाएका छन् । तर अहिले भने पार्टी कार्यालयमा परिस्थिति सहज नभएका कारण निजी निवास बुढानीलकण्ठमा बैठक डाकिएको हो । 

यसअघि पनि पटक पटक बैठक बुढानीलकण्ठमा बस्दै आएको भन्दै कांग्रेसका अन्य पदाधिकारीहरुले बुढानीलकण्ठको निम्तो स्वीकार गरेका हुन् । 

पार्टी मुख्यालयमा क्रियाशील सदस्यता विवादका कारण आमरण अनसन र धर्ना चलिरहेका कारण स्थिति सहज नभएको देउवाको निष्कर्ष छ । उनले स्थिति सहज हुनासाथ कांग्रेसका हरेक बैठक पार्टी मुख्यालयमै डाक्ने प्रतिवद्धता जनाएका छन् । 

शुक्रबार बस्ने बैठक बुढानीलकण्ठमै हुने जानकारी पार्टी महामन्त्री पूर्णबहादुर खड्काले बिहीबार नै सामाजिक संजालमार्फत दिएका थिए । यो निर्णयको सर्वत्र स्वागत गरिएको छ । आलोचकहरुले पनि प्रशंसा गरेका छन् । 

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापाले यो कदमको स्वागत गरेका छन् । उनले आफूसहितका नागरिक समाजबाट आएका आवाजलाई सुनिदिएकामा पार्टी नेतृत्वलाई धन्यवाद दिएका छन् । 

देउवालाई पुराना गल्तीहरु नदोहोर्याइ पाँचौं नेतृत्व स्मरणीय बनाउन सुझाव शुरुआतदेखि नै दिँदै आइएको छ । उनी आफूले  पनि पुराना गल्ती नदोहोर्याउने प्रतिवद्धता गरेका छन् । आफ्नो नेतृत्वमा कमीकमजोरी नदोहोर्याउने प्रतिवद्धता गरेका देउवाको यो कदमलाई सकारात्मक रुपमा लिइएको छ । 

के गरेका थिए केपी ओलीले ?
यसअघि केपी ओलीले पार्टी बैठकमात्र नभई सभा सम्मेलन सबै बालुवाटारमा राख्दै आएका थिए । उनको गतिविधिको चर्को विरोध भएको थियो । तर उनले कहिल्यै सुनेनन् । 

आफ्नै पार्टीभित्र चर्को विरोध हुँदासमेत उनले अनेक बहाना गरेका थिए । आफूलाई सुरक्षा चुनौती रहेको समेत उनले गृहमन्त्रीमार्फत भन्न लगाउँथे । त्यतिमात्र होइन स्वास्थ्यको समस्या देखाएर पनि उनी बालुवाटारभन्दा बाहिर जान रुचाउँदैनथे । 

उनले भोजभतेरसमेत बालुवाटारमै गर्न लगाए । राज्यको दोहन गर्न सिपालु ओलीले जनताले पसिना चुहाएर बल्ल बल्ल तिरेको करको निकै नै अबमूल्यन गरे । उनी कहिल्यै जवाफदेही बनेनन् । उनले जनताले तिरेको करबाटै पार्टी संचालन गरे । 

सुरक्षा र स्वास्थ्यको चुनौती रहेको बहाना गर्ने ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि आफ्नो पक्षमा जनमत उतार्ने बहानामा देश दौडाहामा लागे । धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा जान सुरक्षा चुनौती रहेको बहाना गर्ने ओली एकाएक देश दौडाहामा जाँदा न त उनले सुरक्षा चुनौती महसुस गरे न त उनलाई आफ्ना दुवै मृगौला थपेको पीडा भयो र न त कोरोना भाइरसको महामारीले उनलाई असर गर्यो । 

परिस्थितिअनुसार रंग फेर्दै आएका ओलीले कुनै पनि तानाशाहीले भन्दा कम व्यवहार नदेखाएको आरोप अन्य दलमा त छँदैछ एमालेकै इतर पक्षले लगाउँदै विरोध गर्दै आइरहेको थियो । 

के हुँदैछ कांग्रेस पदाधिकारी बैठकमा ?
पहिलो पटक कांग्रेसमा शुक्रबार नौलो प्रयोग भएको छ । नेपाली राजनीतिको इतिहासमा विरलै सुन्न सकिने काम शुक्रबार हुँदैछ । प्रधानमन्त्रीले सरकारी निवास छाडेर र पार्टी कार्यालयमा नडाकेर निजी निवासमा बैठक डाकेका छन् । 

यो उदाहरणीय बैठकमा शुक्रबार बिहान पदाधिकारी बैठक बस्न लागेको हो । बैठक बिहान ९ बजे बुढानीलकण्ठमा बस्दैछ । बैठकमा आसन्न पार्टीको १४ औं महाधिवेशनका बारेमा छलफल हुँदैछ । महाधिवेशनको समय तालिका परिवर्तन गर्नका लागि पदाधिकारी बैठक डाकिएको बुझिएको छ । 

महाधिवेशनका लागि अझै क्रियाशील सदस्यताको विवाद कायमै छ । यही विवादका कारण पार्टी मुख्यालयमा आमरण अनसन र धर्ना चलिरहेको छ । यसको सम्वोधन गर्ने विषयमा पनि छलफल हुनेछ । 

त्यस्तै सरकार संचालनको विषयमा पनि छलफल हुँदैछ । बैठकमा सरकारमा जाने मन्त्रीहरुको समेत पनि टुंगो लाग्न सक्ने बुझिएको छ । 

देउवाले नेतृत्व सम्हालेको १२ दिन भइसक्दासमेत मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । सत्ता सहयात्री दलहरुले समेत मन्त्री बन्नेहरुको नाम दिन नसकेका कारणले पनि अलमल भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ