arrow

देउवाको गृह जिल्लामा कांग्रेसको चुनावी सरगर्मी, जिल्ला सभापतिका लागि त्रीपक्षीय प्रतिस्पर्धा

logo
राम धामी, 
प्रकाशित २०७८ साउन ५ मंगलबार
congress-dhadeldhura.jpg

डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराको आसन्न सातौं जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा डडेल्धुरा जिल्लामा तीन समूह चुनावी प्रतिस्पर्धामा उत्रने देखिएको छ ।

एक बर्षपहिले देखिनै पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेर चुनावी तयारीमा जुटेका नेपाली कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्ट, महाधिवेशन प्रतिनिधी हरिप्रसाद भट्ट र परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेर चुनावी अभियान थालेका छन्।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको समर्थनमा आफू उम्मेदवार बनेको दाबी गरेका नगरप्रमुख साउदलाई जिल्ला सभापति बनाउन पूर्वसभापति रघुबर भट्ट र प्रदेश सभा सांसद गोविन्द बोहरासहितका नेताहरु जिल्लाव्यापी दौडाहामा छन्।

काँग्रेसको १४औँ महाधिवेशनमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवालाई सघाउन आफूले उम्मेदवारी दिएको साउदले बताए । जिल्लामा पार्टीभित्र मौलाएको गुटबन्दी निरुत्साहित गरेर पार्टी एकताका लागि सभापतिमा आफुले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।

केही दिन पहिले देउवा निवास बूढानीलकण्ठ पुगेका डडेल्धुराका जिल्लास्तरीय केही नेताहरुसँगको छलफलमा देउवाले परशुरामका नगरप्रमुख साउदलाई सभापति बनाउन आग्रह गरेको साउद पक्षीय नेताहरुको दाबी छ । बूढानीलकण्ठमा भएको छलफलमा देउवा र जिल्लाका करिब एक दर्जन नेता कार्यकर्ताका बीचमा परशुराम नगरपालिका मेयरसमेत रहेका साउदलाई सभापति बनाउने समझदारी भएको थियो  ।

पूर्वसभापति भट्ट, सुदूरपश्चिम प्रदेश सभामा काँग्रेसका सचेतक समेत रहेका सांसद बोहरा, जिल्ला कार्यसमिति सचिवद्वय लक्ष्मी अवस्थी र हेमराज चटौतलगायका अन्य जिल्लास्तरीय नेता कार्यकर्तामाझ साउदले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए ।

डडेल्धुरा जिल्लामा देउवाबाहेक कांग्रेसको रामचन्द्र पौडेलको गुट भने खासै अस्तित्वमा छैन । देउवा गुटमै दुई उपगुट छन् । जसमा एउटा गुटलाई सभापति देउवाकी धर्मपत्नी डा।आरजु देउवा राणाको समर्थन रहेको बताउने गरिन्छ । जिल्ला सभापति कर्णबहादुर मल्ल र पार्टीका पूर्वसभापति रघुवर भट्टका अलग उपगुट हुन् ।

तीन जना जिल्ला सभापतिका उम्मेदवारहरुले उम्मेदवारी घोषणा गरेर प्रचार प्रसार अभियान तिब्र पारेपछि डडेल्धुरामा स्पष्ट रुपमा त्रिपक्षीय प्रतिस्पर्धा हुने स्पष्ट संकेत देखिएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाको गृहजिल्ला भएकोले पनि डडेल्धुरामा काँग्रेसको चुनावी प्रतिस्पर्धाले बेग्लै रौनकता छाएको छ ।

जिल्ला राजनीतिमा बलियो पकड बनाउने सफल नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले भने चुनावी प्रतिस्पर्धा सक्रियता देखाएका छैनन् । पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद अनावश्यक रुपमा बल्झिएकाले विवाद निरुपण भएपछि मात्रै जिल्ला फर्किने योजनामा रहेका मल्ल हाल राजधानी काठमाडौंमै छन् ।

नेपाली कांग्रेस डडेल्धुराको राजनीतिमा पछिल्लो एक दशकदेखि सभापति मल्ल हाबी भएको नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमिति सदस्य युवा नेता सन्तोष देउवाले बताए । उनले सभापति मल्लको समर्थन भएको समुहले चुनावी प्रतिस्पर्धामा विजय हासिल गर्ने दाबी गरे ।

नेपाली कांग्रेस डडेल्धुराको दुई कार्यकाल नेतृत्व गरेका सभापति मल्ल डडेल्धुरा प्रदेश सभा निर्वाचन क्षेत्र नं।‘ख’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभाका सांसद हुन् । विधानले दुई कार्यकाल भन्दा बढी सभापतिमा लड्न बन्देज लगाएकाले सभापति मल्ल केन्द्रीय सदस्यका आकांक्षी छन् ।

यस्तै गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्ल, महासमिति सदस्य तारक बुढाऐर, दलित नेता भरत नेपाली र युवा नेता चुडामणी ठकुराठीले पनि जिल्ला सभापतिका उम्मेदवारी घोषणा गरिसकेका छन । तर सभापति पदको उम्मेदवारी घोषणा गरेर सम्पर्क कार्यालय स्थापना गर्दै चुनावी अभियान थालेका तीन जना बीचमात्रै तिब्र चुनावी प्रतिस्पर्धा हुने कांग्रेस कार्यकर्ताहरु बताउँछन् ।

जिल्ला अधिवेशनमा तीन समूहबीच प्यानलसहितको प्रतिस्पर्धा हुने देखिएपछि स्थानीय तहमा समेत नेता कार्यकर्ताहरुबीच तीब्र ध्रुविकरण हुन थालेको छ । स्थानीय तहका साथै प्रदेशसभा निर्वाचन क्षेत्रमा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको नेपाली कांग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टले बताए । सकभर सर्वसम्मत रुपमा नेतृत्व चयन गरिने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।

डडेल्धुरा लगायतका केही जिल्लाहरुमा नयाँ क्रियाशील सदस्य वितरणका क्रममा उत्पन्न विवादको अझै अन्त्य हुन सकेको छैन् । विवाद समाधान भएर सदस्यताको टुंगो लागेपछि मात्रै जिल्ला अधिवेशनका गतिविधीहरु अघि बढने नेपाली कांग्रेस डडेल्धुराका सभापति मल्लले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ