arrow

कांग्रेस क्रियाशील सदस्य विवाद पेचिलोः सर्लाहीका पूर्व सभापतिहरुले केन्द्रीय कार्यालयमा शुरु गरे धर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
dharna-sarlahi.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा क्रियाशील सदस्यता विवाद पेचिलो बन्दै गएको छ ।

क्रियाशील सदस्यता वितरणमा एकलौटी गरेको भन्दै धनुषा र बाराका नेता कार्यकर्ताको धर्ना जारी रहेकैबेला सर्लाहीका नेता कार्यकर्ताले पनि धर्ना शुरु गरेका छन् ।

नेपाली काँग्रेसमा विधान तथा नियम विपरित क्रियाशील सदस्यता वितरण गरेको भन्दै छानबिनको माग गर्दै नेपाली कांग्रेस सलाहीका पूर्व सभापतिहरु लगायत अन्य नेताहरु धर्नामा बसेका छन ।

सर्लाही कांग्रेस क्षेत्र नं-४ का संघीय सांसद डा.अमरेश कुमार सिंहले धर्ना शुरु गराउन साथ दिएका छन् । पार्टीको १४औं अधिवेशनमा प्रभाव पार्ने उदेश्यले  क्रियाशील सदस्य वितरण गरिएको भन्दै छानविनको माग गर्दै कांग्रेस सलाहीका पूर्वसभापतिहरु तथा अन्य नेताहरु आइतवारदेखि नै नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन ।

४ निर्वाचन क्षेत्र रहेको सर्लाहीमा सबैभन्दा बढी क्षेत्र नं. १ ,२ मा क्रियाशील सदस्यता सम्बन्धी बिबाद देखिएको छ भने क्षेत्र नं.३ र ४ मा पनि बिबाद देखिएको हो । क्षेत्र नं.१ मा शम्भुलाल श्रेष्ठले र क्षेत्र नं.२ मा जंगीलाल रायले समायोजनको नाममा आफूखुशी पार्टी बिधान बिपरित क्रियाशील वितरण गरेको सर्लाही काँग्रेसका पूर्वसभापती लक्ष्मण रायले बताए ।

त्यस्तै क्षेत्र नं. ३ र ४ मा जिल्ला सभापति नागेन्द्र कुमार रायले आफुखुसी पार्टीको क्रियाशील सदस्य वितरण तथा नवीकरणमा मनोमानी गरेको निवर्तमान सभापति रायको आरोप छ । सभापति रायले जिल्लामा बढेको विवाद मिलाउनुको साटो अटेरी गरेर हुकुमी शैलीमा काम गरिरहेको उनले बताए ।

रायले अहिलेको निर्वाचित जिल्ला कमिटी कांग्रेसको नीति र विधान मान्नसमेत तयार नरहेको उल्लेख गर्दै कांग्रेसको सदस्यता ठेकेदारको घरमा पुगेको आरोप लगाए । ‘जिल्लामा बढेको विवाद मिलाउनुको साटो वर्तमान सभापति हुकुमी शैलीमा अगाडि बढिरहेका छन्, नीति र विधान मान्न तयार छैनन्,’ निवर्तमान सभापति रायले भने, ‘वडाको काम पनि जिल्लाले नै गरिरहेको छ, आम कार्यकर्ताले पाउने सदस्यता ठेकेदारको घरमा पुगिरहेको छ ।’

अर्का पूर्वजिल्ला सभापति सत्यदेव सिंह दनुवारले संगठनलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बेलामा विभिन्न किसिमको जालझेलले लज्जाबोध हुन थालेको दुःखेसो पोखे । उनले विगतमा संघर्ष गरेर पार्टी एकढिक्का बनाएर लगेकोमा पछिल्लो समय गुट उपगुटले पार्टीलाई तहसनहस बनाएको जानकारी दिए ।

सिंहले अझै पनि पार्टीमा विधिको शासन लागू नगरिए त्यसको क्षति पार्टीले व्यहोर्नुपर्ने भन्दै सचेत गराए । ‘निकै संघर्ष गरेर हामीले पार्टीलाई जिल्लामा यो तहसम्म पुर्‍याएका हौं, तर अहिले विभिन्न किसिमको गुट उपगुट हाबी भएको छ, यसले समग्र रूपमा पार्टीलाई नै अहित गर्छ,’ सिंहले भने ।

सर्लाही क्षेत्र नं.१ को क्षेत्रिय प्रदेशसभा (क) अन्तर्गत चन्द्रनगर गाउँपालिका वडा नं.१ को नेपाली कांग्रेस वडा समितिको मिति २०७७/११/१० तथा १६ गतेको निर्णय अनुसार ३० जनालाई नयाँ क्रियाशील सदस्यता दिने निर्णय अनुसार वडा सभापतिले सिफारिस गरि गाउँ समिति तथा प्रदेश समितिमा पठाइएकोमा गाउँ समिति तथा प्रदेश समितिबाट समेत सिफारिस भई पठाइएकोमा जिल्ला सभापतिले पार्टीको विधान तथा नियम विपरित आफु खुशी सदस्यता प्रदान गरेको आरोप लागेको छ ।

नवीकरण क्रियाशील सदस्यता संख्या ३० वटा र समायोजन क्रियाशील सदस्यता २२ वटा नयाँ फारममा हुनुपर्ने तर २२ वटा बाहेक जिल्लाले पुराना सदस्यतामा १३ र क्षेत्रले २० नयाँ थप गरी जम्मा ३३ नयाँ तथा पुराना सदस्यहरु थप गरी जिल्ला र क्षेत्रले मिलोमतो गरी पुरानो फारममा नवीकरण गरेकोले उक्त ३३ वटा क्रियाशील खारेज गर्न केन्द्रीय कार्यालयमा आफुहरुले उजुरी समेत गर्दा कुनै सुनुवाई नभएपछि आफुहरु बाध्य भएर धर्नामा बस्नु परेको महाधिवेशन प्रतिनिधि सोनेलाल साहले जानकारी दिए ।

धर्ना कार्यक्रममा पूर्वसभापति लक्ष्मण राय ,सत्यदेव सिंह, प्रथम प्रतिनिधि सभा सदस्य रामचन्द्र चौधरी, पूर्व उपसभापति बिनोद खनाल , वर्तमान सचिव नविन कुमार अधिकारी, क्षेत्रीय सभापति दिनेश मिश्र ,तरूण दल सभापति सूर्य नारायण राय, महाधिवेशन प्रतिनिधिहरू विकाउ मंसुर, सोनेलाल साह, महेश राय, रामएकवाल राय, श्याम साह, ललन यादव, शिक्षक संघका पूर्वसभापति कौशल किशोर राय लगायतका व्यक्तिहरुको उपस्थिति रहेको छ ।

यता, १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदै गर्दा अहिलेसम्म क्रियाशील सदस्यहरुको टुङ्गो लागेको छैन् । छानबिन समितिले सबैजसो स्थानको विवाद टुङ्गिसकेको दाबी गरे पनि एकपछि अर्को जिल्लाको विवाद थपिदै गएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ