‘कोट पाइन्ट र सारी’ मा अल्झिएको जीतपुरसिमराको नगर सभा
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
1.7k
Shares
तस्विर : उपमहानगरपालिकामा कोट पाइन्टको नाप दिन आइतबार लाम लागेका नगर सभा सदस्यहरु र ड्राइभिङ तालिमका लागि उपमहानगरले पठाएको म्यासेजको स्क्रिन सट ।
सिमरा । कानुनतः १० असार भित्रै सम्पन्न गरिसक्नुपर्ने नगर सभा समयमै सम्पन्न गर्न नसकेको बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले जनप्रतिनिधिलाई कोट पाइन्ट र सारी बाँड्ने तयारी थालेको छ ।
आर्थिक वर्ष २०७८-७९ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउन कार्यपालिका सदस्यहरू तयार नभएपछि उपमहानगरले सबै नगर सभा सदस्यलाई कोट पाइन्ट र सारी तथा कार्यपालिका सदस्यलाई ड्राइभिङ तालिम सञ्चालन गर्न लागेको हो ।
१२५ जना सदस्य रहेको उपमहानगरको नगर सभामा एक जनाको कोभिड १९ का कारण मृत्यु भएपछि हाल १२४ जना सदस्यलाई कपडा वितरण गर्ने तयारी गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले बताए । ‘नगर सभामा सबैको ड्रेसमा एकरूपता आओस् भन्ने उद्देश्यले यस्तो गर्न लागिएको हो’ पोखरेलले भने ।
तर प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भनेजस्तो ड्रेसमा एकरूपताका लागि नभई नगरप्रमुख र उपप्रमुखले नगर सभा सदस्यहरूलाई फकाउनका लागि प्रपञ्च रचेर कोट पाइन्ट र सारी बाँड्न लागेको जीतपुरसिमरा ४ का वडा अध्यक्ष ईश्वर खत्रीले बताए । ‘जुन ड्रेस बाँड्ने भनिएको छ, त्यो हामीले नलिने घोषणा गरिसकेका छौँ’ उनले भने । ‘नेकपा माओवादी केन्द्रबाट निर्वाचित कुनै पनि सदस्यले उपमहानगरको खर्चमा कोट पाइन्ट र सारी लगाउँदैनन्’ खत्रीले भने ।
नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पनि नगरको बजेटबाट आँफूहरुले कोट पाइन्ट र सारी नलिने बताएका छन् तर नगरपालिकाले भने सबै जनप्रतिनिधिलाई कपडा अर्डर गरिसकेको छ । कतिपय जनप्रतिनिधिले त उपमहानगर कार्यालयमै पुगेर आफ्नो शरीरको नाप समेत गराइसकेका छन् ।
नेकपा एमालेबाट निर्वाचित जीतपुरसिमरा १ का वडा सदस्य रामदास धौजु भन्छन् ‘मैले उपमहानगरकै कार्यालयमा शरीरको नाप गराएको छु, तर म यो कुराको विपक्षमा छु ।’ अर्कै कामले नगरपालिका पुगेका बेला अरू साथीहरूको शरीर नापी रहेको देखेपछि आँफूले पनि नाप छोडेको तर थप कुरा पछि मात्रै थाहा पाएको धौ जुको भनाई छ ।
यता नगर उपप्रमुख सरस्वतीदेवी चौधरीले भने सबैको सहमतिमा भएको निर्णयलाई केही वडा अध्यक्ष र मिडियाकर्मीले अनर्गल प्रचार गरी बदनाम गर्न खोजेको बताइन् । अघिल्लो नगर सभाबाटै नगर सभा सञ्चालनका लागि छुट्टाइएको १५ लाख रुपैयाँबाट सदस्यका लागि औपचारिक पोसाक खरिद गर्नु गलत कार्य नभएको उपप्रमुख चौधरीको भनाई छ । ‘नगर सभा सञ्चालनका लागि विनियोजित बजेटबाट सदस्यहरूलाई औपचारिक पोसाक खरिद गर्ने निर्णय कहाँनेर गलत छ ?’ उनले प्रश्न गरिन् ।
एक हप्ता अघि बसेको कार्यपालिका बैठकमै छलफल गरी पोसाक नाप्न सदस्यहरूलाई बोलाइएको दाबी उपप्रमुख चौधरीको छ तर कार्यपालिका सदस्य समेत रहेका वडा नम्बर ४ का अध्यक्ष ईश्वर खत्री भने कार्यपालिकामा सामान्य छलफल भए पनि कुनै निर्णय नभएको बताउँछन् । नगर सभा सदस्यलाई फकाएर आफू अनुकूलका कार्यक्रम पारित गर्ने रणनीतिमा मेयर उपमेयर लागेको खत्रीको आरोप छ ।‘कोट पाइन्ट र सारी बाँडेर आफू अनुकूलका कार्यक्रम नगर सभामा पास गराउने रणनीति मेयर उपमेयरको हो’ खत्रीले भने ।
१५ लाख रुपैयाँको कोट पाइन्ट र सारी बाँड्ने तयारीमा रहेको उपमहानगरले १० लाख खर्चेर नगर कार्यपालिका सदस्यलाई ड्राइभिङ तालिम पनि दिन लागेको छ । नगर उपप्रमुख चौधरीका अनुसार गत वर्षकै बजेटमा ‘कर्मचारी क्षमता अभिवृद्धि’ का लागि छुट्टाइएको सो बजेटबाट इच्छुक जनप्रतिनिधिलाई पनि तालिम दिन लागिएको हो । ‘नगर कार्यपालिका सदस्यलाई ड्राइभिङ तालिम दिनु नराम्रो हो र ?’ चौधरीको प्रश्न छ ।
स्थानीय सामाजिक सञ्जाल प्रयोगकर्ताले चर्को विरोध गरिरहेको यी दुवै विषयमा नगर प्रमुख डा. कृष्ण पौडेल भने बोल्न मानेनन् । प्रतिक्रियाका लागि फोन सम्पर्क गर्दा प्रश्न सुनेर फोन काटिदिए ।