arrow

काँग्रेस पदाधिकारी बैठकको निष्कर्ष : निर्धारित मिति मै महाधिवेशन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन १ शुक्रबार
congress-baluwater-meeting.jpg
तस्बिर : रासस

काठमाडौँ। नेपाली काँग्रेसको पदाधिकारी बैठक भर्खरै सकिएको छ। बैठकले निर्धारित मितिमा नै महाधिवेशन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काँग्रेस पदाधिकारी बैठकमा महाधिवेशन केन्द्रित विषयमा मात्रै छलफल भएको नेताहरूले जानकारी दिए।

बैठकमा काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिबाट भएका कामको प्रगति, समायोजन समितिबाट भएका काम र निर्वाचन सम्बन्धी निर्देशिकाका विषयमा छलफल भएको काँग्रेस सह महामन्त्री डा. प्रकाश सरण महतले जानकारी दिए।

बैठकमा सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले ७५ जिल्लाका क्रियाशील सदस्यता सम्बन्धी काम सकिएको ब्रिफिङ पार्टी नेतृत्वलाई गरेका छन्। सप्तरी र बारामा भने विवाद बढी देखिएको छ।

लेखकले आइतबारसम्म पार्टी सभापति शेरबहादुर देउवालाई क्रियाशील सदस्यता सम्बन्धी सूची बुझाइने जानकारी दिए। उनका अनुसार विदेशस्थित जनसम्पर्क समितिबाट समेत गरी काँग्रेसमा ९ लाख क्रियाशील सदस्य पुगेका छन्।

यसै गरी उपसभापति विमलेन्द्र निधिले अन्य पार्टीबाट काँग्रेसमा समायोजन भएर आएका नेता कार्यकर्ताहरूको समायोजन सम्बन्धी विषयमा जानकारी गराएका छन् भने निर्वाचन सम्बन्धी निर्देशिका निर्माणका विषयमा समेत छलफल भएको छ।

बैठकले निर्वाचन सम्बन्धी निर्देशिकाको टुङ्गो लगाउन सह महामन्त्री महत र केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाललाई जिम्मेवारी दिएको छ। बैठकमा अन्य विषयमा भने कुनै छलफल नभएको सह महामन्त्री महतले दाबी गरे।

काँग्रेसले निर्धारण गरेको महाधिवेशन कार्यतालिका अनुसार १२ साउनबाट वडा अधिवेशन सुरु भइसक्नु पर्ने छ। यसै गरी गाउँ र नगरको अधिवेशन १६ साउन, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउनमा निर्धारित छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ