arrow

महामारीका बेला राजुको सोचमा चलेको अ‍ैंचोपैंचो अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
raju-aichopaicho.jpg

काठमाडौँ । कोरोना महामारीको दोस्रो लहरले सबैतिर प्रभावित पार्दा धेरैलाई कसरी आफ्नो ठाउँमा सेवामा जुट्ने भन्ने परेको थियो। आफ्नै टोल छिमेकमा अप्ठ्यारो पर्दा कसरी सहयोग गर्न सकिएला अनि आफैलाई पनि अप्ठ्यारो पर्दा कसले सहयोग गर्न आउला भन्ने चिन्ता हुनु स्वाभाविकै थियो। यही बिचमा फुरेको एउटा सोच थियो‘अ‍ैंचोपैंचो’। 

कुनै एकको आवश्यकतालाई अर्कोले टार्ने र आफूसँग भएपछि फर्काउने परम्परासँग जोडिएको सोच हो ‘अ‍ैंचोपैंचो’। अहिले पनि ग्रामीण भेगमा छिमेकीहरूमा यस्तो ‘अ‍ैंचोपैंचो’ चलिरहन्छ। यही सोचलाई नेपाली काँग्रेस काठमाडौँका नेता राजु श्रेष्ठले कोरोनाले अति नै प्रभाव पारेको बेलामा काठमाडौँमा सुरु गरेका थिए। काठमाडौँ काँग्रेस क्षेत्र नम्बर ४का सभापति समेत रहेका श्रेष्ठले सुरु गरेको यो अभियानले यस क्षेत्रका स्थानीयलाई मात्र नभई देशकै विभिन्न भागका नागरिकलाई सेवा दिएको छ। अ‍ैंचोपैंचो अभियानले महामारीका बेला सयौँ मानिसलाई सेवा प्रदान गरेको छ ।

कोरोना भाइरसको महामारीको दोस्रो लहरमा देशभर दैनिक सयौँ जनाले ज्यान गुमाए । हरेक व्यक्ति मानसिक, आर्थिक र सामाजिक रूपले सङ्कटमा डुबे । कुनै सङ्क्रमितले उपचार गर्न पाएनन्, त कुनैले जाँच गर्न समेत सकेनन् । यस्तो विषम परिस्थितिमा अ‍ैंचोपैंचो अभियान सुरु भएको थियो । यही अभियानबाट सयौँ मानिसले उपचार पाए, घरमै निःशुल्क औषधि पाए र दर्जनौँ मानिसको ज्यान जानबाट रोकियो ।

कसरी सुरु भयो अ‍ैंचोपैंचा अभियान ?
राजनीतिलाई सेवा ठान्ने श्रेष्ठले महामारीको दोस्रो लहर सुरु हुने बित्तिकै अ‍ैंचोपैंचो अभियान सुरु गर्न खाका तयार पारेका थिए। दैनिक सयौँ मानिसले अक्सिजन नपाएर ज्यान गुमाइरहेका बेला उनले देशभरिका नागरिकका लागि नसके पनि आफू रहेको क्षेत्रका नागरिकको जीवन भने जोगाउनु पर्छ भनेर अभियान अघि सारेको बताए । यसका लागि उनले कोरोना सङ्क्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने खाका बनाए । जस अनुसार काठमाडौँ क्षेत्र नम्बर ४ का नागरिकका लागि एम्बुलेन्स, आइसोलेसन सेन्टर, निःशुल्क औषधि, सामान्य अवस्थाका सङ्क्रमितका लागि घरमै फोन परामर्श र उपचारका लागि अस्पतालमा आइसियु र भेन्टिलेटरको आवश्यकता पहिलो नम्बरमा रह्यो ।

यो अभियान एक्लैको हातले सञ्चालन हुन सक्ने अवस्था नहुँदा सहयोगी सदस्य र स्वयंसेवकको व्यवस्था मिलाउनु अर्को चुनौती बन्यो । निषेधाज्ञाका कारण चिने जानेका साथीहरूको गाडी खाली अवस्थामा घरमै हुँदा उनीहरूको सहयोगबाट ६ गाडी र १ एम्बुलेन्सको व्यवस्था श्रेष्ठले गरे । ६ प्राइभेट गाडीसहित ७ एम्बुलेन्सको व्यवस्था भएपछि अब, २४ घण्टा चलाउन उपस्थित हुने चालकको खोजी अर्को चुनौती बन्यो ।

७ चालक र उनीहरूको व्यक्तिगत स्वास्थ्य सुरक्षा र आइसोलेसन सेन्टरको व्यवस्था सहित एम्बुलेन्स सञ्चालनमा ल्याउन निकै मेहनत परेको उनीसँगै सहकार्य गरेकाहरू बताउँछन् । एम्बुलेन्स सञ्चालनमा ल्याएसँगै आइसोलेसन केन्द्र र विभिन्न अस्पतालमा उपचार गर्नुपर्ने अवस्थाका लागि समेत ‘अ‍ैंचोपैंचो’ ले सम्पर्क बनायो ।

घरमै बसिरहेका सङ्क्रमितहरूको स्वास्थ्य परामर्शका लागि चिकित्सकहरूको व्यवस्था समेत गरियो । चिकित्सकहरूलाई २४ घण्टा जुनसुकै नागरिकले स्वास्थ्य परामर्शका लागि फोन गर्न सक्थे । यो टिमका संयोजक थिए डा. प्रणय शमशेर राणा ।

अभियानबाटै परिवारका सबै संक्रमित एवं औषधि किन्न नसक्ने अवस्था भएकाहरूका लागि निःशुल्क रूपमा औषधि घरमै पुर्‍याउने व्यवस्था समेत भयो । यो सबै खाका अनुसारको योजना एक हप्तामै बन्यो र सञ्चालनमा आयो राजु श्रेष्ठले नेतृत्व गरेको अ‍ैंचोपैंचो अभियान ।

युवा जोस जाँगर र समाजका लागि केही गर्नुपर्छ भन्ने युवा स्वयंसेवक र अ‍ैंचोपैंचोका सदस्यहरूले अभियान सफल पार्न ठुलो सहयोग गरे । यसरी महामारीको दोस्रो लहर सुरु भएको एक हप्ताभित्रमा काठमाडौँ क्षेत्र नम्बर ४ मा सञ्चालनमा आएको थियो अ‍ैंचोपैंचो अभियान ।

कति सफल भयो अ‍ैंचोपैंचो ?
देशभर महामारीका बेला सामान्य गाडी त परको कुरा एम्बुलेन्स नै नमिलिरहेका बेला काठमाडौँ क्षेत्र नम्बर ४ मा मात्रै ७ वटा एम्बुलेन्स सञ्चालनमा थिए । निजी गाडीसहित सञ्चालनमा आएका ७ एम्बुलेन्सबाट सो क्षेत्रका करिब साढे ४ सय सङ्क्रमितले सेवा लिए । यस्तै, करिब २० सङ्क्रमितको परिवारले निः शुल्क रूपमा घरमै औषधि र स्वास्थ्य परामर्शको सुविधा पाए ।

यस्तै विशेषज्ञ परामर्श तथा डाक्टर सेवातर्फ महिला र पुरुष गरी ७६ जनाले सेवा लिएका छन् । जसमा २० देखी २९ वर्ष सम्मका ८ जना, ३० देखी ३९ वर्षसम्मका १६ जना, ४० देखी ५९ सम्मका १८ जना तथा ५० देखी ५९ सम्मका १६ जनाले उक्त सुविधा लिएका थिए । यसमा अ‍ैंचोपैंचोबाट डा. प्रणय शम्शेर जबराको टिम खटिएको थियो ।

यस्तै अस्पताल भर्ना गर्नु परेका सङ्क्रमितको लागि अ‍ैंचोपैंचोकै टिमले आइसियु तथा भेन्टिलेटरको सुविधा समेत गर्‍यो । यसबिचमा चालक, स्वयंसेवक, अ‍ैंचोपैंचोका सदस्यलगायतको स्वास्थ्य सुरक्षाका लागि पिपिई, आइसोलेसनमा बस्ने ठाउँलगायतको व्यवस्था समेत टिमले गर्‍यो । काठमाडौँ क्षेत्र नम्बर ४मा काँग्रेस नेता गगन थापाले पनि आइसोलेसन सेन्टर, एम्बुलेन्स सेवा, फोनमा डाक्टरको परामर्श सेवा लगायतका सेवाहरू उपलब्ध गराइरहेका थिए।

सबैले सिक्नु पर्ने पाठ
अ‍ैंचोपैंचोको सफल प्रयोगले अहिले यसका अभियन्ता श्रेष्ठ सहितका स्वयंसेवकहरूलाई उत्साहित बनाएको छ । दूरगामी सोच, स्रोत साधनको व्यवस्थापन र सञ्चालन, सामाजिक पुँजी व्यवस्थापन र मानवीय स्रोत पहिचान तथा सञ्चालन गर्न सके यस्ता अभियानहरू अन्य ठाउँमा पनि सफल हुने श्रेष्ठ बताउँछन् ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा काठमाडौँ जिल्लाको सभापतिको उम्मेदवार रहेका श्रेष्ठले अहिले निषेधाज्ञा खुकुलो भएसँगै अ‍ैंचोपैंचो अभियानले विश्राम लिएको बताएका छन् । कोरोना महामारीको तेस्रो लहर आएको अवस्थामा फेरि अ‍ैंचोपैंचो अभियान सञ्चालन हुने उनको भनाइ छ । निषेधाज्ञा खुकुलो भएसँगै असार १० गते अ‍ैंचोपैंचो अभियानले विश्राम लिएको थियो ।

अ‍ैंचोपैंचो अभियान अन्तर्गत प्रसाद वितरण कार्यक्रममा विभिन्न वाल आश्रम तथा बृद्धाश्रमहरुमा दैनिक भोजन गराइएको थियो । यस अवधिमा १ हजार ९७७ जनालाई भोजन प्रदान गरिएको थियो । यसरी महामारीका बेला अघि सारिएको कार्यक्रमले समाजलाई ठुलो राहत दिएको अ‍ैंचोपैंचो अभियानकै सदस्य सागर लुइँटेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ