arrow

फेरि स्थगित भयो कांग्रेस पदाधिकारी बैठक, यस्तो छ चुनौती 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
congress-leaders.jpeg
तस्वीर–फाइल ।

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक लगातार दोस्रो दिन पनि स्थगित भएको छ । बुधबार बस्ने भनिएको बैठक सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण स्थगित गरी बिहीबारका लागि बोलाइएको थियो । 

तर बिहीबारको लागि बोलाइएको बैठक पनि देउवाकै कार्यव्यस्तताका कारण सरेको छ । बैठक अब शुक्रबार दिउँसो २ बजे बस्ने कांग्रेस पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा सरकारका प्राथमिकता, मन्त्रिपरिषद् विस्तार र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्ने तयारी रहेको छ । सर्वोच्च अदालतले गत सोमबार फैसला सुनाउँदै संसद ब्यूँताएर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेसँगै मंगलबार राति देउवाले शपथ लिएका छन् । 

हाल उनले कांग्रेस र सत्ता साझेदार माओवादी केन्द्रबाट दुई–दुई जना मन्त्री समेटेर मन्त्रिमण्डल गठन गरेका छन् । मन्त्री हुनका लागि कांग्रेसभित्र आकांक्षी धेरै छन् । त्यस्तै माओवादी केन्द्रसँगै अर्को सत्तासाझेदार जनता समाजवादी पार्टीलाई पनि समेट्नु पर्नेछ । 

चित्त बुझ्दो मन्त्रालय दिएर ३० दिनभित्र विश्वासको मत जित्न देउवालाई निकै मेहनत गर्नुपर्नेछ । त्यस्तै एमालेको माधवकुमार नेपाल पक्षसँगै जसपाको महन्थ ठाकुर पक्षसँग पनि सहकार्य गर्नुपर्नेछ । 

देउवाले यो विषयसँगै पार्टीको १४ औं महाधिवेशनमा कसरी जाने भन्नेबारेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई समेटेर छलफल गरेर थप रणनीति बनाउने योजना बनाएका छन् । 

कांग्रेसमा असारभित्रै क्रियाशील सदस्यता विवाद टुंग्याउने भनिएको छ । बिहीबार अन्तिम दिन भनिए पनि विवाद अझै सुल्झेको छैन । विवादकै कारण बारा जिल्लाका नेता तथा कार्यकर्ता विगत पाँच दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नारत छन् । 

सबैलाई सम्वोधन गरेर अगाडि बढ्न देउवाले त्याग गर्नुपर्ने आवाज पनि उठिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ