arrow

माओवादीबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने बारेमा विवाद

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असार ३० बुधबार
maoist-cpn.jpg
फाइल तस्बिर

काठमाडौँ। पाँच दलीय गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने बारेमा विवाद सुरु भएको छ। काँग्रेससँगको सहकार्यमा माओवादी केन्द्रको तर्फबाट पार्टी प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले मन गरेको भए पनि प्रचण्डले तत्काल मन्त्रालय नटुङ्गिएको भन्दै रोकेपछि विवाद सुरु भएको हो।

मङ्गलवार बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले तत्काललाई जनार्दन शर्मा र पम्फा भुसाललाई मात्रै मन्त्री बनाएर पठाउने अहिले मन्त्रालय टुङ्गो लागिसकेको छैन भनेपछि सरकारको नेतृत्व जनार्दन शर्माले नै गरेका हुन कि भन्ने अनुमान गरिएको छ। तर परराष्ट्र, भौतिक जस्ता महत्त्वपूर्ण मन्त्रालय बाँकी रहेकाले त्यसमा माओवादीले उपप्रधानमन्त्रीसहित दाबी गरिरहेको छ।

‘उपेन्द्र यादवले पनि उपप्रधानमन्त्री सहितको महत्त्वपूर्ण मन्त्रालय दाबी गरेकाले माओवादीमा श्रेष्ठले सम्हाल्ने मन्त्रालय बाँकी नरहने हुँदा उनको सरकारमा जाने रहर मात्रै होला’, माओवादी निकट स्रोतले भन्यो। माओवादीमा पहिलो चरणमै मन्त्री हुन खोजेका देवेन्द्र पौडेललाई पनि मन्त्रालय नटुङ्गिएको भन्दै रोकिएको छ।

रामबहादुर थापा बादल समूहलाई प्रचण्ड खेमामा आएकी भुसाललाई र प्रचण्डका विश्वासपात्रका रूपमा रहेका शर्मालाई भने पहिलो चरणमै मन्त्री बनाएर पठाएका छन्। शर्माले गृहमा रहर गरेको भए पनि गृह काँग्रेस आफैले राखेपछि शक्ति सन्तुलनका लागि माओवादीलाई अर्थ र ऊर्जा जस्ता महत्त्वपूर्ण मन्त्रालय दिइएको छ।

माओवादीले परराष्ट्र र भौतिक योजना पनि मागिरहेकाले नारायणकाजी श्रेष्ठ पनि मन्त्री बन्ने सम्भावना रहेको छ। ‘नारायणकाजी श्रेष्ठको रहर परराष्ट्र र भौतिक योजना मन्त्रालयमा पनि छ यी दुई मध्ये एक मन्त्रालय पाए उहाँ उपप्रधानमन्त्री सहित सरकारमा जाने सम्भावना रहेको छ’, माओवादी निकट स्रोतले भन्यो। 

एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेका मन्त्रीलाई माओवादीले यस पटक प्राथमिकतामा राखेको छैन। वर्षमान पुन, शक्ति बस्नेत, विना मगरलाई मन्त्री नबनाउने तर देव गुरुङ, चूडामणि खड्कालाई मन्त्री बनाउन चाहिरहेका छन्।

हरिबोल गजुरेल पनि मन्त्री बन्ने लाइनमा भए पनि नेकपा कालमा ओलीतिर निकट रहेकाले उनलाई प्रचण्डले परीक्षण कालमा राखेको स्रोतको दाबी छ। प्रचण्डकै पूर्व बडी गार्ड हेमकुमार राई पनि मन्त्रीका लागि दौडधुप गरिरहेका छन्। यद्यपि उनीभन्दा सिनियर गणेशमान पुन र उनकी श्रीमती कमला रोका मगर पनि मन्त्री माओवादीबाट मन्त्रीको दाबी गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ