arrow

परराष्ट्र मन्त्रीमा विनोद चौधरी उपयुक्त पात्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
Binod-chaudhary-inf.jpg
तस्वीर–फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचौं कार्यकाल सरकारको नेतृत्व गरिरहँदा उनीमाथि यसअघिका कार्यकालभन्दा सशक्त ढङ्गले आफूलाई स्थापित गर्ने चुनौती रहेको छ । देशको वर्तमान परिस्थितिप्रति जुधेर अगाडि बढ्नका लागि उनीमात्र हैन उनको टिम नै सशक्त हुनुपर्नेमा दुईमत छैन । त्यसका लागि उनले हरेक मन्त्रालयको नेतृत्व विद्धत र दूरदृष्टि भएको उपयुक्त पात्र खोज्नुपर्नेछ । 

गठबन्धन सरकार हुने भएकाले केही असन्तुलन हुन सक्छ । तर कांग्रेसको नेतृत्व भए पनि यसमा जोडिएर आएको नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पनि उपयुक्त पात्र सम्बन्धित मन्त्रालयमा पठाउन सक्ने हो भने सरकारमात्र सफल हुने छैन देशको समृद्धि पनि हुनेछ । 

यतिबेला कोरोना भाइरसको महामारीले देश आक्रान्त छ । महामारी फैलन नदिन एकमात्र विकल्प कोरोनाविरुद्धको खोप नै हो । निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले करिब १४ लाख वृद्धवृद्धालाई बीच बाटोमा ल्याएर छोड्यो । कमिशनको चक्करमा लागेर ओली सरकारले भारतबाट किनेको कोभिशिल्ड खोप नल्याइदिँदा पहिलो डोज लगाएर बसेकाहरु दोस्रो डोजको प्रतिक्षामा छन् । तर १६ हप्ता कटिसक्दासमेत उनीहरु खोप पाउनबाट बञ्चित छन् । फेरि देउवा सरकारको मन्त्रिपरिषदको पहिलो निर्णय नै चैतसम्म सबै खोप लगाउन योग्य नेपालीलाई खोप लगाइसक्ने निर्णय गरेको छ । 

देउवा सरकारले यो अभियानलाई सफल बनाउन सबैभन्दा सशक्त हुनुपर्ने परराष्ट्र मन्त्रालय हो । नेपालमै कोरोनाको खोप उत्पादन नहुने भएकाले पनि उत्पादनकर्ता मुलुकसँग सहकार्य गर्नु महत्वपूर्ण छ । त्यो विदेश कुटनीतिमा सफल व्यक्ति नै परराष्ट्र मन्त्री बन्ने हो भने उसले जसरी पनि खोप नेपालमा ल्याउनेमा दुईमत छैन । 

त्यस्तो उपयुक्त व्यक्ति यतिबेला नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरी हुन सक्छन् । कोरोनाको कहरमात्र हैन छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध सुधार गरी थप सशक्त भएर लाग्नुपर्नेसँगै मिलेर जानुपर्ने चुनौती परराष्ट्र मन्त्रीलाई छ । त्यस्तै अन्य राष्ट्रहरुसँग पनि मैत्रिपूर्ण सम्बन्ध कायम गर्नुका साथै बिग्रिएको सम्बन्धलाई स्थापित गर्नुपर्ने जिम्मेवारी परराष्ट्र मन्त्रीको काँधमा छ । 

यसका लागि नेपालकै सबैभन्दा लब्धप्रतिष्ठित व्यापारिक घरानिया चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी उपयुक्त हुन सक्छन् । किनकि उनको ब्राण्ड विश्वभर फैलिएको छ । उनले आफ्नो ब्राण्डलाई विश्वभर चिनाएका छन् र आफू पनि चिनिएका छन् । उनको त्यो लोकप्रियता अब देशका लागि जरुरी देखिएको छ । यो चौधरीका लागिमात्र हैन सरकारका लागिसमेत सहयोगी हुन सक्छ । 

अहिले परराष्ट्र मन्त्रालयमा को आउँछ भन्ने चाँसो भइरहँदा सम्बन्ध स्थापित गरी सबैभन्दा ठूलो आवश्यकता पूर्ति गर्ने काममा चौधरीले अहम् भूमिका खेल्न सक्छन् । उनको व्यापारिक कुटनीतिले परराष्ट्र कुटनीतिलाई पनि मद्धत पुर्याउन सक्छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि सुधार गर्नका लागि आफ्नो विश्वभर नै ब्राण्ड बनाइसकेका चौधरी उपयुक्त हुने भनी चर्चासमेत शुरु भएको छ । कांग्रेसभित्र पनि उनको चर्चा हुन थालेको छ । 

हुनत उनी अर्थ मन्त्री बन्न सक्ने प्रवल सम्भावना देखिएको थियो । उद्योगपति भएकै नाताले उनको पकड अर्थ मन्त्रालयमा हुन सक्थ्यो । उद्यम क्षेत्रका चौधरीको अर्थ मन्त्रालयको नेतृत्वमा चर्चा भए पनि राजनीतिक समीकरणका कारण त्यो सम्भव भएन। मंगलबार बिहानभरि अर्थ मन्त्रालय कसले लिने भन्ने चर्चा चल्यो । सरकारले पूर्ण बजेट ल्याउनका लागि अर्थ मन्त्रालय कांग्रेसले राख्ने भनियो । बजेटमा आफ्नो अनुकुलका कार्यक्रम थप्ने सम्भावना बढी हुने थियो । 

तर चुनावमा जाने बाध्यकारी अवस्था आउने सम्भावना देखिएसँगै गृह मन्त्रालय काँग्रेसले लिनुपर्छ भन्ने भएपछि देउवा पार्टीको शीर्ष तहमा छलफल गरेर गृह मन्त्रालय लिने निर्णयमा पुगेका थिए। गृहमन्त्रीका लागि उपयुक्त पात्र  बालकृष्ण खाँण हुने ठहर पछि उनलाई ल्याइएको छ। तरुण दलको कमाण्ड गरेर आइसकेका खाँण यसअघि रक्षा मन्त्रालय सम्हालेर आइसकेका छन् । हक्की स्वभावका खाँडले फौजी संरचनासहित प्रशासनिक समेत रहेको गृहमन्त्रालय सम्हाल्न देउवाले उनलाई अगाडि सारेका हुन् । 

यता कांग्रेसले अर्थ मन्त्रालय नलिएपछि चौधरीको नाम हट्यो । अर्थ मन्त्रालय भागबन्डामा माओवादी केन्द्रलाई गयो । पूर्व गृहमन्त्री एवं पूर्व उर्जामन्त्री जनार्दन शर्मा अर्थमन्त्री भए ।  

अब परराष्ट्र मन्त्री बलियो बनाउनु पर्नेछ । त्यसका लागि विनोद चौधरी उपयुक्त पात्र हुन सक्छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका लागि पनि अन्तर्राष्ट्रिय स्तरमा आफैले लबिङ गर्ने अवस्था नहुँदा चौधरीले त्यो भूमिका निभाउन सक्छन् । सांसदका रुपमा चौधरी अहिलेसम्म दुई कार्यकाल रहे । तर चौधरी अहिलेसम्म मन्त्री भएका छैनन् । सरकारले नयाँ अनुहारलाई पनि अनुभवका आधारमा प्राथमिकता दिने अवस्थामा चौधरी उपयुक्त हुन सक्छन् । नयाँ अनुहारलाई मन्त्री बनाउँदै गर्दा देशभित्रको नयाँ पुस्ता पनि उत्साही हुने देखिन्छ । 

त्यतिमात्र हैन उनको अनुभव र विदेशमा रहेको चौधरी ग्रुपको ब्राण्डका कारण पनि उनले परराष्ट्र मन्त्रालय सम्हाल्न सक्छन् भन्ने आँकलन हुन थालेको छ । नेपाली कांग्रेसका सभापति देउवासँगै महामन्त्री डा. शशांक कोइरालासँगसमेत निकट रहेका उनी परराष्ट्र मन्त्रीका लागि साझा पात्र हुन सक्छन् । 

उनी कांग्रेसका तर्फबाट मधेसी कोटामा समानुपातिकमा एक नम्बरमै परेका थिए । अहिले मन्त्री बनाउँदा पनि उनलाई समग्र मधेसीमूलकै प्रतिनिधि बनाउन सकिन्छ । त्यतिमात्र हैन अन्तर्राष्ट्रिय स्तरमा नेपाली ब्राण्ड बनेका उनलाई परराष्ट्र मन्त्री बनाउँदा विदेशी लगानीकर्ताहरुका लागि पनि उपयुक्त अनुहार हुन सक्छ । विदेशी लगानीकर्ता भित्र्याउन उनी सबैभन्दा सफल हुने विश्वास पनि गर्न सकिन्छ । 

नेपालको निजी क्षेत्रलाई समेत सही ढङ्गले विश्वासमा लिन सक्ने अवस्था सिर्जना हुन सक्ने कारणले समेत उनलाई मन्त्री बनाउनु पर्ने माग निजी क्षेत्रबाट उठेको छ । उनी नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्षका साथै नेपाल उद्योग परिसंघका संस्थापक अध्यक्षसमेत हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ