पारदर्शी र प्रतिस्पर्धात्मक लगानी वातावरण आवश्यक [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
170
Shares
काठमाडौँ । उद्योगपति विनोद चौधरीले सीमित समूहले स्रोतसाधन कब्जा गर्ने विगतको प्रवृत्तिलाई अन्त्य गर्ने सरकारको योजना सकारात्मक रहेको बताएका छन्।
उनले पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले विकास परियोजना अघि बढाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल उद्योग परिसंघले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै चौधरीले प्रशासनिक, कानूनी, न्यायिक तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा सुधारको प्रक्रिया अघि बढेको उल्लेख गर्दै त्यसलाई थप तीव्रता दिनुपर्ने बताए।
उनले मुलुकमा सुधार र आशावादको वातावरण सिर्जना भए पनि त्यसलाई ठोस लगानी र परियोजनाको कार्यान्वयनमा रूपान्तरण गर्न आवश्यक रहेको धारणा राखे।
ऊर्जा क्षेत्रलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै चौधरीले विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) को प्रतीक्षामा रहेका हजारौं मेगावाट क्षमताका आयोजनाहरू लामो समयदेखि रोकिएको बताए।
दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि पीपीए प्रक्रिया अपेक्षित रूपमा अघि बढ्न नसकेको भन्दै उनले पाँच हजार मेगावाटभन्दा बढी क्षमताका परियोजना प्रभावित भएको उल्लेख गरे।
उनले विगतमा सीमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई अन्त्य गर्दै पारदर्शी र प्रतिस्पर्धात्मक आधारमा परियोजना अघि बढाउने सरकारको प्रतिबद्धता सकारात्मक रहेको बताए।
"अब यो प्रक्रिया सकेसम्म छिटो कार्यान्वयनमा जान आवश्यक छ," उनले भने।
पर्यटन क्षेत्रका सम्बन्धमा पनि सकारात्मक संकेत देखिएको उल्लेख गर्दै चौधरीले पछिल्ला नीतिगत दृष्टिकोण र एजेन्डालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सकारात्मक रूपमा हेरिएको बताए।
यस्ता पहलले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ।
निजी क्षेत्र लगानीका लागि पूर्ण रूपमा तयार रहेको बताउँदै चौधरीले नेपालमा लगानीयोग्य पूँजी र सक्षम जनशक्तिको अभाव नरहेको धारणा राखे।
मुलुकमा देखिएको सकारात्मक परिवर्तनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आशाको वातावरण सिर्जना गरेको र ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू नेपालमा लगानी तथा नयाँ परियोजना अघि बढाउन इच्छुक रहेको उनले बताए।
उनले सरकारका योजना, प्रतिबद्धता र नीतिगत सुधारलाई छिटो कार्यान्वयनमा लैजान सके मुलुकले अपेक्षित आर्थिक रूपान्तरण हासिल गर्न सक्ने बताए।