arrow

पाँच मन्त्रालय सम्हालेका मन्त्री गए, भने -सिक्ने मौका पाए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
krishna-gopal.jpg

काठमाडौं ।  पाँच मन्त्रालयको नेतृत्व समालेका मन्त्री कृष्णगोपाल श्रेष्ठ मंगलवारबाट बिदा भए । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, युवा तथा खेलकूद र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले उनलाई बिदाइ गरेका हुन् । 

मन्त्री श्रेष्ठले १९ दिनमा शिक्षा मन्त्रालयबाहेक चार मन्त्रालयमा करिब एक दर्जन बढी काम गरे । बिदाइ समारोहमा उनले अमेरिकी सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपहारस्वरुप दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप ल्याउन आफू सफल भएको भन्दै चीनबाट करीब ४० लाख खोप खरिद गर्न सम्झौता गरिसकेको बताए । स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेलगत्तै उनले यो वर्षभित्र सबै नागरिकलाई खोप उपलब्ध गर्ने प्रतिबद्धता जनाए ।  

कार्यभार सम्हालेकै दिन चीनबाट खोप खरिद गर्ने सम्झौता गरेका मन्त्री श्रेष्ठले त्यसको एक साताभित्र आठ लाख मात्रा खोप ल्याए  । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मन्त्री श्रेष्ठको कार्यशैलीका कारण काम गर्न सहज भएको बताए । उनको कार्यकालमा तीन मुलुकबीचको फुटबल खेलमा पहिलो स्थान हासिल गर्ने फुटबल खेलाडीलाई नगद पुरस्कार र युवा परिषद्को बैठक सम्पन्न भएको थियो । 

मन्त्री श्रेष्ठले गत असोज २९ गतेबाट शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए  । गत पुस १२ गतेबाट शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका मन्त्री श्रेष्ठले मन्त्रालयअन्तर्गत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको गत वर्ष स्थगित कार्यक्रमलाई  सम्पन्न गरे। उनको कार्यकालमा विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिसहितका पदाधिकारी नियुक्त भएको थियो । 

मन्त्री श्रेष्ठले आफूले जे जस्तो काम गरे मन्त्रालयका सचिवलगायत कर्मचारीको सहयोगले सम्भव भएको बताए । “सबै क्षेत्रमा आमूल परिवर्तन गर्ने सोच थियो, तर कम समय भएकाले सम्भाव भएन, जति काम सम्पन्न गरे, त्यसमा मलाई खुशी लागेको छ”, उनले भने, “पाँच वटा मन्त्रालयको बारेमा सिक्ने मौका पाए, एक पटकमा पाँच मन्त्रालयको जिम्मा पाएर इतिहास कायम गर्न सफल भएको महसुस गरेको छु ।”
  
कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले आफूले १४६ दिनसम्म काम गर्ने मौका पाउँदा मन्त्री श्रेष्ठसँग धेरै विषयमा जानकारी हासिल गर्न पाएको बताए । तीनदिन अघि मात्रै विज्ञान मन्त्रालयको कार्यभार सम्हाल्नुभएका विज्ञान सचिव सुरेश आचार्यले मन्त्रीको कार्यशैलीको बारेमा आफूलाई जानकारी भएको बताए । 
 
युवा मन्त्रालयका सचिव केदार न्यौपाने, श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, वन मन्त्रालयका सचिव प्रेम कँडेल, स्वाथ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल र शिक्षा मन्त्रालयका सचिवद्वय रामप्रसाद थपलिया र सुरेश आचार्यले बिदाइ भएर जान थाल्नुभएका मन्त्रीलाई आगामी यात्राको शुभकामना व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ