arrow

काँग्रेस १४औं महाधिवेशन

कसरी छानिन्छ नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि, कसरी चयन हुन्छ केन्द्रीय समिति ? 

यस्तो छ नेपाली काँग्रेसको निर्वाचन प्रक्रिया 

logo
युवराज गौतम,
प्रकाशित २०७८ असार २४ बिहिबार
congess-election-process-ward-central.jpg

काठमाडौं। नेपाली काँग्रेसको १४औं महाधिवेशन सन्निकट छ । महाधिवेशनमा उम्मेदवार बन्न चाहने आकाङ्क्षीहरू पनि धमाधम खुल्न थालेका छन् । महाधिवेशनका लागि वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म नै आकाङ्क्षीहरूको चर्चा शुरु भएको छ । यस पटक देशको संविधानले परिकल्पना गरेको सङ्घीय संरचना अनुसार पहिलो पटक काँग्रेसको महाधिवेशन हुन लागेको हो । 

काँग्रेसले यस पटक आफ्नो संशोधित विधान अनुसार वडा तहदेखि केन्द्रीय तहसम्म गरी आठ वटा संरचनाका लागि निर्वाचन गर्दै नेतृत्व चयन गर्ने छ । काँग्रेसको विधान अनुसार आठ तह मध्ये सबै भन्दा तल्लो तह वडा तह हो । वडा तहको कार्यसमिति क्रियाशील सदस्यहरूबाट छानिन्छन् । 

क्रियाशील सदस्य भने साधारण सदस्यहरूमध्येबाट पार्टीले तय गरेको मापदण्ड अर्थात् विधानको धारा ४(१) बमोजिम छनौट हुन्छन् । यद्यपि यो वास्तविक रूपमा व्यवहारमा देखिन्न। क्रियाशील सदस्य नै काँग्रेसको प्रारम्भिक सदस्यता जस्तो भएको छ। काँग्रेस विधान अनुसार क्रियाशील सदस्यले वडा समिति, क्षेत्रीय प्रतिनिधि र स्थानीय तह अन्तर्गत गाउँ तथा नगर समितिका लागि मतदान गर्न पाउँछन् । 

त्यसपछि क्रियाशील सदस्य मध्येबाट छानिएका क्षेत्रीय प्रतिनिधिले अगाडीको निर्वाचन प्रक्रियामा सहभागी हुन पाउँछन् । वडा तहमा कूल १ सय ५० क्रियाशील सदस्य रहेको वडा तहमा प्रत्यक्षतर्फबाट तीन महिलासहित ९ जना, समानुपातिक समावेशीतर्फबाट ६ जना र १ जना वडा सभापतिसहित १६ जना क्षेत्रीय प्रतिनिधि एक वडाबाट चयन हुन्छन् । 

यस्तै १ सय ५० भन्दा बढी क्रियाशील सदस्य भएमा प्रत्येक एक सय क्रियाशील सदस्य बराबर ७५ को सीमा भित्र रही समावेशी आधारमा थप १० प्रतिनिधि क्रमशः चयन हुने विधानमा व्यवस्था छ । यसरी चयन हुने क्षेत्रीय प्रतिनिधिले अघिल्ला नेतृत्व छान्न मतदान गर्न पाउँछन् । यसरी छानिएका क्षेत्रीय प्रतिनिधिले आफ्नो प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’ र ‘ख’ मध्ये सम्बन्धित क्षेत्रमा नेतृत्व छान्नका लागि मतदान गर्न पाउँछन् । यस्तै सोही प्रतिनिधिले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति चयन गर्न मतदान गर्न पाउँछन् ।

प्रदेश अधिवेशनका लागि प्रतिनिधि छान्ने प्रक्रियामा पनि क्षेत्रीय प्रतिनिधिको भूमिका रहन्छ । यसैगरी क्रियाशीलबाटै छानिएर आएका क्षेत्रीय प्रतिनिधिले नै प्रदेश प्रतिनिधि छान्न पाउँछन् । उनीहरूकै मतदानको प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमिति समेत चयन हुन्छ। 

क्रियाशील सदस्यबाट छानिएर आएको क्षेत्रीय प्रतिनिधिले निर्वाचनबाट चयन गरेको महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्य चयन गर्ने प्रक्रियामा पनि मतदान गर्न पाउँछ । त्यसपछि क्रियाशील सदस्यबाट छानिएर आएका क्षेत्रीय प्रतिनिधि मध्येबाट प्रदेश अधिवेशनका लागि चयन भएका प्रदेश प्रतिनिधिले फेरी प्रदेश कार्यसमितिको नेतृत्व चयन गर्ने प्रक्रियामा मतदान गर्न पाउँछ भने सोही प्रक्रियाबाट छानिएर आएका महाधिवेशन प्रतिनिधिले महाधिवेशनमा केन्द्रीय कार्यसमितिको नेतृत्व चयन गर्नका लागि मतदान प्रक्रियामा सहभागी हुन पाउने छन् । 

यो प्रक्रियामा एक भन्दा बढी निर्वाचन क्षेत्र रहेको जिल्लाबाट सङ्घीय संरचनाको क्षेत्रीय समितिका सभापति महाधिवेशनका लागि पदेन मतदाता हुनेछन् भने सबै जिल्ला तथा विदेशस्थित जनसम्पर्क समितिका सभापति र भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरू पनि पदेन महाधिवेशन प्रतिनिधि हुन्छन्। काँग्रेसले कतिपय भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशन प्रतिनिधिको कोटा समेत प्रदान गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ