ठाकुरले आयोगमा बुझाएको पत्रमा राजकिशोर र अमृताले गरेनन् हस्ताक्षर, उठे अनेक सवाल
हाम्रा कुरा
प्रकाशित २०७८ असार १९ शनिबार
805
Shares
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग निकट देखिएका २ कार्यकारिणी सदस्य राजकिशोर यादव र अमृता अग्रहरीले ठाकुरको साथ छाडेका छन् ।
ठाकुरका साथ छाडेका राजकिशोर यादव पूर्व राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य समेत हुन् भने अग्रहरी प्रतिनिधि सभा सदस्य तथा जसपाको कार्यकारिणी समितिकी सदस्य हुन् ।
निर्वाचन आयोगमा आधिकारिकताको दावी गर्दै पठाइएको दस्तावेजमा ठाकुरको पक्षमा राजकिशोर र अमृता अग्रहरीले हस्ताक्षर गर्न मानेका छैनन् । आयोगमा पठाएको डकुमेण्टबारेमा आफूलाई थाहा नभएको र त्यसमा आफूले हस्ताक्षर पनि नगरेको अग्रहरीले बताइन ।
राजकिशोर र अमृता अहिले पुरानो राजपाको पार्टी कार्यालय बबहरमहलमा जाने गर्दैनन । ठाकुर पक्षले बबरमहलस्थित पुरानो राजपाको कार्यकालयलाई आफ्नो पार्टी कार्यालय बनाएको छ ।
ठाकुर पक्षले बोलाएको कार्यकारिणी समित र विघटित जसपाको संसदीय दलको बैठकमा पनि राजकिशोर र अमृता पुगेनन । राजकिशोर निकट एक नेताले भने, ‘उहाँ जसपा विभाजन हुनुहुन्न भन्ने पक्षमा हुनुहुन्छ । त्यसैले उहाँले ठाकुरलाई साथ नदिनु भएको हो । यसको मतलव उहाँ उपेन्द्रको पक्षमा पुग्नुभएको भने होइन् ।'
राजकिशोर यादव दोश्रो चरणमा मन्त्री भएका थिए । राजेन्द्र महतोले चाहेको उद्योग वाणिज्य मन्त्रालय राजकिशोरलाई दिइएको थियो । राजकिशोरको सपथ ग्रहण कार्यक्रममा राजेन्द्र महतो पुगेका थिएन । यसैगरी राजकिशोर मन्त्री भए पछि त्यसको भोलिपल्ट पार्टी कार्यालयमा गरिएको बधाइ तथा शुभकामना कार्यक्रममा महतो पुगेका थिएनन् ।
स्रोतका अनुसार, महताको सिफारिशमा पहिलो चरणमा राजकिशोरको नाम काटिएको थियो । पछि प्रधानमन्त्रीकै चाहनामा राजकिशोरलाई मन्त्री बनाइएको स्रोतको दावी छ । मन्त्रीमा नियुक्ति हुनुभन्दा अघिल्लो दिन राजकिशोरले प्रधानमन्त्रीसँग वार्ता गरेका थिए ।
निर्वाचन आयोगले यही असार २२ गते उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष दुबैलाई आयोगमा बोलाएको छ । आयोगमा दुबैले आफू आधिकारिक भएको दावी गरेका छन् । उपेन्द्रले आफ कार्यकारिणीमा बहुमतमा रहेको भन्दै आफैंले आधिकारिकता पाउनु पर्ने माग राखेका छन् ।
ठाकुरले कार्यकारिणी फेरबदल र पुनगर्ठन गर्ने अधिकार उपेन्द्र यादवकै सहमतिमा २०७७ पुस ७ गते आफूलाई दिइएको दावी गर्दै कार्यकारिणी समिति फेरबदल गरेको चिठी आयोगमा बुझाएका छन् ।
आयोगमा बुझाएको चिठीमा ठाकुरले उपेन्द्र यादव पक्षका २० जना कार्यकारिणी समितिका सदस्यहरुलाई हटाएर त्यसको ठाउमा आफू निकट कार्यकारिणी सदस्य थप गरेका छन् । यादव पक्षले भने ठाकुरले निर्वाचन आयोगमा बुझाएको कागजात नक्कली र किर्ते भएको दावी गरेको छ ।
आयोगले आधिकाकिरता जसलाई दिए पनि दुबै पक्षले अब मिल्न नसक्ने निष्कर्ष निकालेका छन् । ठाकुर पक्षले बोलाएको कार्यकारिणी तथा विघटित जसपाको संसदीय दलको बैठकमा ठाकुरले अब उपेन्द्र यादवसँग मिल्ने सम्भावना नरहेको विफ्रिङ गरेका थिए ।