arrow

काँग्रेसबाट निर्वाचित मेयरले दिने भए शिक्षकलाई खाजा भत्ता 

logo
युद्धबहादुर मल्ल,
प्रकाशित २०७८ असार १३ आइतबार
chyanath-nagar.JPG

मुगु । सङ्घीय सरकारले गत महिना प्रस्तुत गरेको बजेटमा निजामती कर्मचारीहरूलाई पर्यटन काज, दैनिक खाजा जस्ता सुविधा दिने उल्लेख गरेर शिक्षकलाई विभेद तथा उपेक्षा गरे पनि यहाँको एक स्थानीय सरकारले सङ्घीय सरकारले विभेद र उपेक्षा गरेका तिनै शिक्षकलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ ।

मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले बिहीबार आफ्नो नवौँ नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विद्यालय शिक्षक तथा कर्मचारहरुलाई प्राथमिकता राखेको हो । नगर प्रमुख हरिजंग शाहीले प्रस्तुत गरेको नीति कार्यक्रममा शिक्षकहरूलाई आगामी आर्थिक बर्सबाट दैनिक १०० रुपैयाँ खाजा खर्च दिने,सङ्घीय सरकारसंग अनुमति लिई कोभिड विरुद्धको खोप खरिद गर्ने र शिक्षकलाई पहिलो प्राथमिकतामा राख्दै विद्यालयहरूबाट खोप दिन सुरु गर्ने बताइएको छ । 

नीति तथा कार्यक्रममा भनिएको छ देशमा कस्तो जनशक्ति उत्पादन गर्ने त्यो सबै शिक्षकमा निहित भएकाले हामीले जतिसुकै र जे विकासका कुरा गरे पनि यदि सक्षम,सबल,नैतिकवान्,निष्ठावान्,नागरिक बनाउन सकेनौ भने सबै बालुवामा पानी हाले सरह हो । त्यसैले नगरलाई सम्वृद्घी,समुन्नत र सक्षम बनाउने हो भने समाज रूपान्तरका वाहक घर पछिको दोस्रो गुरु शिक्षकहरूको आत्मसम्मान बढाउने पर्ने महसुस गरेर बर्सभरिमा १८० दिन शिक्षकहरूलाई प्रति दिन १०० का दरले खाना भत्ता दिने कार्यक्रम ल्याइएको हो ।

सङ्घीय सरकारले ल्याएको बजेटबाट निराश भएका शिक्षकहरू स्थानीय सरकारको नीति तथा कार्यक्रमबाट खुसी देखिएका छन् । शिक्षकलाई दैनिक खाजा भत्ता दिँदा शिक्षणमा गुणात्मक,कक्षा शिक्षण तथा विद्यालयमा शिक्षकहरूको नियमित हुने र यसले नगरपालिकालाई दीर्घकालीन फाइदा उपलब्ध गराउने नगरपालिकाले अपेक्षा गरेको छ । छायाँनाथ रारा नगर क्षेत्रमा  ४४ वटा सामुदायिक विद्यालयमा करिब  ३०० जना विद्यालय शिक्षक र कर्मचारी कार्यरत रहेका छन् । 


नेपाली काँग्रेसबाट निर्वाचित नगरप्रमुख रहेको यो नगरपालिकाले यस अघि पनि सङ्घीय र प्रदेश सरकार भन्दा पहिलो सामाजिक उत्तरदायित्वका कार्यक्रम ल्याएको थियो जसको अनुसरण गदै सङ्घ तथा प्रदेश सरकारहरूले पछि आफ्ना कार्यक्रमहरूमा यस्तै कार्यक्रम समावेश गर्ने गरेको पाइएको छ । पहिलो नगर सभाबाट एक छोरी एक खाता सुरु गरेको यो नगरको अनुसरण गदै कणाली प्रदेश तथा अन्य स्थानीय सरकारहरूले छोरी खाता ल्याए ।

 छायाँनाथले नै एकल पुरुष भत्ता दिन सुरु गरेपछि देशभरका अन्य सरकारले पनि पछि सुरु गरे यस्तै पहिलो नगर सभाबाटै आफ्ना बाल विकास केन्द्रहरूमा कार्यरत शिक्षिकाहरूलाई सङ्घीय सरकारले दिएको मासिक ६ हजार भत्तामा शत प्रतिशत प्रोत्साहन भत्ता ६ हजार थप्दै मासिक ११ हजार दिन थालेको ४ बर्सपछि बल्ल सङ्घीय सरकारले बाल विकास केन्द्रका शिक्षकलाई १५ हजार मासिक तलब दिने घोषणा गर्‍यो । यस्तै सङ्घीय तथा प्रदेश सरकारहरूले स्वास्थ्य स्वयंसेविकालाई सुविधा नदिँदै पहिलो नगर सभाबाट यो नगरले सञ्चार तथा यातायात खर्च सुविधा दिँदै आएको छ ।

नगर प्रमुख शाहीले प्रस्तुत गर्नु भएका नीति तथा कार्यक्रममा प्राय अघिल्ला वर्षहरू कै कार्यक्रम हले निरन्तरता पाएको भए पनि शिक्षकलाई खाजा खर्च र कोभिड खोप लगाउने मात्र नयाँ कार्यक्रम समेटिएका छन्  ।  यसै बिच उपप्रमुख सुन्तला रोकायाले बिहीबारै आर्थिक वर्ष २०७८-०७९ का लागी ६१ करोड ८० लाखको प्रस्तावित बजेट प्रस्तुत गरेकी छन् । बजेट बारे नगर सभामा छलफल भइरहेको बताइएको छ ।

के के छन् त नीति तथा कार्यक्रममा प्रमुख कार्यक्रमहरु  ?
गुणस्तरीय शिक्षणका लागी शिक्षकलाई खाजा
शिक्षक तथा विद्यालयबाट कोभिड खोप सुरु गर्ने
एक छोरी एक खाता
एकल पुरुष भत्ता
स्वयंसेविकालाई सञ्चार,यातायात खर्च,
विपन्न,दलित एकल महिला सन्तान उच्च शिक्षा छात्र वृद्धि
नगर प्रमुख रोजगार कार्यक्रम
गरिबसँग मेयर कार्यक्रम
नगर बासी औषधी उपचार सुविधा
सुरक्षित नगरका लागी नगर प्रहरी 
दुई सन्तानमा परिवार नियोजन गरेका दम्पतीलाई प्रोत्साहन भत्ता
स्वास्थ्य र स्वास्थ्यका लागी हिलो मुक्त गाउँ
वडा तथा नगरका आफ नै प्रशासनिक भवन
सबै वडामा स्वास्थ्य सेवा
गाउँ गाउँमा सडक
एक घर एक धारा कार्यक्रम
सुरक्षित यात्राका लागी सडक रक्षक
स्वच्छ र नियमित पानीका लागी खानेपानी चौकीदार 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ