arrow

उद्योगी व्यवसायीले भने : भ्याक्सिन नलगाए मुलुकको अर्थतन्त्र सङ्कटतर्फ जान्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १२ शनिबार
Vaccine-Covid-Corona-Nepal_1618133095.jpg
फाइल तस्बिर

काठमाडौँ। सरकारले घरभित्र मात्रै थुनेर समस्या समाधान नहुने भएकोले भ्याक्सिनमा केन्द्रित हुन उद्योगी व्यवसायीले आग्रह गरेका छन्। उद्योगी व्यवसायीहरूले सरकारले तत्काल बहुमत नेपालीलाई कोभिड विरुद्धको खोप नलगाउने हो भने मुलुकको अर्थतन्त्र धराशायी हुने चेतावनी दिएका छन्।  

नेपाली काँग्रेस केन्द्रीय उद्योग तथा व्यापार विभागको आयोजनामा  "कोभिडको महामारी र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव" विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सहभागी दर्जनौँ व्यवसायीले सरकार भ्याक्सिनमा केन्द्रित नहुनुले मुलुकको अर्थतन्त्र समस्यामा जाने बताएका हुन्।

कार्यक्रममा बोल्दै उद्योगपति विनोद चौधरीले सरकार भ्याक्सिन ल्याएर लगाउनेमा केन्द्रित नहुनुले गम्भीर आशङ्का उत्पन्न गरेको बताए। सङ्कटमा सरकारले अक्सिजननै नपाएर मानिस मर्ने अवस्था आउनु सरकारको कमजोरी रहेको समेत बताए।  ‘भारतले नोभेम्बरभित्र सम्पूर्ण नागरिकलाई सबै भ्याक्सिन लगाउने घोषणा गरिसकेको तर हामी कहिले हो टुङ्गो छैन,’ चौधरीले भने।

विभिन्न ठाउँमा पत्र पठाएकोमा सरकार रमाइरहेको तर भ्याक्सिन भने आउन नसकेको चौधरीले बताए । बजेट समेत ‘छुट्टाइएको छ, तर बिचौलिया राखेर भ्याक्सिनमा चलखेल गर्नु भनेको दुर्भाग्यपूर्ण छ’ चौधरीले भने।

दुई तिहाइको सरकार बन्यो भने मुलुकका सारा समस्या समाधान हुन्छ भन्ने भ्रम वर्तमान सरकारको गतिविधिले तोडिदिएको चौधरीले बताएका छन्। ‘७ प्रतिशत मात्रै विकास खर्च गर्ने ९३ प्रतिशत चालु खर्च हुने परिपाटी नबदलेसम्म मुलुकले विकास गर्दैन,’ चौधरीले भने।

अहिले सरकारले कति वटा लाइसेन्स गयो भनेर विदेशी लगानीको हिसाब गरेर बसेको तर विशेष आर्थिक क्षेत्र (सेज) रित्तै हुनुले पनि उद्योग कति फस्टाउनमा सरकारले भूमिका खेलेको भन्ने कुरा प्रस्ट भएको चौधरीले बताए।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महांसघ का अध्यक्ष शेखर गोल्छाले सरकारले खोप ल्याउन नसक्ने अवस्था र जनतालाई नदिएसम्म सहजता दिन सकिएन भने मुलुकको अर्थतन्त्रमा असहज अवस्था आउने बताए। कोभिडको यस्तो समस्यामा समेत निजी क्षेत्रले आपूर्ति व्यवस्थालाई सहज बनाइरहेको तर राज्यले गर्नुपर्ने काम भने नगरेको गोल्छाले आरोप लगाए।‘धेरै भन्दा धेरै नेपालीलाई खोप लगाउने हो भने अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ घरमा थुनेर समस्या समाधान हुँदैन,’ गोल्छाले भने।

कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले पर्यटन क्षेत्रमा लागेका १५ लाख मानिस अहिले बेरोजगार भएर बसेको अवस्था रहेको छ। अव भ्याक्सिन लगाएर मुलुक खुल्यो भन्ने अवस्था नआएसम्म पर्यटक नआउने भएकोले सरकार त्यसमा केन्द्रित हुनुपर्ने शेर्पाले बताए।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लकडाउनकैबीचमा सरकारले असार २५ भित्र कर तिर्नका लागि सूचना निकालेर बस्नु गलत ह । ‘कोभिडको कारण उद्योग र व्यवसाय क्षेत्रमा कति असर परेको छ भन्ने सरकारले कल्पना समेत गर्न सक्दैन’, मल्लले भने। सकारले पहिले भ्याक्सिन दिएर मात्रे अन्य कुरा तर्फ लाग्न मल्लले आग्रह गरेका छन्।

बैङ्कमा समेत तरलता आइसकेको अवस्थामा सरकारले विकास बजेट खर्चमा केन्द्रित हुनुपर्ने नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहको छ। मङ्सिर देखि जेठसम्म निर्माणको काम हुने तर सरकारले दुई वर्ष देखि सोही समयमा बन्द गर्दा काम हुन नसकेको सिंहले बताए। ‘पुँजीगत खर्च नहुनुमा सरकारले म्याद थपको काम नगर्दा समस्या आएको छ, काम गर्ने समयमा कम गर्न नपाएपछि म्याद थपको विकल्प हुँदैन,’ सिंहले भने।

कार्यक्रममा बोल्दै नेपाल सिमेन्ट उत्पादक सङ्घ अध्यक्ष ध्रुवराज थापाले अहिले ३० प्रतिशत उद्योग बन्द रहेको र ७० प्रतिशत चलेका उद्योग पनि ३० प्रतिशत क्षमतामा मात्रै चलेको छ। ५ अर्ब भन्दा बढी ऋण लिएका उद्योगलाई ५ करोड पुर्न कर्जा दिएकोले लगानी अनुसार कर्जा प्रवाह गर्नुपर्नेमा थापाले जोड दिए।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसङ्घ वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवालले कोभिडले नेपालको अर्थतन्त्रलाई धराशायी बनाएको बताए। नेपालले खोप अझै लगाउन नसक्ने अवस्थामा अझै एक वर्ष समस्या आउने देखिएको बताए। ‘राजश्वमा योगदान गर्न उद्योगलाई चलायमान गराउने एक मात्र विकल्प भ्याक्सिन हो,’ अग्रवालले भने।

काँग्रेसले भन्यो : सरकारलाई दबाब दिन्छौ
नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत अहिलेको सरकारबाट केही पनि आशा गर्ने ठाउँ नभएको बताउँदै यो सरकारको बहिर्गमनै पहिलो सर्त भएको बताए।

व्यवसायीले उठाएका माग पुरा गराउन सरकारलाई दबाब दिने समेत महतले बताए। ‘सरकार कुरा गर्छ, काम गर्दैन तर बहुमत प्राप्त गरेको दिन देखि जनताको सेवा भन्दा आफ्नो सेवामा लागेको छ,’ उनले भने। महामारीमा समेत सरकार भ्रष्टाचारमा लाग्नू पाप भएको समेत महतले आरोप लगाए।

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय उद्योग व्यापार विभागका सभापति चीनकाजी श्रेष्ठले काँग्रेसले यस्तो छलफल जारी राख्दै मुलुकको अर्थतन्त्र चलायमान गराउन केन्द्रित हुने बताए। ‘व्यवसायीको माग सम्बोधन गर्न दबाब दिन्छौ,’ श्रेष्ठले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ