arrow

कांग्रेसको आगामी महाधिवेशन किन र कसका लागि ? 

logo
मनिता घिमिरे
प्रकाशित २०७८ असार ७ सोमबार
manita-ghimire.jpg

पार्टीको निरन्तरता जोगाउने प्रयोजनका लागि नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौको तेस्रो साता सम्पन्न हुने संभावना बलियो देखिएको छ । आगामी भदौको  तेस्रो साता भित्र  १४ औं महाधिवेशन सम्पन्न गर्नैपर्ने संवैधानिक वाध्यता नेपाली कांग्रेसलाई छ । राजनीतिक दलले कम्तिमा साँढे पाँच वर्षको अवधिमा महाधिवेशन सम्पन्न गर्नैपर्ने व्याध्यात्मक व्यवस्था संविधानले गरेको छ । २०७२  फागुन २६ गते १३ औं महाधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेसले आफ्नो पार्टीको विधान अनुसार चार वर्षभित्र अर्थात २०७६ फागुन २३ भित्र  १४ औं महाधिवेशन गरिसक्नु  पर्ने थियो । तर कावु बाहिरको आपतकालिन परिस्थिति भन्दै एक वर्ष म्याद थप्यो ।

त्यसपछि भने कोरोना कहरका कारण साँचिकै काबु बाहिरको आपतकालिन परिस्थिति बनेका कारण महाधिवेशन अन्योल बनेको थियो । दोस्रो लहरको कोरोना संक्रमण घट्दै गएको र सरकारले निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेका कारण कांग्रेसको १४ औं महाधिवेशन भदौको तेस्रो साता भित्र सम्पन्न हुने संभावना देखिएको हो । जसरी आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत प्रक्रिया हो, त्यसरी नै आवधिक महाधिवेशन लोकतान्त्रिक पार्टीको आधारभूत प्रक्रिया हो ।

राजनीतिक दलहरुमा आन्तरिक लोकतन्त्रको अभ्यास भएन बने बहुदलीय लोकतन्त्रको मर्म समाप्त हुन्छ । त्यस माथि पनि नेपाली कांग्रेस मात्रै अहिलेसम्म मुलुकको यस्तो राजनीतिक पार्टी हो जसले बहुदलीय लोकतन्त्रलाई  साधन र साध्य मान्छ । त्यसैले नेपाली कांग्रेस आन्तरिक लोकतन्त्रको अभ्यासमा चुक्नु भनेको मुलुककै लोकतन्त्र संकटमा पर्नु हो । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुकको लोकतान्त्रिक प्रक्रिया बढी संकटमा परेको छ कि ? सभापति शेरबहादुर देउवाका कारण नेपाली कांग्रेसको विधान बढी संकटमा परेको छ ? भन्ने बहस सुरु हुनु नेपाली कांग्रेसका लागि सबैभन्दा दुःखको मामिला हो ।

नेपाली कांग्रेस पार्टीको नाम र चुनाव चिह्नका लागि मात्र महाधिवेशन हुने वा नीति, विचार र कार्यक्रमको पनि महाधिवेशन हुने हो ? कि नेतृत्व छनोटको मात्र महाधिवेशन हो ? यो प्रश्न निकै गम्भीर छ । नेपाली कांग्रेसले परिवर्तनको नेतृत्व गर्न सक्छ वा सक्दैन ? लोकतान्त्रिक शासन व्यवस्थाको स्थायित्व, विकास र सुदृढीकरणका लागि कस्तो नेतृत्व र कुन विचार कस्ता कार्यकर्ता र कस्तो कार्यक्रम ? तपाईं प्रधानमन्त्री बन्नुस्, मलाई सभापति बनाउनुस्, तपाईं महामन्त्री वा उपसभापति बन्नुस, उहाँलाई मन्त्री वा अरु केही बनाउँला ? विचार र कार्यक्रम, कार्यकर्ता र नेतृत्वका बारेमा छलफल आवश्यक छैन भन्ने खालका धारणाहरु पनि आउन थालेका छन् । अधिकांश नेता र कार्यकर्ता सके आफ्नो बढुवा गराउने नसके भएको पदीय हैसियत कायम राख्ने सोच र चिन्तनबाट निर्देसित छन् ।

कांग्रेसका कार्यकर्ता पार्टी कब्जा गर्ने रणनीति र कार्यनीतिबाट प्रशिक्षित भएका छन् । पार्टीको सिद्धान्त र आदर्शलाई नभई व्यक्तिको लहडलाई बोक्ने कार्यकर्ताबाट नेतृत्व छनोट हुने परिपाटी झन् झन् बलियो हुँदै गएको छ । आधार बन्दै गएको छ । योग्यता, क्षमता, निरन्तरता, त्याग र इमान्दारिताको कुनै कदर नै छैन । आफ्नो व्यक्तिगत स्वार्थ पूरा गराउन कसरी सकिन्छ भन्ने सोच र चिन्तनबाट ग्रसित नेतृत्वले बनाएको पार्टी संगठन र कब्जा गर्ने रणनीतिबाट प्रशिक्षित लम्पट कार्यकर्ताहरुको पंक्तिबाट आउने नेतृत्वले समयका चुनौतिहरु सामना गर्न सक्छ भन्ने विश्वास नै गर्न सकिँदैन । समयको चापमा रहेको पार्टीले हतारमा, बाध्यात्मक किसिमले गर्ने अधिवेशन, त्यसमा पनि समय काल परिस्थिति प्रतिकूल भएको क्षणमा आउने परिणाम राम्रो त परै जाओस् सन्तोषजनक पनि हुने छैन ।

कम्युनिष्ट नेतृत्वको दुईतिहाइ नजिकको सरकारबाट वाक्क दिक्क भएका कार्यकर्ता नेपाली कांग्रेसको महाधिवेशनको समय, प्रक्रियासँग निराश छन् । अब परिणामबाट थप निरास बन्ने अवस्था कुनै हालतमा आउनु हुँदैन । भोलिको राजनीतिक अवस्था के होला भन्ने चिन्ताले सताइरहेका बेला कांग्रेसले घोषणा गरेको अधिवेशनको मौसम अत्यन्त प्रतिकुल छ । कर्मकाण्डी अधिवेशनले नाम, झन्डा र चुनाव चिह्न त जोगिएला तर नेपाली कांग्रेसको आस्था, विश्वास र भरोसा अनि मूल्य, मान्यता सिद्धान्त पुनजागृत हुन सक्दैन ।

विगत २१ वर्षदेखि चार वटा महाधिवेशनमा लगातार चुनाव लड्दै आउनु भएका सभापति शेरबहादुर देउवा पाँचौ पटक पनि चुनावी मैदानमा ओर्लनु भएको छ । उहाँ पहिलो पटक सभापति लड्दै गर्दा गर्भमा समेत नआएकाहरु आगामी महाधिवेशनमा उल्लेख्य रुपमा प्रतिनिधि बनेर आउँदैछन् । उनीहरुको दिमागमा पार्टीको आन्तरिक लोकतन्त्रबारे कस्तो धारणा बन्ला ? भन्ने प्रश्न पनि नेपाली कांग्रेसको जीवनमा निकै पेचिलो छ ।

आफू बाँचुन्जेल सत्ता र शक्ति बाहिर रहन नसक्ने सोच, चिन्तन र व्यवहार  बोकेको नेताले पार्टी भित्रको आन्तरिक लोकतन्त्र जोगाउन सक्छ की सक्दैन ?   आफ्नो पार्टी भित्रको आन्तरिक लोकतन्त्र ध्वस्त बनाएको नेताले देशको नेतृत्व गर्ने मौका पायो भने लोकतान्त्रिक शासन व्यवस्था रहन सक्छ की सक्दैन ? भन्ने मूल्यांकन गर्न सक्ने अवस्थामा जनता पुगिसकेका छन् । कुनै व्यक्ति लोकतान्त्रिक प्रणालीअनुसार निर्वाचित भएर आजिवन सभापति पदमा रहिरहनु आश्चर्यजनक कुरा होइन ।

व्यक्तिवादी चिन्तन बोकेकाहरु यो मामिलामा सफल भएका उदाहरण पनि छन् । तर व्यक्तिबादी चिन्तालाई निरन्तर अनुमोदन गरिरहेको पार्टीलाई आम निर्वाचनमा मत हाल्न जनता सँधै वाध्य हुँदैनन् । आम निर्वाचनमा त जनताले भोट हाल्ने अरु विकल्प नि पाउँछन् ।

महाधिवेशन प्रतिनिधिहरु पार्टीको सभापति बन्न विधानतः योग्य हुन्छन् र उम्मेदवारी दिने हैसियत र अधिकार राख्छन् । चार पटक लगातार उमेदवार भएको व्याक्ति पाँचो पटक उमेद्वार बन्न नपाउने वाध्यता कांग्रेसको विधान र मुलुकको संविधानमा छैन ।  यो अर्थमा देउवाको पुनः सभापतिको उम्मेदवारी अस्वाभाविक देखिँदैन । तर, राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हालको नेपालको सन्दर्भमा देउवाको पुनः उम्मेदवारी कति उपयुक्त हुन सक्छ बहसकै विषय हो । लोकतान्त्रिक प्रणाली रहने वा नरहने भन्ने कुरो लोकतान्त्रिक विचार, नीति र विधि पार्टीको सिद्धान्त मान्ने पार्टी र यसका नेताहरूले अवलम्बन गर्नैपर्छ ।

कसले जित्छ ? कसले हार्छ ? भन्नेभन्दा पनि नेपाली कांग्रेस पार्टीभित्र सक्कली लोकतन्त्रको परिपाटी सजीव रहन सक्छ वा सक्दैन भनेर सबैमा चिन्ता र चासो जागेको छ । चिन्ता यस मानेमा कि प्रजातान्त्रिक परिपाटी जीवितै रहला वा नेताहरूको गुटगत लडाइँले खिइँदै र सकिँदै जाला भन्ने अर्थमा देखिएको छ ।

चासो यस अर्थमा कि कम्तीमा पनि नेपालको लोकतान्त्रिक प्रक्रिया सजीव बनाउन पार्टी आन्तरिक जीवनमा लोकतान्त्रिक अभ्यास गर्ने  पार्टी नेपाली कांग्रेस नै थियो । त्यसैले,  कांग्रेसको  आन्तरिक लोकतन्त्र सुदृढ हुँदै जाओस् जसले देशमा चलिरहेको शासन व्यवस्थामा थप मद्दत पुर्‍याओस् र अन्य पार्टीलाई पहिलो गतिलो शिक्षा दिन सकोस् भन्ने आशय सबैको छ । त्यसैले कांग्रेसलाई मुलुकको राजनीतिको मियो पार्टी भनिएको हो ।

हरेक देशको शासन व्यवस्था कति सुदृढ हुन सक्छ । कति सजीव हुन सक्छ र त्यसलाई सही ढंगले अघि बढाउन सकिन्छ वा सकिँदैन भन्ने कुरा देशभित्र रहेका शासन व्यवस्थासँग सम्बन्धित विचार, नीति, विधि र आचरण पालन गर्ने पार्टीहरुमा निर्भर रहन्छ । यसैले लोकतान्त्रिक संस्कार बोकेर आएको पार्टी भएकाले पनि अन्य पार्टीभन्दा नेपाली कांग्रेसमाथि सबैको आशा, भरोसा र गुनासो केन्द्रित हुन गएको छ ।

लोकतान्त्रिक प्रणाली प्रतिस्पर्धात्मक प्रणाली हो । यसमा व्यक्तिहरू समान रूपले राजनीतिक क्रियाकलापमा भाग लिन पाउँछन् । एकअर्कामा प्रतिस्पर्धा गर्न पाउँछन् । जसले बहुमत प्राप्त गर्छ उसलाई आउँदो एक अवधिका लागि आफ्नो नेतृत्वका रूपमा स्वीकार गर्छन् । त्यसपछि प्रणालीगत हिसाबले पार्टी तथा शासन व्यवस्था संचालनका लागि परिचालित हुने गर्छन् । तर, एउटै व्यक्ति सदासदाका लागि पार्टी वा शासन व्यवस्थाको हर्ताकर्ता भइराख्ने हो भने आउँदो पुस्ताले कुनबेला लोकतान्त्रिक अभ्यासमा भाग लिने, खारिने र आफूलाई नयाँ नेतृत्वका रूपमा परिपक्व बनाउने ?

विगत ७५ वर्षदेखि मलुकको बहुदलीय राजनीतिको मियो पार्टीको भूमिकामा रहँदै आएको कांग्रेस स्वयंले आन्तरिक लोकतन्त्र विर्सनु भनेको सामान्य कुरा होइन । संवैधानिक बाध्यता नभएको भए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कयौं वर्षसम्म महाधिबशेन नै नगराई  आफ्नो पदलाई निरन्तरता दिइरहने बाटोमा जाने रहेछन् भन्ने कुरा घटनाक्रमले पुष्टि गरिसकेको छ । भदौको तेस्रो साता महाधिवेशन हुने निश्चित भएसँगै देउवाले फेरि सभापतिको उमेदवार बन्ने भन्दै भेटघाट तिब्र बनाएका छन् ।

क्रियाशील सदस्यता टुंग्याउन बाँकी छ, क्रियाशील सदस्यता नटुंगिएसम्म महाधिवेशनको पूर्वतयारीका काम अघि बढ्न सक्ने अवस्था छैन । जिल्ला अधिवेशनसँगै महाधिवेशन प्रतिनिधिहरुको टुंगो लाग्ने हो । महाधिवेशन प्रतिनिधिहरुको टुंगो नलाग्दासम्म सभापति पदको उमेदवारी घोषणा तथा प्रचार प्रसार शोभनीय हुँदैन । तर महाधिवेशन सम्पन्न गराउने दायित्व बोकेका सभापति देउवा स्वयं सबैभन्दा पहिले उम्मेदवारी घोषणा गरेर प्रचार प्रसारमा जुट्नु नेपाली कांग्रेसका लागि अवसर होइन दशा हो । महाधिवेशनको निश्पक्षता माथि प्रश्न उठ्ने गतिविधिमा सभापति देउवा स्वंम उत्रनु दुखद हो ।

राजनीतिक पार्टीको मुख्य उद्देश्य भनेको आफ्नो पक्षमा जन विश्वास सिर्जना गर्नु हो । पार्टीले अंगालेको विचार र सिद्धान्त बाहेक जनताले मुख्यतया तीन वटा आधारमा राजनीतिक पार्टीहरुलाई विश्वास गर्छन् । पहिलो आधार भनेको पार्टीको निर्णय प्रक्रियामा आफ्नो सहभागिता हो । दोस्रो आधार पार्टी तथा पार्टीका नेताहरुले देश र जनताको पक्षमा पुर्‍याएको योगदान हो । तेस्रो आधार पार्टी नेतृत्वको कार्यक्षमता र इमान्दारिता हो ।

यि तीनै वटा आधारहरु अन्य पार्टीको तुलनामा बलिया रहेका कारण कांग्रेस स्थापनाकालदेखि अहिलेसम्म मुलुकको राजनीतिमा मियो पार्टीका रुपमा रहँदै आएको हो । तर नेपाली कांग्रेसले जनविश्वास प्राप्त गर्नुका मुख्य आधारहरु पछिल्ला दिनमा सभापति देउवाले भत्काउँदै गएका छन् । उनी पहिलो पटक प्रधानमन्त्री हुँदा गर्भमा रहेको बालक अहिले २६ वर्ष नाघिसकेको छ । २६ वर्षको यो अवधीमा चार पटक प्रधानमन्त्री भइसकेका देउवाको कार्यक्षमता र इमान्दारिता माथि पटक पटक प्रश्न उठिरहेको छ ।

२०५७ साल यता २१ वर्षको अवधीमा कांग्रेसका चारवटा महाधिवेशन सम्पन्न भइसकेका छन् । कुनै पनि महाधिवेशनमा देउवा सभापति पदको उमेदवार बन्न छुटाएका छैनन् । अब फेरि पाँचौ पटकका लागि उम्मेदवार बन्न लागेका छन् ।   दशकौंदेखि सँधै एउटै अनुहार प्रति जनताको अकर्षण रहँदैन, अवसर पाउँदा राम्रो काम गरेको भए त ठिकै थियो । अवसर पाउना साथ दुरुपयोग बाहेक केही नगरेको नजीर कायम गरेका देउवा फेरि पनि सभापनि बने भने जनताले कुन आशाका साथ कांग्रेसलाई भोट दिने ? भन्ने प्रश्न खडा हुन्छ । यो यर्थाथतर्फ कांग्रेसका कार्यकर्ताहरुले ध्यान दिनुपर्छ । कम्युनिष्टहरु विभाजित भएका कारण जनता विकल्पवीहिन छन् भन्दैमा  ‘खाए खा, नखाए घिच’ भन्न थाल्ने हो भने भोलि बहुदलीय व्यवस्थाप्रति नै जनविश्वास समाप्त हुन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ