arrow

काँग्रेस पदाधिकारी बैठक बस्दै

logo
रासस,
प्रकाशित २०७८ जेठ २९ शनिबार
congress-deuba-poudel-koirala.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेसले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा २:०० बजे बस्ने बैठकमा पार्टीको १४औँ  महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत आगामी असारदेखि विभिन्न तहका अधिवेशनको मिति तय गरिसकेको र अझै केही जिल्ला तथा क्षेत्रको क्रियाशील सदस्यता विवरण टुङ्गिनसकेको कारण बैठकमा सो बारेमा छलफल हुनेछ। यही जेठ २५ गतेसम्म काँग्रेसको वेबसाइटमा जम्मा आठ लाख ३१७ क्रियाशील सदस्यता विवरण ‘इन्ट्री’ भइसकेको केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।

अब सप्तरी र सिन्धुपाल्चोकको पुरै तथा बाराका केही क्रियाशील सदस्यता विवरण आउन बाँकी रहेको उनले बताए। त्यसमध्ये सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले भने आज विवरण पेस गर्ने पार्टी कार्यालयले जनाएको छ। पदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवरण बुझाउन बाँकी जिल्ला र क्षेत्रका लागि अतिरिक्त समय थप गर्ने बारेमा समेत छलफल हुने बताइएको छ।

काँग्रेसले १४औँ महाधिवेशनका लागि पार्टीको गाउँ-नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ-नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते तोकेको छ। यसै गरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ।

बैठकमा काँग्रेससहित विपक्षी दलको गठबन्धनले हाल विभिन्न प्रदेशमा प्रदेश सरकार पुनः गठनका लागि गरेका प्रयासलगायत विषयमा पनि छलफल हुने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ