arrow

सांसद वैद्यमाथि अभिव्यक्ति फिर्ता लिन चर्को दबाब, आत्मालोचना गर्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २९ शनिबार
Narotham baidhya.jpg

काठमाडौं । नेपाली कांग्रेसका वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको भन्ने आसयसहितको अभिव्यक्ति फिर्ता लिन चर्को दबाब परेको छ ।

नेपाली कांग्रेसका नेता साथै विपक्षी पार्टीका नेताहरुले बैद्यले तत्काल अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न भनेका छन् । विभिन्न सामाजिक काम गरेर काठमाडौमा लोकप्रियता कमाएका बैद्य शुक्रबारको अभिव्यक्तिका कारण चर्को आलोचना खेपिरहेका छन् ।

शुक्रबार प्रदेश सभामा भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले प्रधानमन्त्रीविरुद्ध गोड्से बन्न तयार हुनुपर्ने भनेका थिए । सोही अभिव्यक्तिलाई लिएर काग्रेस नेता एवम काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य सांसद गगन थापाले वैद्यले दिएको अभिव्‍यक्‍ति पार्टीलाई स्‍वीकार्य नभएको बताएका छन् ।

उनले अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसले संघर्षमा मात्र हैन आलोचनामा पनि हिंसालाई स्थान दिन नसक्ने बताएका हुन् । दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिन उनले वैद्यलाई सुझाएका छन्  ।

थापाले सामाजिक संजालमा लेखेका छन्, ‘नरोत्तम वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन,’ ट्वीटरमा थापाले लेखेका छन्, ‘मलाई विश्वास छ,  दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिनुहुनेछ । अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संघर्षमा मात्र हैन आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन ।’ बैद्य पनि काठमाडौं क्षेत्र नं. ४ ‘क’ बाट कांग्रेसबाट निर्वाचित प्रदेश सांसद हुन् ।

एमालेका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले वैद्यलाई तत्काल माफि माग्न आग्रह गरेका छन् । उनको अभिव्यक्ति सार्वजनिक भएलगत्तै नेता भट्टराईले उनलाई तत्काल दशवटा तर्क नगरी माफ माग्न आग्रह गरेका हुन् । भट्टराईले फेसबुकमा भनेका छन्,’ वाग्मती प्रदेशसभा सदस्य नरोत्तमजीले दशवटा तर्क नगरि खुरुक्क माफ माग्नु नै बेस हुन्छ ।’

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको हत्या गर्नेबारे वैद्यले दिएको अभिव्यक्ति आपराधिक, अत्यन्तै आपत्तिजन र निन्दनीय रहेको जनाएका छन् । वैद्यको उक्त अभिव्यक्तिलाई एमालले फौजदारी कानून आकर्षित गर्ने खालको भएको ठहर गरेको ज्ञवालीले जनाएका छन् ।

‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ ‘उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानून समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विहान एक वक्तब्य जारी गर्दै  विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न प्रदेश सांसदलाई निर्देशन दिएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको छ ।’

वागमती प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले सांसद वैद्यको अभिव्यक्तिले पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएका छन् ।

यता वैद्यले प्रदेश सभामा आफूले शुक्रबार दिएको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्ने बताएका छन्। आफ्नो अभिव्यक्ति पुरा हुन नदिइ छोटो भिडियो क्लिपलाई मात्र सामाजिक संजालमा भाइरल बनाइएको बैद्यले बताएका छन् । उनले शनिवार विहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा आफूले अभिव्यक्ति फिर्ता लिने बताएका छन् ।

बैद्यले शुक्रबार बोल्ने क्रममा प्रधानमन्त्री पद जोगाइराख्नका लागि मुलुकलाई नोक्सानी हुने गरी अनावश्यक सम्झौता गरेको आरोप लगाएका थिए । ‘ओली यसरी आइराख्या छ सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरेको छ’, उनले अगाडि भनेका छन्, 'खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । कोही नाथुराम गोड्से आवश्यकता पर्‍यो अब, यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’

नाथुराम गोड्से भारतका अहिंसात्मक आन्दोलनका प्रवद्र्धक महात्मा गान्धीका हत्यारा हुन् । मोहनदास करमचन्द गान्धी अर्थात बापुजी भनेर समेत चिनिएका गान्धी भारत स्वतन्त्र आन्दोलनका अगुवा तथा आध्यात्मिक नेता थिए । गान्धीलाई सन् १९४८ मा गोड्सेले गोली हानी हत्या गरेका थिए । गान्धी हत्यामा नारायण आप्टे, विष्णु रामकृष्ण करकरेलगायतका अन्य व्यक्ति पनि मुछिएका थिए । १९४९ नोभेम्बर ८ मा गोडसेलाई फाँसीको सजाय सुनाइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ