arrow

कांग्रेस महाधिवेशन भदौ तेस्रो साता गर्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
nepali-congress-flag-tree.jpg

काठमाडौं । नेपाली कांग्रेसले पूर्व निर्धारित महाधिवेशनको मितिमा सामान्य फेरबदल गर्दै १४औं महाधिवेशन भदौ तेस्रो साता गर्ने तयारी गरेको छ ।

कांग्रेस उच्च स्रोतका अनुसार महाधिवेशन कार्यतालिका सामान्य संसोधनका लागि पहिले पदाधिकारी बैठक बस्ने र त्यसपछि केन्द्रीय समिति बैठकले कार्यतालिका संसोधन गर्ने तयारी भइरहेको छ ।

‘महाधिवेशन भदौ तेस्रो साता हुन्छ, त्यो भन्दा पर जान अब संविधानले दिंदैन, पार्टीका संयन्त्रले महाधिवेशन केन्द्रित भएर धमाधम काम गरिरहेको छ, तालिकामा केही हेरफेर हुन्छ’ कांग्रेस उच्च स्रोतले भन्यो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा महाधिवेशन भदौ भित्रै हुने बताइसकेका छन् । यसअघि महाधिवेशनका लागि ७-१० भदौको मिति तय छ ।

कांग्रेसले ६ फागुन २०७७ मा बनाएको महाधिवेशन क्यालेण्डर अनुसार ५ असारमा वडा, ७ असारमा गाउँ/नगर, १ साउनमा प्रदेश सभा क्षेत्रीय, ३ साउनमा प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र ६ साउनमा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन निर्धारित छ ।

यसैगरी १० र ११ साउनमा प्रदेश अधिवेशन र ७, ८, ९ र १० भदौमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याइएको छ ।

कांग्रेसले क्रियाशिल सदस्यता वितरण र नवीकरणको अन्तिम सूची केन्द्रमा तोकिएको समयमा प्राप्त नभएपछि पूर्व निर्धारित कार्यतालिकामा केही परिमार्जन गरेर भदौ भित्रै महाधिवेशन गर्ने गरी तयारी गरेको हो । 

कांग्रेस सहमहामन्त्री डा.प्रकाशसरण महतले पार्टीका संरचनाहरुको अधिवेशनका लागि निर्धारित समयको अन्तरलाई मिलाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।

‘भदौ भित्रै महाधिवेशन सम्पन्न गर्ने गरी तल्ला तहका अधिवेशनका लागि तोकिएको समयको अन्तरलाई मिलाउने तयारी भइरहेको छ,’ सहमहामन्त्री महतले हाम्राकुरासँग भने ।

सभापति शेरबहादुर देउवाले बुधबार प्रेस वक्तव्य जारी गर्दै महाधिवेशन भदौ भित्रै हुने भनेका थिए । उनले केही प्राविधिक विषय मिलाएर महाधिवेशन भदौ भित्रै गर्ने देउवाको वक्तव्यमा उल्लेख छ । 

‘विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ, म देशभरिका पार्टीका सम्पूणर् साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु, २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ, म यसमा पूर्ण प्रतिवद्ध छु ।’

उनले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर एक महत्वपूणर् राजनीतिक अभियान भएकोसमेत भनेका छन् ।

महाधिवेशनका लागि आषाढ र श्रावण दुई महिना बाँकी रहेको भन्दै देउवाले यो दुई महिना भित्रैमा प्राविधिक विषय मानिने क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै पूर्व तयारी गर्नु पर्ने भन्दै सो कार्यका निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेको भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ