arrow

'बजेटमा कोभिड–१९ को सङ्क्रमणबाट उम्कन ठोस उपाय देखिन्न'

निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने प्रयासको बजेट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
budget-2078-79-pm-oli.jpg

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रस्तुत आर्थिक वर्ष २०७८-७९ को बजेटलाई व्यावहारिकरुपबाट विश्वास गरेर हेर्नेभन्दा निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने प्रयासका रुपमा हेरिएको प्रतिक्रिया दिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत बजेटबाट  कांग्रेसले  सरकारले अपेक्षा गरेजस्तो एकै पटक अर्थतन्त्र उकालो लाग्ने र राजस्वको लक्ष्य पूरा हुन सक्ने विश्वासिलो आधार नभएको  प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

कांग्रेसका नेता डा मीनेन्द्र रिजालले सरकार निर्वाचन गर्ने योजनामा रहेकाले आफ्नो पार्टीलाई चुनावमा मत बटुल्न सहयोग पुगोस् भन्ने उद्देश्यले विभिन्न नाराका साथ बजेट ल्याइएको आरोप लगाए ।  उनले भने, “यो व्यवहारमा आधारित बजेट नै होइन, निर्वाचन गराउने परिस्थिति निर्माण गरेर मत बटुल्न ल्याइएको बजेट राजस्वको वास्तविकतामा आधारित नभएको मात्र होइन, कोभिड–१९ को सङ्क्रमणबाट उम्कन ठोस उपाय पनि देखिन्न ।”

नेकपा(माओवादी केन्द्र) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले चुनाव घोषणा गरेर त्यसलाई प्रभावित तुल्याउने ढङ्गबाट काम चलाऊ सरकारले असंवैधानिक कदमका रुपमा बजेट प्रस्तुत गरेको आरोप लगाए । उनले भने, ‘नियमित सेवा र  काम गर्नबाहेक पूर्ण बजेट ल्याउन पाइन्थेन, प्रतिनिधिसभाविना नयाँ कर र राजस्वका दर लगाउन वा घटाउन पनि पाइन्न, यो सरकारबाट संविधान विपरीत काम भएको छ, निर्वाचनको बजेट ठोस रुपमा नआउँदा अर्थमन्त्रीलाई प्रतिनिधिसभा पुनः स्थापना हुन्छ भन्ने कुरा जस्तो आभास पनि भएजस्तो छ ।’

हामीले गर्न खोजेका थियौँ, काम गर्न दिइएन भन्ने सोचका साथ बजेट ल्याइएको आरोप लगाउँदै पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले भने, आर्थिक आधार र दीर्घकालीन सोचभन्दा ऋण लिएर घिउ खाऔँ, चुनावलाई प्रभाव पारौँ भन्ने सोचबाट गैरजिम्मेवारपूर्वक रुपमा बजेट आएको छ ।’

सरकारको आर्थिक वर्ष २०७८-७९ को आयव्ययको अनुमानित विवरण(बजेट)का सम्बन्धमा प्रारम्भिक प्रतिक्रिया दिँदै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले आफूहरूले पूर्व कल्पना गरेजस्तै सबै मानिसलाई  रिझाउने मुख्य उद्देश्यले ल्याइको बजेट विकास खर्च कम गर्न उद्यत भएर आएका रुपमा देखिएको बताए । उनले भने, ‘गएको वर्षभन्दा यस वर्ष पुँजीगत खर्च साढे एक प्रतिशतले घटेको छ ।’

प्रतिनिधिसभा विघटन भएका कारण अध्यादेशमार्फत जारी बजेटलाई  प्रतिपक्षले कार्यान्वयनमा निकै चुनौती रहेको प्रतिक्रिया दिएको छ । प्रतिपक्ष दलले तलब, भत्ता र विदेशी ऋण तिर्ने र बहुवर्षीय योजनालाई निरन्तरताबाहेक अन्य कार्यक्रम नसमेट्न तथा पूर्ण बजेट नल्याउन सुझाव दिएका थिए ।

सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ का कारण मुलुकको अर्थतन्त्र सुदृढीकरण र  रोजगारी सिर्जनामा गम्भीर असर पुगेको बजेटमार्फत जानकारी दिएको छ । सरकारले बजेटमा कोरोना सङ्क्रमण रोकथाम र उपचारका लागि उच्च प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ