arrow

संसद् विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध उत्रिए पूर्व प्रधानन्यायाधिशहरू, सत्ता कब्जा गर्ने प्रयास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १२ बुधबार
kalyan-shrestha-susila-karki-chief-justice.jpg
फाइल तस्बिर

काठमाडौँ। पूर्व प्रधानन्यायाधीशहरूले प्रतिनिधि सभा विघटन युक्ति सङ्गत नभएको बताएका छन् । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्कीसहितको संविधान निगरानी समूहले ‘युक्ति सङ्गत कारणविना’ प्रतिनिधि सभा विघटन गरिएको जनाएको हो। बुधवार दिउसो सो समूहले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गलत तरिकाले प्रतिनिधि सभा विघटन गरिएको प्रस्ट पारिएको हो।

‘पुनः स्थापित प्रतिनिधि सभाको युक्ति सङ्गत कारणविना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले पुनः विघटन गरेबाट संवैधानिक पद्धति, संसदीय प्रजातन्त्र र न्यायिक पद्धतिको कार्यान्वयनमा उपस्थित चुनौतीहरू र अचिन्तित परिणामहरूको सम्बन्धमा गम्भीर विचलन र अवरोध आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा ७६ अन्तर्गत सार्थक र विवेकशील अभ्यासबाट वैकल्पिक सरकार खोजी गर्ने र प्रतिनिधिसभाको अर्थपूर्ण भूमिकालाई प्रशस्त गर्नुको साटो अन्यौल, अनिश्चितता र अव्यवस्थातर्फ उन्मुख हुने गरी संविधानको धारा ७६ को कार्यान्वयन गर्ने प्रवृत्ति देखा पर्नु चिन्ताजनक विषय हो।’

निगरानी समूहले संवैधानिक प्रक्रिया छल्दै राष्ट्रपति–प्रधानमन्त्रीको मिलेमतोमा भएको प्रतिनिधि विघटनप्रति असन्तुष्टि व्यक्त गरेको छ। समूहले भनेको छ, ‘संसद् भित्रबाट सबै राजनीतिक शक्तिले एकीकृत प्रयास गरी सम्बोधन गर्नुको सट्टा सत्ता कब्जा वा सो प्राप्तिका लागि जुनसुकै कार्य गर्न तयार हुने परिस्थिति निर्माण हुनु शोभनीय देखिँदैन ।’

संविधान निगरानी समूहद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ :

वर्तमान सरकारले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि नेपालको संविधानको धारा ७६ अन्तर्गत वैकल्पिक सरकार गठन गर्न विभिन्न चरणका प्रयासहरू हुँदै गर्दा सर्वोच्च अदालतका मिति २०७७ फागुन ११ गतेको फैसला बमोजिम पुनर्स्थापित प्रतिनिधिसभाको युक्तियुक्त कारण विना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले पुनः विघटन गर्न गरेको कार्यबाट संवैधानिक पद्धति, संसदीय प्रजातन्त्र र न्यायिक पद्धतिको कार्यान्वयनमा उपस्थित चुनौतीहरू र अचिन्तित परिणामहरूको सम्बन्धमा गम्भीर विचलन र अवरोध आएको संविधान निगरानी समूहको ठहर छ । 

दिगो संसदीय पद्धति र संरचनासहित जारी भएको संविधानको कार्यान्वयनको जटिल मोडमा पुगेको बेला एक पटक विघटित भएका प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुनर्स्थापित भएको सर्वविदितै छ । त्यसको सम्मान गर्दै संसदीय प्रणालीको लाभदायक उपयोग गर्नुको बदला उपेक्षा गर्दै संसद् पुनर्स्थापना गर्ने न्यायिक निर्णयको औचित्य नै विस्थापित पार्ने गरी रणनीतिक सोच राख्नु कानुनी राज्यको सिद्धान्त मान्न सकिँदैन ।

पुनर्स्थापित प्रतिनिधिसभाको संवैधानिक भूमिकामार्फत विधायिका एवं संवैधानिक प्रश्नहरूको स्वीकार्य समाधान खोज्नुपर्नेमा प्रतिनिधि सभाको संसदीय भूमिका नै न्यून बनाउँदै वा पन्छाउँदै संसद् बाहिरबाट अध्यादेशमार्फत विधायिका कार्य सम्पादन गर्नुको औचित्य स्थापना गर्ने हो भने संसदीय निर्वाचन वा संसद् समेतको सान्दर्भिकता र औचित्य घट्दै जान सक्छ ।

कोभिड-१९ को सङ्क्रमण फैलिई महामारीको अवस्था सिर्जना भई स्वास्थ्य र जीवन रक्षामा अभूतपूर्व सङ्कट फैलिएको अवस्थामा त्यसलाई शीर्षस्थ महत्त्व दिई संसद् भित्रबाट सबै राजनीतिक शक्तिले एकीकृत प्रयास गरी सम्बोधन गर्नुको सट्टा उपेक्षा गरी सत्ता कब्जा वा सो प्राप्तिको लागि जुनसुकै कार्य गर्न तयार हुने परिस्थिति निर्माण हुनु शोभनीय देखिँदैन ।

राजनीतिक क्रियाकलापमा जति पनि खर्चको व्यवस्था गर्न तयार हुने तर सङ्क्रमणबाट आक्रान्त वा सो उन्मुख जनसङ्ख्या भने जीवन रक्षाका लागि आस गर्दा गर्दै अपूरणीय क्षति व्यहोर्नु पर्ने कठोर वास्तविकताको माझमा नतिजा नदिने निर्वाचनमा होमिन बाध्य हुनुपर्ने परिस्थिति निर्माण हुनु पनि वाञ्छनीय हुन सक्दैन ।

कोभिड-१९ को सङ्क्रमण त्यसलाई सम्बोधन गर्ने सिलसिलामा गरिने बन्दाबन्दी र स्वास्थ्य सङ्कटकालका विविध अवस्थाहरूले घोषित मितिमा स्वतन्त्र निर्वाचनका लागि जरुरी हुने अनुकूल वातावरणलाई पुष्टि गर्दैन ।

संविधानले संरचना गरेको विधि र पद्धतिभित्र सबै समस्याको समाधान खोज्न प्रतिनिधि सभा र त्यहाँबाट विश्वास प्राप्त सरकारमार्फत खोजिनुपर्नेमा संविधानको धारा ७६ अन्तर्गत सार्थक र विवेकशील अभ्यासबाट वैकल्पिक सरकार खोजी गर्ने र प्रतिनिधिसभाको अर्थपूर्ण भूमिकालाई प्रशस्त गर्नुको साटो अन्योल, अनिश्चितता र अव्यवस्था तर्फ उन्मुख हुने गरी संविधानको धारा ७६ को कार्यान्वयन गर्ने प्रवृत्ति देखा पर्नु चिन्ताजनक विषय हो । 

संविधान कार्यान्वयनको प्रारम्भिक चरणमा गुज्रिरहेको राष्ट्रिय परिवेशमा पहिलो संसदीय निर्वाचनले दिएको जनताको अत्यधिक विश्वास स्खलित हुँदै प्रतिनिधिसभामा बहुमत सिद्ध गर्नसम्म असफल भएपछि पनि सरकार गठन गर्ने मौका पाउँदा समेत वर्तमान सरकारले विश्वासको मत जुटाउन फेरि पनि नसकेको प्रस्ट छ । 

सांसदबाट पटक-पटक विश्वास गुमाइसकेपछि वैकल्पिक सरकार दिने संवैधानिक प्रक्रियालाई स्वाभाविक निष्कर्षमा पुग्न सघाउ पुर्‍याउनुपर्नेमा स्वाभाविक र तार्किक निष्कर्षमा पुग्ने सहयोग नगर्ने कार्यमा संलग्न जो भए पनि सोसम्बन्धी क्रियाकलाप नेपालको लोकतन्त्र र संवैधानिक पद्धतिको लागि शुभ सूचक र शोभायमान कार्य हुन सक्दैन ।

राज्यको प्रमुख अङ्गहरूमा आसीन सबैसँग संविधानप्रतिको अविचलित निष्ठा र इमानदार कार्यान्वयनको प्रतिबद्धता आशा गरिनेमा संवैधानिक पद्धति नै असफलता र निरर्थकतातर्फ उन्मुख छ भन्ने आभास हुने गरी क्रियाकलाप गर्न वा गर्न दिन किमार्थ मिल्दैन । विधि र पद्धतिको कार्यान्वयनमा देखा परेका गम्भीर विचलनजन्य हालको अभ्यासलाई सम्बन्धित सबैले आत्म समीक्षासहित सही मार्ग प्रशस्त गर्न सहयोग गर्न अपिल गर्दछौँ । जनताको जिउ सस्तो र आफ्नो सत्ता स्वार्थ महँगो ठान्ने भ्रमबाट मुक्त हुन पनि अनुरोध गर्दछौँ । 

संविधान निगरानी समूहमा श्री कल्याण श्रेष्ठ, पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा सदस्यहरू पूर्व प्रधान न्यायाधीश श्री सुशीला कार्की, श्री हिमालय शमशेर जबरा, अध्यक्ष, आमनिर्वाचन पर्यवेक्षण समूह (जियोक), श्री तीर्थमान शाक्य, अध्यक्ष, नेपाल कानुन समाज, श्री खिमलाल देवकोटा, सदस्य, संविधानसभा, श्री मोहनदास मानन्धर, नीति फाउन्डेसन, डा. जर्ज भरुगिज, नीति फाउन्डेसन, डा. शीलु मानन्धर बज्राचार्य, डिन, नेपाल खुला विश्वविद्यालय, डा. ऋषिकेश वाग्ले, डिन, काठमाडौँ विश्वविद्यालय, डा. विपिन अधिकारी, संविधानविद्, श्री चण्डेश्वर श्रेष्ठ, अध्यक्ष, नेपाल बार एसोसिएसन र श्री कृष्णमान प्रधान, कार्यकारी निर्देशक, नेपाल कानुन समाज रहनु भएको छ । (२०७८।१।११)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ