arrow

निगमको आफ्नै जग्गामा कार्यालयको शिलान्यास

विवादित पर्यटनमन्त्रीको दाबी - गेयर चेन्ज भयो, अब स्पिडमा बढ्छ [भिडियो]

इमानदार भएर काम गरे एक वर्षमै निगमको मुहार फेरिने दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
nigam-karyalaya-sinamangal-rnac.jpg

काठमाडौँ । नेपाल वायुसेवा निगमको सिनामंगलस्थित आफ्नै जग्गामा कार्यालयको शिलान्यास भएको छ । सिनामंगलस्थित जग्गामा निगमको प्रधान कार्यालय भवनको शिलान्यास संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गरेका हुन् । 

 शिलान्यास गर्दै किराँतीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताएका छन् । उनले सबैले इमानदार भएर काम गर्ने हो भने एक वर्षमै निगमको मुहार फेरिने दाबी गरे । उनले निगम अन्तर्राष्ट्रिय जगतमा चिनाउने देशको मुहार भएकाले निगमलाई राम्रो बनाउनुपर्ने बताए । 

उनले निगमले नेपालको इतिहास र वर्तमान गौरवलाई प्रस्तुत गर्ने बताए । उनले आफू मन्त्री बनेपछि गरेको एक वर्षको कामले कछुवाको गतिमा भए पनि निगमलाई राम्रो र व्यवस्थित बनाउन आफू लागिरहेको बताए । निगमले एक वर्षमा आफ्नो व्यवस्थापन खर्चबाट रकम निकालेर तिरेको ऋण, चिनियाँ जहाजको निकास दिने कुराको साहस र आँट, दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरूको खरिद प्रक्रिया अघि बढाइएको सन्दर्भले बिस्तारै निगम माथि उठ्दै गएको अनुभूति भएको बताए । उनले आजबाट निगमको गाडीमा गेयर चेन्ज भएकाले स्पिडमा काम अघि बढ्ने बताए ।

उनले भने, ‘मलाई लाग्छ साँच्चै हाम्रो निगम गौरवको विषय बन्नेछ । सबैले इमानदार भएर लागौँ । एक वर्ष सबैले इमानदार होऔँ । यसले दिने परिणामबाट हामी अर्कै ठाउँमा पुग्छौँ । हाम्रो देशको अनुहार, रुपै भनौँ अन्तर्राष्ट्रिय जगतमा देखाउने निगम हो । यो निगमलाई राम्रो बनाउनुपर्छ भन्ने मेरो मात्रै होइन, अहिलेको वर्तमान प्रधानमन्त्रीको पनि सपना हो । जसले हाम्रो राष्ट्रिय ध्वजा बोकेर संसारभर जाने गर्छ, जसले हाम्रो इतिहास र वर्तमान गौरवलाई प्रस्तुत गर्ने गर्दछ । त्यस कारणले निगम हामीले बनाउनै पर्छ । जति बेला म मन्त्री भएको थिएँ, अहिले एक वर्ष पनि पार भइसकेको छ । मानिसहरूले भन्थे, सुनिन्थ्यो, देखिन्थ्यो पनि । अनुभूति पनि हुन्थ्यो । सबैभन्दा ठुलो चुनौती वायुसेवा निगम जसले सफलता र असफलताको मार्गचित्र निर्माण गर्नेछ, भनेर म आफूलाई पनि लाग्थ्यो । तर यो वर्ष दिनको अनुभवले हामी पछि हटेका छौँ जस्तो लाग्दैन । कछुवाकै गतिमा भए पनि हामी अघि बढिरहेका छौँ । यो एक वर्षमा निगमले आफ्नो व्यवस्थापन खर्चबाट रकम निकालेर तिरेको ऋणको उदाहरण, वर्षौँदेखि सेतो हात्तीको रूपमा चित्रण गर्दै आएको चिनियाँ जहाजको निकास दिने कुराको साहस र आँट, दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरूको खरिद प्रक्रिया अघि बढाइएको कुरा होस्, वा अन्तर्राष्ट्रिय र हाम्रो ट्रङ्क रुटमा पनि उड्ने जहाजहरूको लिज प्रोसेस अब अन्तिम चरणमा पुगेको कुराले होस् । ढिलो भए पनि अघि नै बढेका छौँ । आजदेखि निगमको गाडीमा गेयर चेन्ज भएको छ । अब स्पिड लिने विश्वास छ ।’

 काम नगरेका कारण किराँती विरोध हुँदै आएको छ । बेलाबेला आफ्नो अभिव्यक्तिका कारण पनि किराँतीको राजीनामा मागिने गरेको छ । पर्यटन मन्त्रीको काम प्रति आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड समेत सन्तुष्ट छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ