arrow

डोटीमा वैशाख २१ देखि निषेधाज्ञा, एकै दिन ५४ जनामा संक्रमण

logo
प्रकाश बम,
प्रकाशित २०७८ वैशाख २० सोमबार
Doti-hamrakura.jpg.jpeg

डोटी । डोटीमा वैशाख २१ गते देखि निषेधाज्ञा लागु हुने भएको छ ।   जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको भन्दै जिल्लामा निषेधाज्ञा जारी गर्न सिफारिस गरेको हो ।

वैशाख २१ गते राती १२ बजे देखि वैशाख ३१ गते राती १२:०० बजे सम्म निषेधाज्ञा जारी हुने डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए  ।  

जिल्लामा समुदाय स्तरमा समेत कोरोना संक्रमण फैलिने खतरा देखिएपछि जिल्ला सुरक्षा समितिको बैठकले १० दिने निषेधाज्ञा जारी गर्ने निर्णय गरेको खनालले बताए । उनले भने,'  नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी खाद्यान्न, तरकारी, दूध, फलफूल लगायत अत्यावश्यक वस्तु खरिद विक्रीका लागि प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म र  बेलुका ५ बजे देखि ७ बजे सम्मका लागी पसल खुला गरिने छ।'

डोटीमा एकै दिन ५४ जनामा पोजेटिभ
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा परीक्षण गरिएका ५७ नमुनामा ४५ जनामा कोरोना पोजेटिभ देखिएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर ४५ जना, एन्टीजेनबाट गरिएको परीक्षणमा जोरायल गाउँपालिकामा ६ जना, केआईसिंह गाउँपालिकामा ३ जना गरी सोमबार मात्रै ५४ जना थपिएका हुन् ।

हालसम्म डोटी जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या १ सय ९८ जना पुगिसकेको जिल्ला अस्पताल डोटीका प्रयोगशाला प्रमुख सौरभ श्रेष्ठले जानकारी दिए । यस भन्दा पहिला एक सय ४४ जना सक्रिय संक्रमित रहेका थिए ।

जोरायल गाउँपालिकामा संक्रमित हुनेहरूमा २ जना स्वास्थ्यकर्मी र ४ जना कर्मचारी रहेको जोरायल गाउँपालिकामा स्वास्थ्य संयोजक गोविन्द विष्टले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ