arrow

रोबोट यन्त्रबाट भवन अनावरण गर्दै ओलीले भने: आफ्नो शैक्षिक प्रमाणपत्र आफैं समस्या नबनोस् 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
kp-oli robot.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प तिव्र गतिका साथ पूरा गर्न प्राविधिक शिक्षाको प्रवर्धन तथा विस्तार अनिवार्य भएको बताएका छन् ।

कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा नवनिर्मित सूचना प्रविधि भवनको भर्चुअल माध्यमबाट समुदघाटन गर्दै प्रधानमन्त्रीले यस्तो कुरा बताएका हुन् ।

प्रतिष्ठानको २९सौं वार्षिकोत्सवका अवसरसमेत पारेर आयोजित समारोहमा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै रोबोट यन्त्रको सहायताले भवनको रिवन काट्दै शीला स्तम्भ अनावरणसमेत गरेका थिए ।

उद्घाटन पछि कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार नागरिकलाई जीवन उपयोगी शिक्षा दिन हरेक क्षेत्रबाट लागि परेको समेत बताए । शिक्षा प्राप्त गरेकाहरुलाई आफ्नो शैक्षिक प्रमाणपत्र आफैं समस्या नबनोस् बरु त्यो प्रमाणपत्रलाई व्यक्ति समाज र राष्ट्रलाई नै उपयोगी ढंगले योगदान पुर्याउने प्राविधिक शिक्षाको प्रवर्धनमा देश लागि रहेको उनले बताए ।

कोभिड-१९ को महामारीले गर्दा भौतिक रुपमा उद्घाटन गर्न सक्नुसमेत प्राविधिक शिक्षाको सफलताको सूचक भएको धारणा पनि उनको थियो । प्रतिष्ठानले विगत दुई दशक भन्दा बढी समयदेखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम दिंदै आएको छ । हालसम्म ३३ हजार भन्दा बढी व्यक्तिहरुले प्रतिष्ठानमार्फत व्यावसायिक तालिम पाइसकेका छन् ।

कोरियाली सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को अनुदान सहयोगमा यो भवन निर्माण गरिएको हो । कोरियाले नेपाललाई उपलब्ध गराएको ५० लाख अमेरिकी डलरको प्राविधिक सहायता अन्तर्गत भवन निर्माणसँगै प्रशिक्षकको गुणस्तर अभिवृद्धि  गर्ने र खासगरी उनीहरुलाई सूचना प्रविधिकसँग अभ्यस्त गराउने उद्देश्य प्रतिष्ठानको छ ।

नवनिर्मित भवनमा इ-पुस्तकालयसमेतको व्यवस्था छ। इ-पुस्तकालय अन्तर्गत पुस्तकालय प्रवर्धन प्रणालीमार्फत प्रयोगकर्ताहरुलाई शैक्षिक सामग्री प्रदान गर्ने लक्ष्य पनि परियोजनाको  छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ