arrow

गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ४ शनिबार
aedes-aegypti-mosquito.jpg.jpeg

मलङ्गवा। गर्मी बढेसँगै सर्लाही सदरमुकाम मलङ्गवा सहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ। गर्मी मौसम सुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि  मलङ्गवा नगरपालिकाले समयमा  औषधि नछर्किँदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो।

नगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किँदा मानिसमा  लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग  लाग्न सक्ने सम्भावना बढ्दै गएको मलङ्गवाका स्थानीयवासी सुन्दर श्याम यादवले बताए।

सरसफाइ व्यवस्थापन र लामखुट्टेको न्यूनीकरणमा मलङ्गवा नगरपालिकाअन्तर्गतका १२ वटै वडा एकजुट भएर लाग्नुपर्ने अर्का स्थानीयवासी राजेश पासवानले बताए। उचित सरसफाइ हुन नसक्दा मलङ्गवा बजार क्षेत्र तथा  टोल बस्तीमा यति बेला लामखुट्टेको प्रकोप बढेको छ। गत वर्ष  नगरपालिकाले छर्केको औषधियुक्त धुवाँले पनि लामखुट्टेलाई केही फरक नपरेको मलङ्गवा नगरपालिका–२ का स्थानीयवासी विजय साहले बताए। स्थानीय बासिन्दाले यस वर्ष समयमै नगरपालिकाले प्रभावकारी औषधि खरिद गरेर छर्नुपर्ने माग गरेका छन्।

मलङ्गवाको बजार क्षेत्र र टोल बस्तीमा नियमित  सरसफाइ नहुँदा लामखुट्टेको प्रकोप बढेको स्थानीयवासीको अनुमान छ । दैनिकी रूपमा सरसफाइ गर्नुपर्ने उनीहरूको माग रहेको छ भने नगर प्रमुख निरसल साहले आफ्नो नगरपालिकाले राखेका सरसफाइकर्मीले नगर क्षेत्रको नियमित सरसफाइ गरिरहेका बताए। साथै उनले आफ्नो नगर क्षेत्रको लामखुट्टेको बढी प्रकोप हुने स्थानमा यस वर्ष पनि औषधि छर्किने बताए। नगरपालिकाले सकेको गर्दै गर्दा पनि लामखुट्टेको प्रकोप रोक्न सबै नगरवासी पनि सजग भएर लाग्नुपर्ने उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ