arrow

‘दुर्घटनारहित होली पर्वका लागि काठमाडौँ ट्राफिकको कडाइ’

logo
प्रकाशित २०७७ चैत १५ आइतबार
traffic-police-holi-2077.jpg

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरूको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाइका साथ चेकजाँच गरेको छ।

दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गरेको हो। महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ९० बढी स्थानहरूमा चेक प्वाइन्टहरू राखेर बिहान ६ बजेदेखि नै कडा चेकजाँचको व्यवस्था मिलाएको छ।

महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले होली पर्वलाई लक्षित गर्दै उपत्यकाभरि चेक प्वाइन्ट राखिएको छ, विशेष गरी होली मनाउन उच्छृङ्खल तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी बाइक हुइँक्याउने, तीन जना चढ्ने, हेलमेट नलगाउने जस्ता गतिविधिमा संलग्न चालकहरू उपर निगरानी बढाई कडाइका साथ कारबाही गरिएको बताए।

उनले रङ्गहरूको पर्वमा सबै जना फेस्टिभल मुडमा हुने, होहल्ला गरी सवारी चलाउने, नशालु पदार्थको सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर हाम्रो चेकिङलाई कडा बनाइएको हो, आज दिनभरि छिटपुट दुर्घटना भएको बताए।

महाशाखाले बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५४ जनालाई कारबाही गरेको छ। बिना हेलमेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लङ्घन गर्ने  एक हजार ६ सय ९ सवारी चालकहरूलाई कारबाही गरी छाडेको र होहल्ला गरी सवारी चलाउने, जबरजस्ती रङ्ग दल्न खोज्ने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउने १३ वटा चार पाङ्ग्रे र ४ सय ६८ वटा दुई पाङ्ग्रे सवारी साधन होल्ड गरिएको महाशाखाले जनाएको छ।

उपत्यकाका तीन जिल्लामा आज दिनभरिमा २१ वटा सामान्य किसिमका दुर्घटनाहरू भएको महाशाखाले जनाएको छ। एयरपोर्टमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदल यात्री शीतला सिंहको केएमसि. र बुढानीलकण्ठमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर भई भएको दुर्घटनामा घाइते चालकको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटना रहित होली बनाउने विशेष योजना सहितको चेकजाँचको क्रममा मोडिफाइड गरेको मोटरसाइकललाई कारबाही गर्दा पाँच सय रुपैयाँ दिने चाबहिलका मन्दिल श्रेष्ठलाई पक्राउ गरी मालीगाँउ वृत्तमा पठाएको छ भने मादक पदार्थ सेवन गरी होहल्ला गर्ने मोटरसाइकललाई कारबाही गर्न खोज्दा एक हजार रुपैयाँ दिन खोज्ने हरिसिद्धिका भक्तराज महर्जनलाई कारबाही सातदोबाटो वृत्तमा पठाएको महाशाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ