arrow

असन्तुष्टि राख्दै सकियो ओली-नेपाल समूह बैठक 

छलफल भएको तर कुरा नमिलेको !

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत २ सोमबार
UML-Meeting-final.jpg

काठमाडौं। नेकपा एमालेका केपी शर्मा ओली समूह र माधवकुमार नेपाल समूह बीचको बैठक असन्तुष्टि राख्दै सकिएको छ । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा भएको दुई समूहबीचको छलफलमा असन्तुष्ट रहँदै आएका नेपाल पक्षले आफ्ना अडान राखेका हुन् । 

बैठकमा सहभागी नेता भीम रावलले बैठकमा पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजाने भन्ने विषयमा छलफल भएको तर कुरा नमिलेको बताए । 

उनले तीन वर्षअघि जुन अवस्थामा एमाले थियो त्यही स्थितिबाट अघि बढ्नु पर्ने सन्दर्भमा आआफ्ना धारणा बैठकमा राखेको जानकारी दिएका हुन् । 

उनले आफूहरू बामपन्थी एकताको पक्षमा रहेको र पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने दिशामा केन्द्रित भएको जानकारी दिए ।  

नेता रावलले २८ गतेको बैठकको निर्णयको प्रभाव शून्य हुनु पर्ने अडान आफूहरूले राखेको र त्यो निर्णयलाई नमान्ने धारणा बैठकमा प्रष्ट रूपमा राखेको जानकारी दिए । तर, अध्यक्ष ओलीले भने ठोस जवाफ नदिएकाले कुनै निष्कर्षमा भने नपुगिएको जानकारी दिएका हुन् । 

बैठकमा नेपाल पक्षले पार्टीकारीको जिम्मेवारी खारेज गर्ने र प्रदेश इन्चार्ज परिवर्तनको निर्णय फिर्ता हुनु पर्ने अडान राखेका थिए । 

एमाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको छलफलमा एमाले अध्यक्ष केपी ओलीसहित ओली समूहबाट महासचिव ईश्वर पोखरेल, नेताहरू विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी थिए भने नेपाल समूहका तर्फबाट भीम रावल, घनश्याम भुषाल, रघुजी पन्त सहभागी थिए ।

छलफलमा वरिष्ठ नेता खनालले भने आफूलाई नबोलाएकाले नगएको बताएका थिए । 

एमाले अध्यक्ष ओलीले गत २८ फागुनमा नेपाल-खनाल पक्षमा रहेका पार्टीका पदाधिकारीलाई हटाएका थिए भने प्रदेशमा रहेका सो समूहका इन्चार्जहरूको जिम्मेवारीसमेत खोसिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ