arrow

रवीन्द्र अधिकारी : विकास र समृद्धिका कुशल योजनाकार, अद्वितीय क्षमताका धनी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
rabindra-adhikari.jpg

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. श्रीकान्त खतिवडाले रवीन्द्र अधिकारीलाई राष्ट्रिय राजनीति मात्रै नभएर देशको विकासका महत्वपूर्ण योजनाकार, प्रभावशाली छवि भएका नेताको रूपमा चित्रित गरे ।

अधिकारीको ५५औं जन्मजयन्तीको अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजित ‘स्मृतिमा रवीन्द्र अधिकारी’ परिसंवाद कार्यक्रम खतिवडाले यस्तो बताएका हुन् ।

उनले राजनीतिलाई इमानसँग जोडेर जनताको विश्वास निरन्तर जित्ने सफल नेता रवीन्द्र भएको र रवीन्द्रले खोजेको समृद्ध समाज निर्माणका लागि मेहनतकासाथ लाग्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका सदस्य कालिदास तिमिल्सिनाले विकास र समृद्धिका कुशल योजनाकार भन्दै अधिकारी आफ्ना कुरा स्थापित गर्न सक्ने अद्वितीय क्षमताका धनी भएको बताए ।

प्रतिष्ठानका अर्का सदस्य राजेन्द्रमणि लामिछानेले अधिकारी कुशल नेता मात्रै नभएर विकासका असली अभियन्ता र साझेदार भएको उल्लेख गरे ।

कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी, नेपाली कांगे्रेस कास्कीका सभापति किशोरदत्त बराल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व सदस्य डा. शान्ता खत्री, पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालालगायतले रवीन्द्र राजनीतिलाई संस्कार र अनुशासनसँग जोडेर विकासमा सृजनशीलता जोड्ने नेता भएको उल्लेख गरे ।

प्रतिष्ठान अध्यक्ष विद्या भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सदस्य अर्जुन अधिकारी र सञ्चालन सदस्य रश्मि आचार्यले गरेका थिए ।

जन्मजयन्तीको दिन आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको थियो ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।

तेह्रथुममा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङको पाथीभरा पुगेका मन्त्री अधिकारीसहित ७ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

सो दुर्घटनामा मन्त्री अधिकारीसँगै यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्री अधिकारीका पिएसओ अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

तत्कालीन मन्त्री अधिकारी कास्की क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका थिए । अधिकारीले वि.सं २०४२ मा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन सुरू गरेसँगै विद्यार्थी संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्दै २०५६ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बनेका थिए ।

वि.सं २०६४ र २०७० को संविधानसभा सदस्यमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित र २०७४ सालको प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नं २ बाट अधिकारी निर्वाचित भएका थिए ।

उनले २०७४ चैत २ गते नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

साथै अधिकारी ०६२/६३ को आन्दोलन र त्यस अगाडिको प्रतिगमन विरुद्धको आन्दोलनमा पटकपटक गरी ५ महिना जेल बसेका छन् ।

२०६४ सालमा निर्वाचित भएपछि सार्वजनिक लेखा समितिमा रहेर जलविद्युत, फ्रिक्वेन्सी, सार्वजनिक संस्थान, बैंक, उद्योग, सेना, विकास खर्च, एमआरपी आदि विषयमा विभिन्न उपसमितिमा रहेर त्यसको नेतृत्व गरी काम गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ