arrow

राजेन्द्र महतोको प्रश्न : ‘शासकहरुलाई सित्तैमा समर्थन गर्न जन्मेको हो हामी ?’ 

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
rajendra-mahato-new-aa.jpeg

काठमाडौं । जनता समाजवादी पार्टीका शीर्ष मध्येका एक नेता राजेन्द्र महतोले शासकलाई सित्तैमा समर्थन गर्न नसकिने बताएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकपछि संसद भवनबाट बाहिरिदैं गर्दा जसपा नेता महतोलाई पत्रकारहरुले ‘तपाइहरु सरकारमा जाने तयारीमा हो ?’ भनी सोधेको प्रश्नमा महतोले ‘शासकहरुलाई सित्तैमा समर्थन गर्न जन्मेको हो हामी ?’ भन्दै प्रतिक्रिया दिएका हुन् । 

महतोले पहिले पनि केपी ओली नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलले समर्थन दिएको तर ओलीले वाचा पुरा नगरेको बताए । 
‘पहिले पनि सरकारलाई हामीले समर्थन गरेकै हौं, केपी ओलीले ठग्ने बाहेक केही गरेनन्, अहिले पनि उधारोमा सहमति हुन्न, पहिले माग पुरा गर्नु पर्छ, अनि अरु कुरा हुन्छन्,’ महतोले भने ।

महतोले एमालेसँग छलफल गर्न कार्यदल बनेको तर सरकारमा जानका लागि भने कार्यदल नबनाइएको बताए । कार्यदलले जसपाले अघि सारेका मागका विषयमा छलफल गर्ने उनले बताएका हुन् ।

उनले सांसद रेशम चौधरीको रिहाइ, मधेस, थरुहटको मुद्दा फिर्ता, संविधान संशोधन लगाएतका माग पुरा भए सरकारका विषयमा छलफल गर्न सकिने बताए ।

जसपाले र एमालेले आन्तरिक मुद्दामा छलफल गर्न भन्दै कार्यदल बनाइसकेका छन् । कार्यदलले सत्ता समीकरण र सहयात्रा बारे पनि छलफल गर्ने बताउदै आइएको छ ।  

कार्यदलमा सत्तासीन एमालेबाट उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा।राजन भट्टराई छन् । 

जसपाबाट नेता सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण कार्यदलमा छन् । कार्यदलका सदस्यहरूबीच कसरी अघि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।

स्रोतका अनुसार कार्यदलमा जसपाका तर्फबाट रहेका नेताहरूले थुनामा रहेका नेता रेशम चौधरीलाई रिहाइ गरेर अघि बढ्ने गरी प्रस्ताव गरेका छन् । सो सर्तमा एमालेतर्फका नेताहरू सहमत छन् । कार्यदल गठनबारे जसपाको मङ्गलवारको संसदीय दलको बैठकमा नेता महन्त ठाकुरले जानकारी दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ