arrow

संसद् विघटनको मुद्दामा बहस सकियो, पुनर्स्थापना कि विघटन भन्ने टुङ्गो चार दिनपछि

१० गतेसम्म बहस नोट दिनु पर्ने

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
Supreme-court-judges1.jpg

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनका विरुद्ध परेका मुद्दामाथिको बहस सकिएको छ ।  सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनका विरुद्ध १३ वटा रिट परेको थियो । सो रिट उपर संवैधानिक इजलास गठन गरी हरेक दिन बहस हुँदै आएकोमा शुक्रवारबाट सकिएको हो ।

संवैधानिक इजलासका प्रमुख प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले शुक्रवारको बहसपछि सकिएको भन्दै बहस नोट पेश गर्न भनेका छन् । बहस नोट दिन रिटका पक्ष, विपक्ष र एमिकस क्युरीका रूपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरिएको हो ।

शुक्रवार एमिकस क्युरीका सदस्य गीता सङ्ग्रौलाले बहस टुङ्ग्याएपछि ११ फागुनपछि सो विषयमा सर्वोच्च अदालतबाट निष्कर्ष आउने भएको हो । १० फागुनसम्म भने बहस नोट पेश गर्ने समय तोकिएको छ ।

यस्तै ११ गतेपछि फैसलाको प्रक्रिया सुरु हुने र त्यसपछि जति बेला पनि अदालतको फैसला आउने प्रधानन्यायाधीश राणाले इजलासमा जानकारी गराएका हुन् ।

सरकारले गत ५ पुसमा प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधि सभा विघटनको प्रस्ताव गरेको थियो भने । मन्त्रीपरिषद्बाट आएको प्रस्तावलाई राष्ट्रपतिले स्वीकृत गरेकी थिइन् ।

त्यसपछि सर्वोच्च अदालतमा ७ पुसमा नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका सांसदहरू र अन्य कानुन व्यवसायीहरूले समेत गरी प्रतिनिधि सभा विघटन विरुद्ध १३ वटा रिट दायर गरेका थिए ।

प्रधानन्यायाधीश राणा नेतृत्वले हेरिरहेको संवैधानिक इजलासमा न्यायाधिशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ