arrow

प्रदेश २ सरकारले गर्‍यो आफ्नो तीन वर्षको कार्य प्रगति विवरण सार्वजनिक

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ फागुन ३ सोमबार
province-2-report.jpg

जनकपुरधाम । प्रदेश नम्बर दुई सरकारले आफ्नो तीन वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । नेपालको संविधान २०७२ ले परिकल्पना गरे बमोजिम मुलुक सङ्घीय संरचनामा रूपान्तरण भई सके पछि वि.सं. २०७४ साल फागुन ३ गते भएको प्रदेश दुई सरकारले सोमबार आफ्नो तीन वर्षको कार्यपत्र विवरण सार्वजनिक गरेको हो ।
 
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको ३ बर्षे कार्यकाल पूर्ण रूपमा सफल भएको दाबी गरे। सङ्घीयतालाई असफल पार्ने तत्त्वहरू सक्रिय रहेको समयमा प्रदेश सरकार सङ्घीयतालाई संस्थागत गर्न तर्फ अगाडी बढिरहेकोले आफ्नो नेतृत्वको सरकार सफल रहेको मुख्यमन्त्री राउतले जानकारी दिए।

प्रदेश २ सरकारको ३ वर्ष पूरा भएको अवसरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी मुख्यमन्त्री राउतले सङ्घीय सरकारको असहयोगका बाबजुद आफ्नो कार्यकाल सफल रहेको दाबी गरे ।  देशमा सङ्घीयता र प्रदेश २ सफल भए मात्रै सङ्घीयताको रक्षा हुने बोल्दै मुख्यमन्त्री राउतले सङ्घीयता संस्थागत गर्न प्रदेश सरकार लागिपरेको जानकारी गराए।

राजनैतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका माध्यमबाट प्रदेशका जनताको सर्वोत्तम हित र समुन्नति प्रत्याभूत गर्ने कार्यलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए ।

मुख्यमन्त्री राउतले यो सरकार आफ्नो कार्यकाल अवधिसम्म रहने दाबी गरे। प्रदेश नम्बर २ मा जन्मिएका छोरीहरूको सुरक्षा, शिक्षा र सशक्तीकरणका लागि बेटी पढाऊ, बेटी बचाउ कार्यक्रम कार्यान्वयनमा ल्याइएको मुख्यमन्त्री राउतले जानकारी गराए।
मुख्यमन्त्री राउतले जनताको म्यान्डेटबाट बनेको सरकार रहेकोले सरकारले ५ वर्ष पूरा गर्ने बताए ।

यस कार्यक्रम अन्तर्गत हालसम्म ६ हजार ९ सय ६ जना छोरीहरूलाई २० वर्ष पछि ३ लाख पाउने गरी छोरी बिमा र मुद्दती खाता खोली प्रदेश सरकारबाट रकम जम्मा गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययन गरी एसइई परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्न सफल ८ वटै जिल्लाका उत्कृष्ट २८ जना छात्राहरूलाई जनही प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार रकम प्रदान गरिएको छ ।

प्रदेश सरकार स्थापना भएदेखि हालसम्म सेवा प्रवाह तथा विकास गतिविधि सञ्चालन गर्न १ खर्ब ७ अर्ब बजेट व्यवस्था गरिएको जानकारी दिए । प्रदेश सरकार तथा स्थानीय तहबिच सहकार्य समन्वय तथा साझेदारीको भावना अभिवृद्धि गर्न प्रदेश भित्रका १३६ स्थानीय तहहरूलाई यस अवधिमा वित्तीय हस्तान्तरण मार्फत ४ अर्ब ७७ करोड समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान तथा राजश्व बाँडफाँडबाट उपलब्ध गराइएको बताए ।

हालसम्म यस प्रदेशमा २६ हजार ९ सय ५६ जना छोरीहरूको तथ्याङ्क सङ्कलन गरिएको छ । त्यस्तै, छोरीलाई विद्यालयमा पहुँच पुर्‍याउन र प्रोत्साहित गर्ने उद्देश्यले २४१ वटा सामुदायिक विद्यालयमा १४ हजार साइकल वितरण गरिएको र सोही कार्यक्रम अन्तर्गत थप २० हजार साइकल वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको मुख्यमन्त्री राउतले बताए ।

प्रदेशका ८ वटै जिल्लाका सामुदायिक विद्यालयहरूमा छात्रामैत्री शौचालयको अभावको समस्या समाधान गर्न तथा विद्यालयमा छात्राहरूको पढाइलाई निरन्तरता बढाउने उद्देश्यले १ सय सामुदायिक विद्यालयहरूमा छात्रामैत्री शौचालय निर्माण गरिएको बताए ।

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत धार्मिक पर्यटनलाई बढवा दिन प्रदेशस्थित विभिन्न समुदायमा गौरवको रूपमा रहेको जानकी मन्दिर, रौजा मजार, छिन्नमस्ता भगवती, सहलेश स्थान, पारशनाथ, भिसवा बौद्ध गुम्बाहरुको संरक्षण तथा सौन्दर्यीकरणको कार्य अगाडि बढाइएको छ।

हालसम्म प्रदेश प्रमुखबाट ३९ वटा विधेयक प्रमाणित भई कार्यान्वयनमा आएको र २२ वटा विधेयक प्रदेश सभाको विधायन समितिमा विचाराधीन अवस्थामा रहेको बताए ।

प्रदेशलाई प्राविधिक शिक्षाको हव बनाउन ६४ वटै निर्वाचन क्षेत्रमा प्राविधिक विद्यालय सञ्चालनको पूर्व तयारी गरिएको तथा प्रदेशको गौरवको आयोजनाको रूपमा सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको निर्माणका लागि बाराको झिट्कैयामा प्रारम्भिक कार्य सुरु गरिएको जानकारी गराए।

चुरे जोगाउ मधेस बचाउ नीति अनुरूप ‘समृद्धि का लागि वन परियोजना’ स्वीकृत भई प्रदेश भित्रको २५ वटा पालिकामा लागू हुने गरी कार्य अघि बढाइएको बताए ।  ८ वटै जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयहरूलाई खाद्यान्न खरिद गर्न प्रत्येक जिल्लालाई २ करोडका दरले १६ करोडको खाद्य सामग्री खरिद गरी १३६ वटै स्थानीय तहका वडा अध्यक्षहरूलाई हस्तान्तरण गराइएको बताए ।

कार्यक्रममा प्रदेश का सबै मन्त्री राज्यमन्त्री, महान्यायाधिवक्ता, नीति आयोगका उपाध्यक्ष सहित कर्मचारीका प्रमुखहरू सहितकालाई राखेर प्रदेश २ सरकारका तर्फबाट मुख्यमन्त्री राउतले सार्वजनिक गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ