arrow

प्रदेश २ मा प्रदेश परिवहन बस संचालनको तयारी, यस्तो छ मन्त्रालयको प्रगति

logo
निरंजन कुमार साह
प्रकाशित २०७७ फागुन १ शनिबार
sonal.jpg

जनकपुरधाम । जनतालाई सरल, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश परिवहन ल्याएको छ।

प्रदेश नम्बर २ का  भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले शनिबार पत्रकार सम्मेलनमा बोल्दै कार्यविधि निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी गराए ।

बस चाँडै सञ्चालनमा ल्याउने जानकारी गराउँदै उनले बस सेवा सञ्चालनका लागि एउटा संचालक समितिको गठन गर्ने र बस सेवा संचालनको सम्पूर्ण जिम्मेवारी प्रदान गरिने बताए । संचालक समितिले नै बसको चालक, सहचालक तथा अन्य कर्मचारी भर्ती गर्ने पनि मन्त्री सोनलले जानकारी गराए।

सोनलले प्रदेश परिवहन सेवा फागुन महिनाभित्रै सञ्चालनमा ल्याउने बताए। मन्त्रालयले प्रदेश परिवहन सेवाका लागि बस खरिद गरेर धनुषाको ढल्केबरमा महिनौंदेखि थन्काएर राखेको थियो । त्यसको चौतर्फी आलोचना हुन थालेपछि मन्त्री सोनलले फागुन महिना भित्रै बस सेवा सञ्चालनमा ल्याउने जनाए ।

धनतेरसका दिन पाँच वटा बस ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा खरिद गरिएको थियो । कार्यविधि अभाव तथा बसको भुक्तानी हुन नसकेकोले बसहरु त्यतिकै थन्काएर राखिएको थियो । ५ वटै बसको भुक्तानी गत पुस महिनामै भइसकेकाले कार्यविधि निर्माणको कार्य सम्पन्न भएलगत्तै बस सेवा सञ्चालनमा आउने मन्त्री सोनलले बताए ।

जनकपुरधामदेखि वीरगञ्ज, वीरगञ्जदेखि जनकपुरधाम र जनकपुरधामदेखि राजविराजसम्म प्रदेश परिवहन सेवा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । 

प्रदेश परिवहन सेवा सञ्चालन भएपछि यसले प्रदेशको ८ वटै जिल्लाका सदरमुकामलाई जोड्नेगरी सेवा प्रदान गर्ने जानकारी दिइयो । बस ५० सीट क्षमता भएको, सीसीटीभी क्यामेरा, स्वचालित ढोका र वाइफाइको सुविधा समेत रहेको छ । 

प्रदेश २ मा  प्रदेश परिवहन सेवा सञ्चालनमा आएपछि सार्वजनिक यातायातभन्दा सरल, सुलभ, सुरक्षित र व्यवस्थित हुने मन्त्री सोनलले  जानकारी गराए। मुलुकमा रहेको सात प्रदेश मध्ये प्रदेश २ मा सबैभन्दा पहिलो प्रदेश परिवहन बस ल्याउने भएको हो ।

मन्त्रालयद्वारा ०७६÷०७७ मा गरिएको प्रगति सार्वजनिक मन्त्री जितेन्द्र सोनलले कोभिड–१९ संकटकाबीच आफ्नो मन्त्रालय योजना अनुरुप काम  सम्पन्न गर्न सफल भएकोमा खुशी ब्यक्त गरे ।

त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्रमा ३२० किमी पक्की सडक निर्माण गरिएको ,७४.९० किमी पक्की सडक ढलान भएको,१७०.१७ किमी ग्राभेल सडक निर्माण भएको, ३० वटा पुल निर्माण,५.५४ किमी नाला, १४ वटा कल्भट निर्माण भएको, ५९.८१ किमी नयाँ कच्ची सडक र १० वटा  झुलगें पुल मध्ये तीनवटा निर्माण कार्य सम्पन्न भइसको मन्त्री सोनलले बताए ।

प्रदेशमा ९३ वटा नयाँ  हेडवक्र्सको निर्माण कार्य जारी रहेको जानकारी गराउँदै करिब १६ सय खेतीयोग्य जमिनमा सिंचाइ सुविधा प्रदान गरिएको, २६ वटा धर्मशालाको निर्माण गरिएको ,९ वटा दलित छात्राबास निर्माण गरिएको जानकारी गराए । पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकास मन्त्रालयको  राज्यमन्त्री डिम्पल झा, सचिव राम अधार साह लगायतका  कर्मचारीहरु सहभागी थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ