arrow

हलेसी क्षेत्र विश्वकै प्रमुख धार्मिक ‘हब’ बनाउने गरी काम भइरहेको छः इवान राई

logo
प्रकाशित २०७७ फागुन १ शनिबार
ewan_raii.jpg

काठमाडौं । पूर्वी नेपालको चर्चित पर्यटकीय स्थल हो हलेसी । ‘पूर्वको पशुपतिनाथ’ अर्थात् त्रि-धार्मिक तपोःभूमी भनेर चिनिएको हलेसी खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा पर्छ । आठ गाउँपालिका र दुई नगरपालिकामध्ये हलेसी तुवाचुङ पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ ।

हुनतः हलेसी मन्दिरलाई स्थानीय तहको मातहतमा नभई केन्द्रीय सरकारको नियन्त्रणमा हुनुपर्ने माग उठेको थियो । तर नगरपालिकाका मेयर इवान राई आफ्नै प्रयासमा मन्दिरलाई नगरपालिकाकै मातहतमा राखेर मन्दिर क्षेत्रलाई विश्वकै नमुना धार्मिक पर्यटकीय स्थलमा रूपमा विकास गर्ने अभियानमा छन् ।

मेयर राईको सक्रियतामा हलेसी मन्दिर परिसरमा व्यापक सुधार आइसकेको छ । भौतिक संरचना निर्माण गरेर मन्दिर दर्शन गर्न पुग्ने भक्तजनहरूलाई सहज भएको छ । त्यति मात्र नभई नगर क्षेत्रभित्र विविध सुधारका कामहरू मेयर राईको अगुवाइमा भइरहेको छ । राई भन्छन्,‘हलेसी मन्दिर हिन्दु, किराँत र बुद्धिस्टहरूको संगम स्थल भएकाले यसलाई बृहत् दीर्घकालीन गुरुयोजना अनुसार काम भइरहेको छ, संभवत मेरो कार्यकालमा हलेसीलाई विश्वका मानिसहरूको महत्त्वपूर्ण धार्मिक गन्तव्यका रूपमा विकास गर्नेछौं ।’

नगरपालिकाको मेयरका रूपमा जितेर आइसकेपछि हलेसी मन्दिर परिसर हराभरा भइसकेको अर्थात् सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरेको मेयर राईको दाबी छ । भक्तजनहरूलाई सहजै रूपमा दर्शन गर्न, मन्दिरको भेटी व्यवस्थापन गर्न, सीसी क्यामेरा जडान गरेर भेटीलाई पारदर्शी गराउने काम नगरपालिकाले गरिसकेको राई बताउँछन् । त्यसबाहेक अन्य ऐतिहासिक र पुरातात्त्विक क्षेत्रहरूको पहिचान र प्रवर्द्धन गर्ने काम भइरहेको छ । सडक, बिजुली, खानेपानीको व्यवस्थापनमा नगरले धेरै काम गरिसकेको छ । हलेसीको भेटीबाट संकलित रकमको प्रयोग नगरी नगरपालिकाकै बजेटबाट हलेसी क्षेत्रलाई हराभरा बनाएको उनले बताए ।

मेयर राईले हलेसीलाई मात्र विकास गर्न खोजेको नभई नजिकै रहेको तुवाचुङ क्षेत्रलाई पनि अर्को महत्त्वपूर्ण हबका रूपमा विकास गर्न खोजेको बताउँछन् । उनी भन्छन्, तुवाचुङ किराँतीहरूको आदिम भूमि हो । किराँतीहरूले औद्योगिक भूमि, शिकार गर्न सिकेको उद्गमथलो हो । हिन्दुहरूको भष्मासुर र शिवजीको कथा जोडिएको पवित्र स्थान हो भने बुद्धिस्ट धर्मका आचार्य गुरु पद्यमसंवतले अमरत्व प्राप्त गरेको स्थान भएकाले संसारकै धार्मिक हब बनाउने गरी सबै विज्ञहरूलाई राखेर गुरु योजना थालेका छौं’, उनी भन्छन्,‘हलेसी र दुवाचुङ विश्वकै मानिसहरूको धार्मिक हब बन्न सक्ने प्रशस्तै आधारहरू छन् ।’

पद्यमसंवत पार्क र धर्मशाला निर्माणको तयारी

बौद्ध धर्मावलम्वीहरुले दोस्रो बुद्धका रूपमा मान्दै आएका गुरु पद्यमसंवतले अमरत्व प्राप्त गरेको स्थानमा ६० फिट अग्लो प्रतिमा निर्माण गर्ने गरी करिब एक अर्ब रुपैयाँको लागतमा पद्यमसंवत पार्क निर्माणको तयारी छ । बौद्ध महासंघको सहयोगमा निर्माण गर्न लागिएको उक्त पार्क पाँच वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको मेयर राईले जानकारी दिए ।

निर्माण सम्पन्न भएपछि सबै व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले नै सम्हाल्ने गरी सम्झौता भएको पनि उनले जानकारी दिए । नगरपालिकाको अगुवाइमा नेपाल आयल निगमसँग सहकार्य गरेर पाँच करोड रुपैयाँको लागतमा धर्मशाला निर्माणको तयारी भइरहेको छ ।

धुलाम्मे होस तर सडक पुग्यो, बिजुली बल्यो

हुनतः खोटाङलाई पिछडिएको क्षेत्रका रूपमा गणना हुने गरेको भए पनि अब विकासका दृष्टिकोणले त्यस्तो रहेन । मेयर राई भन्छन्,‘सबै वडामा सडक संजालले जोडेका छौं, बजेटले भ्याएसम्म धुलाम्मे भए पनि सडक पुगेको छ । अहिले मानिसहरू बजार वा अस्पताल जान अटो चढ्छन्, एम्बुलेन्स बोलाउँछन् ।’ मध्य पहाडी लोकमार्ग बाहेक अन्य सडकलाई पक्की बनाउन नसके पनि हलेसी खण्डको मार्गलाई स्तरोन्नतिको काम भइरहेको छ । 

उज्यालो नगरपालिका अभियान अन्तर्गत गाउँमा विद्युत् विस्तार भइरहेको छ । पूर्वी पहाडी जिल्ला अन्तर्गत हलेसी पहिलो नगर बन्नेछ । जहाँ ११ वटै वडामा विद्युत् विस्तार हुनेछ । सबै वडा उज्यालो बन्नेछ । ‘हाम्रो उज्यालो वडा बनाउने अभियान नै हो, विद्युत्बाटै आय आर्जनको माध्यम बनाउने छौं र प्रदेश १ को पहाडी जिल्लाको सबै वडा उज्यालो बनाउने पहिलो नगरपालिका हुनेछ’, मेयर राईले दाबीका साथ भने । त्यसबाहेक अन्तर्राष्ट्रिय खेल मैदान निर्माण तथा खेल क्षेत्रमा पनि महत्त्वपूर्ण कामहरू भइरहेको उनले बताए ।

सबै वडामा वर्थिङ सेन्टर

खोटाङमा सुविधा सम्पन्न स्वास्थ्य चौकी वा अस्पतालको अभावमा महँगो शुल्क तिरेर अन्यत्र जानुपर्ने अवस्था यद्यपि कायम छ । कतिपय बिरामीलाई हेलिकोप्टर मार्फत काठमाडौं ल्याउनुपर्ने बाध्यता छ । तर हलेसी तुवाचुङ नगरपालिका भित्रका सबै वडामा प्रसूति गृह(वर्थिङ सेन्टर) निर्माण गरिएको मेयर राईले जानकारी दिए । 

‘नगरभित्र महिला स्वास्थ्यका लागि ठुलो समस्या थियो, सुत्केरी र शिशु मृत्युदर उच्च थियो तर अब बर्थिङ सेन्टर सबै वडामा निर्माण गरिसकेका छौं र स्वास्थ्य सेवालाई प्रभावकारी बनाएका छौं’, उनले भने । विकट स्थानमा अहेव स्तरको जनशक्ति खडा गरेर शहरी स्वास्थ्य इकाई पनि स्थापना गरिएको छ । 

पोषणका कार्यक्रमहरू अघि बढाएको पनि उनले जानकारी दिए । शिक्षा सुधार वर्ष घोषणा गरेर काम अघि बढेको छ । शिक्षा ऐन निर्माणको चरणमा छ । शैक्षिक क्षेत्रको सुधारमा लागि नयाँ शिक्षक भर्ना र नयाँ दरबन्दी थप गर्ने काम गरेको मेयर राईले जानकारी दिए ।

अर्को नौलो प्रयास 

नेपालमा कोरोना भाइरस महामारीको संक्रमण फैलिन थालेपछि गत चैतमा काठमाडौंमा संत्रास फैलियो । सरकारले लकडाउनको घोषणा गर्‍यो । मानिसहरू गाउँ फर्किन नसक्ने अवस्थामा पुगे । तर मेयर राईले काठमाडौंमा रहेका आफ्ना नगरबासीलाई करिब ३० वटा गाडीमार्फत गाउँ गाउँ पुर्‍याए ।

‘महामारीको त्रासका कारण मानिसहरू भोकभोकै आत्महत्या गर्ने अवस्था आउने भएपछि मैंले नेपालमै पहिलो पटक सुरक्षित ढंगबाट नगरबासीलाई घर घर पुर्‍याएँ’, उनले भने, ‘जब नगरबासी गाउँ पुगे बाँझो खेतबारीमा खेतीपाती सुरु भयो, यो मेरो नौलो प्रयास थियो ।’ अर्को प्रयास भनेको हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश स्थानमा खानेपानीको समस्या छ । उनले खानेपानीको व्यवस्थापनका लागि लिफ्टिङमार्फत एक घर एक धारा व्यवस्था गर्ने काम अन्तिम चरणमा पुगेको मेयर राईको दाबी छ । 
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ