arrow

संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनको नेतृत्व लिन तयार छ : रामचन्द्र पौडेल

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ २८ बुधबार
Ramchandra-Poudel.jpg

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस आन्दोलनको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।

बुधवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहको नेकपाले काठमाडौंमा गरेको विरोध सभाका क्रममा प्रचण्ड, नेपालसहितका नेताहरूबाट कांग्रेसलाई संयुक्त आन्दोलनको खुला प्रस्ताव आएपछि हाम्राकुरासँगको संवादमा नेता पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनको नेतृत्व गर्न तयार रहेको बताए । 

‘संविधानको रक्षाका लागि २०४६ र २०६२/०६३ मा पनि कांग्रेसले नेतृत्व लियो,  फेरी पनि संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको नेतृत्व गर्न कांग्रेस तयार छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले हाम्राकुरासँगको संवादमा भने । 

उनले संयुक्त आन्दोलनका लागि कांग्रेस तयार नभएको नभई समय मात्रै कुरेको पनि बताए । ‘संयुक्त आन्दोलनका लागि अहिले अलिकति बेला भएको छैन भनेको हो, कांग्रेस आन्दोलनका लागि तयार नभएको होइन, कुन कम्युनिष्ट कता लाग्छन् कांग्रेसलाई त्यता चासो छैन, कांग्रेसलाई संविधान र लोकतन्त्रको चासो र चिन्ता छ ।’ वरिष्ठ नेता पौडेलले भने ।  

बुधवारको विरोध सभालाई सम्बोधन गर्नेक्रममा प्रचण्डले लोकतन्त्र ल्याउन, संविधान निर्माण गर्न र गणतन्त्र र संघियतामा मुलुकलाई अघि बढाउन नेतृत्व दिएको पार्टी कांग्रेसलाई आफ्नै नेतृत्वमा बनेको संविधानको हत्या हुँदा हेरेर नबस्न आग्रह गरेका थिए । 

‘गिरिजा बाबुले नेतृत्व गर्नु भएको कांग्रेसकै नेतृत्वमा लोकतन्त्र आयो, संविधान सभामा शुशिल कोइरालाले नेतृत्व लिनु भयो संविधान आयो, गणतन्त्र र संघीयता पनि कांग्रेसकै नेतृत्वमा आयो, त्यसबेला कांग्रेसका सभापति शेरबहादुर जी पनि कहीं न कही हुनुहुन्थ्यो, अहिले संविधानको हत्या हुँदा भ्रममा परेर कांग्रेस बस्न मिल्छ ?, कांग्रेसलाई यो अवसर हो, हामी हातेमालो गर्न तयार छौं,’ कांग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव गर्दै प्रचण्डले भनेका थिए । 

विरोध सभालाई सम्बोधन गर्ने क्रममा नेकपा अध्यक्ष नेपालसहित, नेताहरू झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले समेत कांग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ