arrow

प्रचण्ड-नेपाल समूहले गर्‍यो विराटनगरमा विरोध सभा

logo
विवेक मिश्र,
प्रकाशित २०७७ माघ १६ शुक्रबार
prachnda.jpg

मोरङ । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले विराटनगरमा शुक्रबार वृहत विरोध सभा गरी प्रधानमन्त्रीको उक्त कदम सच्याउन दवाव दिएको छ ।   विराटनगरको जनआन्दोलन चोकमा आयोजित विरोध सभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य योगश भट्टराईलगायतले सम्बोधन गर्दै प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै सच्याउन माग गरेका थिए ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटनले नेपालको सार्वभौमिकतामाथि प्रहार भएको आरोप लगाए । ‘प्रधानमन्त्रीले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेर नेपालको सार्वभौमिकता विघटन गर्ने प्रयत्न गर्नुभयो,’ अध्यक्ष प्रचण्डले भने ‘जनताले बनाएको संविधान विघटन गर्ने प्रयत्न गर्नुभयो तर जनताले उहाँको कदमलाई अस्वीकार गर्नेछन् ।’

संविधानको व्यवस्था विपरित कसैले गर्दैमा प्रतिनिधि सभा विघटन नहुने अध्यक्ष प्रचण्डको भनाई थियो । आवश्यक परेको खण्डमा सभामुखले प्रतिनिधि सभाको बैठक आव्हान गर्ने र सबै सांसदहरु बैठकमा सहभागी हुने तयारी भइरहेको उनले बताए । ‘आवश्यक परेमा प्रतिनिधि सभाको बैठक बसेर हामी प्रधानमन्त्रीलाई कारवाही  गर्छौं,’ प्रचण्डले भने ।

उक्त सभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले मनोनयन गरेका केन्द्रीय सदस्यहरुलाई निर्वाचन आयोगले अस्वीकार गरेर पहलमानको सिंगजुरो फुकालिदिएको टिप्पणी गरे । उनले ७० प्रतिशत केन्द्रीय सदस्यहरु भएको पार्टी नै मुलपार्टी हो भन्दै  पूर्व एमालेको मुलधारसमेत यही भएको दावी गरे । उनले सूर्य चुनाव चिन्ह र कम्युनिष्ट आन्दोलनको मुलधार आफुहरु भएको बताए । ‘मूल पार्टी यही हो । सूर्य चिन्ह यही हो । झलनाथ खनाल यहीँ हुनुहुन्छ, माधव नेपाल यहीँ छु, यो एमालेको मूलधार हो । यो बाहेक एमालेको मुलधार अरु कसरी हुन्छन्,’ उनले बताए । प्रधानमन्त्रीले आफ्नो ओहोदाको दुरुपयोग गरेर संविधान मिच्ने काम गरेको टिप्पणी समेत गरे ।

कार्यक्रममा बोल्दै नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले नेपाली काग्रेंसले २०१७ र २०६० सालमा राजाहरुबाट भएको प्रतिगमनको विरुद्ध उभिएर इतिहासमा लोकतन्त्र र परिवर्तनको रक्षा गरेको भन्दै प्रशंशा गरे । उनले मुलुक विधि, पद्दति, र संविधान मार्फत चल्ने भन्दै उनले संविधान विपरितका काम अदालतबाट सच्चिनेमा आफुहरु विश्वस्त रहेको बताए । उनले सरकार र केही प्रतिगामी शक्तिबाहेक सबै प्रतिनिधि सभा पुर्नस्थापना हुनेमा आफुहरु विश्वस्त रहेको बताए ।  उक्त जनसभा अघि विराटनगरको बरगाछी, हाटखोला, रोडशेष र तीनपैनीसहित चार स्थानबाट जुलुस निस्किएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ