arrow

ओली सरकारको कदम बिरुद्ध झापाका १३१ वटै वडामा विरोध प्रदर्शन

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ माघ ८ बिहिबार
jhapa-birodh.jpg

झापा । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन विरुद्ध बिहिबार देशका सबै वडाहरुमा देशव्यापी विरोध प्रदर्शन गरेको छ ।  कांग्रेसले देशका ७५३ वटै स्थानीय तहका ६ हजार ७४३ वटा वडाहरुमा एकैसाथ विरोध प्रदर्शन गरेको हो ।

यता केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले गरेको संसद विघटन बिरुद्द झापा जिल्लाका १५ वटा स्थानीय तहका १३१ वटै वडामा विरोध प्रदर्शन सम्पन्न भएको छ । ‘संसद विगठनको देखि ओली नेतृत्वका सरकारका पालामा भएका गलत कदम सच्याउन खबरदारी गर्दै कालोझण्डा सहित झापाका सबै वडामा विरोध प्रदर्शन तथा विरोधसभा सम्पन्न भएको हो ।

विरोध सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति, जिल्लाका पदाधिकारी/सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय/प्रदेश क्षेत्रीय सभापति, गाउँ/नगर सभापति तथा जिल्लाले वडामा खटाएका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए । अधिकांश विरोधसभाका बक्ताहरुले प्रधानमन्त्री केपी.ओलीले संविधानमा नभएको प्राबधान प्रयोग गरि संसद जस्तो असंबैधानिक कदम  विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।

संविधानको धारा ७६ मा प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने, विश्वासको मत प्राप्त नगरेको अवस्थामा बहुमतको सरकार गठन प्रक्रिया अघि बढाउने, बहुमतीय प्रक्रियाबाट पनि सरकार गठन हुन नसकेको अवस्थामा मात्रै संसद विघटन हुने ब्यवस्था रहेको कानूनविदहरुले बताउदै आएका छ्न ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने प्रक्रिया नै नचाली संसद विगठन गरेपछि नेपाली कांग्रेस सहितका दलहरु अहिले सडक संघर्षमा उत्रिएका हुन । वर्तमान प्रधानमन्त्री ओलीले संविधानमा भएका अन्य कुनैपनि प्रक्रिया नअपनाइ आफ्नो विकल्पमा सत्ता सम्हाल्ने कोही नभएको भन्दै संसद विघठन गर्नु परेको कुतर्क गर्दै आएका छन् ।

जिल्लाको विर्तामोड ३ मा आयोजित विरोधसभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले संविधानमा प्रावधान नभएको धारा उल्लेख गरेर संसद विगठन गर्नु लोकतान्त्रिक संविधानमाथिकै प्रहार भएको बताउदै लोकतान्त्रिक संविधानको रक्षा कांग्रेसको पहिलो कर्तब्य भएको धारणा राखे ।

त्यस्तै बुद्धशान्ति ३ मा आयोजित विरोधसभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले कम्युनिष्ट नेतृत्वको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको, नीतिगत तथा आर्थिक भ्रष्टाचार गरेको र संविधानमाथि नै धावा बोलेको बताइन ।

अर्जुनधारा८ मा आयोजित सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेसले विरोध प्रदर्शन जारी राख्ने बताउदै प्रदर्शनमा सशक्त सहभागिता जनाउन आम अनुरोध गरेका छ्न ।

अर्जुनधारा११ मा आयोजित विरोधसभालाई नेपाली कांग्रेस झापा सभापति उद्वव थापाले सम्बोधनका क्रममा कम्युनिष्ट पार्टीभित्रको बेमेलका कारण संसद विघटन गरेर ओलीले अलोकतान्त्रिक चरित्र देखाएको बताउँदै संविधानको संरक्षणका लागि कांग्रेस जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताए ।
यसैगरी झापाको भद्रपुर ५ मा ओमप्रकाश सरावगी, कनकाई ३ मा देउकुमार थेवे, दमक६ मा विश्वदीप लिङ्देन, मेचीनगर ४ मा राम कट्टेल, ३ मा केशवराज पाण्डे, १४ मा लोकराज ढकालले सम्बोधन गरेका थिए ।

 यता गौरादह नगरपालिका वडा न १,२ र ३ ले संयुक्त रुपमा आयोजना गरेको बिरोध सभा लाई नगर सभापती यादब राज सेडाइ र नेबि संघका नेता बाबुराम नेपालले सम्बोधन गरेका थिए ।  सम्बोधनका क्रममा नगर सभापती सेडाइले प्रधानमन्त्री ओली सस्थागत भ्रस्टाचारमा डुबेको आरोप लगाएका छ्न , साथै प्रेस र न्यायालय माथी हस्तछेप गर्ने ओली सरकार चाडै पतन हुने जिकिर गरेका थिए ।

गौरादह नगरपालिका अन्तरगत  वडा नं ९ ले वैगुन्धुरामा आयोजना गरेको विरोध सभामा महाधिवेसन प्रतिनिधि सिताराम भट्टराई तथा विद्यार्थी नेता रबिन्द्र ढुंगानाले सम्बोधन गरेका थिए। त्यसै गरि जिल्लाकै कमल गाउँपालिका वडा न १ले आयोजना गरेको विशाल मोटरसाइकल र्याली पश्चात् सरङ्पाडामा आयोजित बिरोध सभालाई जिल्ला नेता हुकुम सिंह राइले सम्बोधन गरेका थिए , सम्बोधनका क्रममा उनले ओली सरकार "म नै राज्य हु" भन्ने गलत मानसिकतामा पुगेको बताए ।

गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध सभा गरिसकेको छ । यस्तै पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको कांग्रेसले माघ ३ गते ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो ।कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता जाहेर गर्न सबैमा अपिल गरेका थिए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरिएपछि कांग्रेसले यस विरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ । यसका विरुद्धमा नेकपाको ओली समूह बाहेक अन्य साना ठूला सबै दलहरु सडक संघर्षमा होमिएका छ्न ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ