महिला अधिकारवादीको निशानामा परे नेता भीम रावल, दिए स्पष्टीकरण
प्रकाशित २०७७ पुष १४ मंगलबार
595
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन उन्मुख भइरहेको बेला नेताहरु आरोपप्रत्यारोपका केन्द्रित छन् ।
तथ्य र तर्कसंगत अभिब्यक्तिको अभावमा नेताहरु बेलामौका विवादमा पनि तानिने गरेका छन् । नेकपा नेता भीम रावल आइतबारदेखि यस्तै एउटा लफडामा फसेका छन् ।
‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन’ भन्ने शीर्षकमा विभिन्न संचारमाध्यममा आएका समाचारका कारण उनी महिला अधिकारकर्मीहरुको निशानामा परेका छन् ।
सामाजिक संजालमा उक्त अभिब्यक्तिप्रति लाखौं प्रयोगकर्ताले नेता रावलको चर्को आलोचना गरेका छन् । यद्यपी, धनगढीको एक कार्यक्रममा उनले उक्त कुरा नबोलेको प्राप्त भिडियोबाट बुझन सकिन्छ । धनगढीमा भएको सभाको भिडियोमा उनले स्त्री अङ्गको कुरा गरेको सुनिँदैन। त्यसबाहेक अन्य कार्यक्रममा उनले महिलाका बारेमा नबोलेको प्रतिक्रिया दिए ।
अनलाइन संचारमाध्यमहरुले समाचारमा भिजिटर बढाउने नाममा बोल्दै नबोलेको कुरालाई गलत ढंगले प्रचार गरेको नेता रावलले हाम्राकुरालाई जानकारी दिए ।
मंगलबार विहान सामाजिक संजालमार्फत उक्त समाचारप्रति आपत्ती जनाउँदै लेखेका छन्– ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुदा दिमागले काम गरेनू भनी मैले भनेको भन्दै एउटा समाचार माध्यमले गरेको कुप्रचारको भर्त्सना गर्दछु। त्यो निकृष्ट कुरा समाचार लेख्नेको दिमागको उपज हो। मप्रति घृणा फैलाउन गरिएको उक्त कुप्रचारको घोर निन्दा गर्छु। म राजनीतिक भाषा र तथ्यमा विश्वास गर्छु ।’