सत्र सालमा कांग्रेस सरकारलाई राजा महेन्द्रले कू गरेजस्तै ओलीले आफ्नै पार्टीभित्र कू गरे –युवराज ज्ञवाली
प्रकाशित २०७७ पुष १२ आइतबार
683
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेकपा नै आधिकारिक पार्टी रहेको बताएका छन् । उनले ४४१ केन्द्रीय समितिमा ३१५ जना उपस्थित भएर २८५ जनाको हस्ताक्षर गरेर निर्वाचन आयोगमा पठाइएको भन्दै त्यसकै आधारमा प्रचण्ड–नेपाल पक्ष आधिकारिक भएको बताएका हुन् ।
उनले ‘गलत तरिकाले ओलीले ११ सय ९९ जनाको केन्द्रीय समिति विस्तार गरेको छ भन्ने हो भने हामीले त १२ हजार केन्द्रीय कमिटी विस्तार गर्न सकिन्छ । कानुनले एक सय जना केन्द्रीय सदस्य बसेर ओली पक्षले ११ सय केन्द्रीय सदस्य थप्न पाइँदैन ।’ भने । आउने चुनावमा सूर्य चुनाव लिएर प्रचण्ड–नेपाल पक्ष नै जाने उनले बताएका छन् । उनले संविधान, दल सम्बन्धी विधान र नेकपाको विधान प्रचण्ड–नेपाल पक्ष नै आधिकारिक हुने स्पष्ट पारे ।
ज्ञवालीले ओलीको शक्ति धुलोपिठो हुने पनि स्पष्ट पारे । उनले भने, ‘कस्ता कस्ता शक्तिलाई उडाइदिएर आएको हैन हामीहरु ? ओली पनि दुई चार दिन जागिर खान मात्र बस्ने हो ।’
नेता ज्ञवालीले भने, ‘उहाँले जसरी असंवैधानिक तरिकाले संसद विघटन गर्नुभयो यसलाई १७ सालको घटनासँग तुलना गर्न सकिन्छ । १७ सालमा नेपाली कांग्रेसको दूई तिहाईको सरकारलाई राजा महेन्द्रले कू गरे । त्यही कू केपी ओलीले आफ्नो पार्टीभित्र गरे ।’
नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा उनले संसद पुनस्र्थापना हुने विश्वास व्यक्त गर्दै नेकपाले पाँच वर्ष सत्ता संचालन गर्ने पाएको म्यान्डेट पूरा हुने दावी गरेका छन् । ओलीले सनकका भरमा यो गतिविधि चलाएको आरोप पनि नेता ज्ञवालीले लगाए ।